सुर्खेत: कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकारमा देखिएको समस्याले आफूलाई कुनै चुनौती नभएको टिप्पणी गरेका छन् । गठबन्धनभित्रकै प्रमुख दल नेकपा माओवादी केन्द्रले संसद वहिस्कारको विषयलाई लिएर उनले यस्तो बताएका हुन् ।
शुक्रबार वीरेन्द्रनगरमा आयोजित ४० औं बीपी स्मृति दिवसको अवसरमा बोल्दै उनले भने, ‘म भाग्यमानी मान्छे हुँ, गठबन्धनकै नेताहरुले संसद बहिस्कार गरेर हिँड्ने, अनि म हाँसेर बस्ने । संसारका यस्तो कहिँपनि छैन ।’ साथै उनले काँग्रेस कार्यकर्तालाई यो विषयलाई चुनौतीमा रुपमा नलिन सम्झाए । उनले भने, ‘तपाईंहरु चुनौती भन्नुहुन्छ ? मलाई त्यस्तो चुनौती केही पनि छैन ।
मैले यसलाई चुनौती नभइ अवसरको रुपमा लिएँ । दिन आए रात आउँछ रात आए दिन आउँछ ।’ उनले चुनावको समयमा माओवादीले पैसा बाँड्ने गरेको टिप्पणी गरे । तर काँग्रेसले पैसा दिएर भोट किन्न नचाहेको उनको भनाइ छ । के हो त सत्तारुढ दलहरुबीचको टकराव ? कर्णाली प्रदेशमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीचको टकराव कायमै छ ।
मंगलबार मुख्यमन्त्री जीवनबहादुर शाहीको कार्यशैली ठिक नभएको र एकलौटी तरिकाले अघि बढ्न खोजेको भन्दै माओवादी केन्द्रले संसद बहिस्कार गरेको थियो । बुधबार बसेको सर्वदलीय बैठक पनि बिना निष्कर्ष टुङ्गियो भने सत्ताधारी दुई दलका नेताहरुबीच आरोप–प्रत्यारोपको शृखला जारी छ । बुधबार सर्वदलीय बैठकमा सहभागी हुनुभन्दा अघि माओवादीले संसदीय दलको बैठक बोलाएर मुख्यमन्त्रीको कदम सत्तारुढ दल भन्दा पनि प्रतिपक्षसँग सौहार्द्रपूर्ण देखिएको र पूर्ववर्ती सरकारले ल्याएका कदमविरुद्ध अग्रसर भएको निष्कर्ष निकालेको थियो ।
माओवादीले सहिद स्मृति भत्ता, घाइते अपाङ्गताका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरेका योजना वर्तमान सरकारले कार्यान्वयन नगरी बजेट फ्रिज गराएको, सरकारकै कारण माओवादी केन्द्रको भागमा परेको अर्थ तथा प्राकृतिक स्रोत समिति नेतृत्वविहीन बनेको, शान्ति पुनर्स्थापना, सिंजा सभ्यता संरक्षण, पर्वतीय विश्वविद्यालय, आमसञ्चार विधेयक लगायतका महत्वपूर्ण विधेयक पारित गर्न नखोजेकोजस्ता आरोप मुख्यमन्त्री जीवनबहादुर शाहीमाथि लगाएको छ ।
यी विषय सम्बोधन नगरेको खण्डमा सदन र सरकारका कुनै पनि गतिविधिमा सहभागी नहुने निर्णय माओवादी केन्द्रले गरेको छ । सोही अनुसार बिहीबारको कार्यव्यवस्थाको बैठकमा माओवादी सहभागी नबनेपछि सभामुख राजबहादुर शाहीले साउन ९ गते सम्मका लागि बैठक सारेका छन् ।
सदन र सरकार दुबैसँग चिढिएको माओवादीले आफ्नो अडान र दबाब कायमै राखेको छ । जसले गर्दा सरकार परिवर्तनको हल्ला पनि बाहिर आइरहेका छन् । कतिपयले वर्तमान सरकार परिवर्तन गरेर चुनावी सरकार बन्न सक्ने आकलन पनि गरिरहेका छन् । सभामुख राजबहादुर शाहीले सत्ता पक्षले नै सरकारविरुद्धमा संसद बहिस्कार गर्नु संसदीय व्यवस्थाकै विकृत अवस्था भएको बताए । माओवादीको संसदीय दलको बैठकमा सभामुखको भूमिका निष्पक्ष नभएको कुरा उठेको थियो ।
माओवादी संसदीय दलका प्रमुख सचेतक कृष्णा शाहले माओवादी केन्द्रको भागमा परेको अर्थ तथा प्राकृतिक स्रोत समितिको नेतृत्वविहीन बनेको विषयलाई लिएर सभामुखको भूमिका माथि प्रश्न उठाएको छ ।
यद्यपि सभामुख शाहीले आफ्नो कुन भूमिका चित्त बुझेन, त्यो खुलाउन चुनौती दिए । माओवादीले सरकारका गतिविधिहरुमा सहभागी नहुने भने पनि माओवादीबाट मन्त्री बनेकाहरु भने सरकारका गतिविधिमा सामेल भइरहेका छन् । जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेश प्रसाद सिंहले वार्ता र छलफलका माध्यमबाट अघि बढ्नुपर्ने तर्क गरे । प्रदेश सरकारका कानुन मन्त्री एवं काँग्रेस नेता हिमबहादुर शाहीले माओवादीले चुनावी नारा बनाउनका लागि बाहना बनाइरहेको आरोप लगाए ।
खुलानजर । ६ श्रावण २०७९, शुक्रबार २०:१७