सुर्खेतः सामान्यतया विद्यार्थीले विद्यालय जाँदा के बोकेको देख्नुभएको छ ? कापी, किताब, ज्यामिती बक्स, टिफिन र अन्य शैक्षिक सामग्री। तर, सुर्खेतको एउटा विद्यालय जाँदा विद्यार्थीले घरमा उत्पादित कृषि सामग्री लिएर विद्यालय जान्छन्।
बराहताल गाउँपालिका–५ बड्डीचौर स्थित जनज्योति माध्यामिक विद्यालयका विद्यार्थी हरेक दिन विद्यालय जानुपूर्व कापी किताबसँगै घरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको खोजी गर्छन्। ती वस्तुहरू उनका घरपरिवारले होइन आफैँले उत्पादन गरेका हुन्। किताब बोक्ने झोलासँगै कृषिजन्य सामग्री विद्यालय लिएर जान्छन् उनीहरू।
विद्यालय आउने समयमा अण्डा, मह, तरकारी, कुखुरा ल्याएर विद्यालयको कृषि तथा पशु व्यवसाय प्रवर्द्धन सेवा केन्द्रमा जम्मा गर्छन्। कुन विद्यार्थीले के ल्याए भनेर सेवा केन्द्रमा बसेका शिक्षकले तथ्याङ्क संकलन गर्छन्। विद्यालयले बजारमा वस्तुहरू बिक्रि गरेर विद्यार्थीलाई पैसा दिन्छ।
विद्यार्थी खाली हात आउन नपाउने गरी विद्यालयले नियम बनाएको छ। विद्यालयले नै ८० जना व्यवसाय गर्न चाहने विद्यार्थीलाई व्यवसायअनुसार पाँच हजारदेखि ५० हजार रुपैयाँसम्म सहुलियत ऋण दिन्छ। त्यही ऋणबाट विद्यार्थीले तरकारी खेती, बटाई, हाँस, कुखुरापालन, बंगुरपालन र मौरीपालन गर्छन्।
विद्यालयले तीन कक्षामुनिका बालबालिकाका अभिभावकसँग कृषिमा कसरी बालबालिकालाई जोड्न सकिन्छ भनेर अन्तरक्रिया गर्छ भने चारदेखि १२ कक्षासम्म प्रत्येक कक्षामा ४० जनाका दरले विद्यार्थीलाई कृषि विषय पढाइन्छ।
जनज्योतिले ल्याएको ‘पढ्दै, कमाउँदै’ कार्यक्रमलाई नेपाल सरकारले समेत नीति तथा कार्यक्रममा समावेश गरेको छ। सरकारले गतवर्ष फागुनमा मात्र कार्यविधि बनाएर यसलाई कार्यान्वयनमा ल्याएको हो। तर, जनज्योतिले त्यसअघि नै यसलाई कार्यान्वनमा ल्याइसकेको थियो।
अहिले यो विद्यालयका २५० जना विद्यार्थी १८ महिनेदेखि तीन वर्षे कृषि तथा भेटेनरी जेटिए अध्ययन गर्दैछन्। यो वर्ष पनि १६० जना भर्ना हुँदैछन्।
‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई प्रदेश सरकारले समेत सहयोग गरेको छ। पहिलो चरणमा कर्णाली प्रदेश सरकारले विद्यालयलाई ५० लाख रूपैयाँ दिएको थियो। सोही रकमबाट विद्यालयले अध्ययनसँगै कृषि, पशुपालन र सीप विकासमा विद्यार्थीलाई केन्द्रीत गर्यो।
देशका विभिन्न ठाउँबाट कृषि अध्ययन गर्नेहरू जनज्योतिमा अवलोकनका लागि आउने गर्छन् भने पैसा नभएर पढ्न नसकेका विद्यार्थीहरूले पनि पढ्न पाइरहेका छन्।
एसईई पास गरेर रोजगारीका लागि भारतको हिमाञ्चल हानिएका कैलाली अत्तरियाका युवराज आचार्य अहिले सोही विद्यालयमा कमाउँदै पढ्दै छन्। तीन वर्षे भेटेनरी पढिरहेका उनी विद्यालयले दिएको ऋणले १२ वटा बंगुर र डेढ सयवटा बटाइपालन गरिरहेका छन्। उनीसहित ६ जनाले बंगुर र बटाइबाटै विद्यालयको शुल्क र ऋण तिर्छन्।
तीन वर्षे भेटनरी जेटिएमा अध्ययन गरिरहेका सुर्खेतका दिपक शाही पनि आचार्यझैँ विद्यालयको पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत बटाइको चल्ला ह्याचरी सञ्चालन गर्छन्। यहाँबाट उनले आफ्नो पढाई खर्चसँगै घरपरिवारलाई समेत खर्च पठाउने गरेका छन्। अहिले उनलाई विभिन्न ठाउँबाट ४२ सय चल्लाको माग आएको छ।
दिपक जनज्योतिमा पढेर उद्यम गरेकै कारण विद्यालयको सिफारिसमा उनका आमा बुवालाई कृषि गर्नका लागि बैंकले समेत सहुलियतमा १० लाख ऋण दियो। सैद्धान्तिकसँगै प्रयोगात्मक गर्दा बुझ्नमा सहजता हुनुको साथ पढाई समेत प्रभावकारी भएको आचार्य र शाहीको अनुभव छ।
अहिले विद्यालयले जंगलमा खेर जाने थाकलका पातबाट विद्यार्थीलाई टोपी, झोला र विभिन्न सामग्रीहरू बनाउने तालिम दिएको छ। विभिन्न व्यक्ति र संघ संस्थाहरूको सहयोगमा विद्यालयले विद्यार्थीलाई यो सीप सिकाएको हो।
अहिले विदेशबाट समेत नौं लाख यस्ता झोला र टोपीको माग आएको छ। त्यही परिपूर्ति गर्नका लागि विद्यालयले तालिमलाई निरन्तरता दिएको छ। त्योसँगै विद्यालयले चुरा, पोते, चप्पल लगायतका सीपमूलक तालिमहरू सञ्चालनमा ल्याएको प्रध्यानाध्यापक सिग्देल बताउँछन्।
‘सर्टिफिकेट भएर मात्र केही हुनेवाला छैन, सीपको विकास नै महत्त्वपूर्ण शिक्षा हो,’ उनले भने, ‘अहिले हाम्रा विद्यार्थीहरू पढ्दै कमाउँदै छन्, जसबाट समुदायको पनि विकास भएको छ।’
अहिले विद्यालयमा अध्ययनरत १२ सय ९७ जना विद्यार्थीहरू कुनै न कुनै माध्यमबाट कृषि तथा पशुपालनमा जोडिएका छन्। कुनाथरी गाउँका प्रत्येक कुना–कुनामा लोकल कुखुराका चल्ला वितरण गर्ने र मौरीपालनको तालिम चलाएर गाउँलाई नै मौरी हबको रूपमा विकास गर्ने प्रध्यानाध्यापक सिग्देलको योजना छ।
खुलानजर । ३१ भाद्र २०७९, शुक्रबार १६:१५