माओवादी र एमाले मध्ये कसले गर्ला कर्णाली सरकारको नेतृत्व ?


सुर्खेत: आइतबार केन्द्रमा भएको राजनीतिक उथलपुथलसँगै कर्णालीमा पनि यसको चर्चा हुन थालेको छ । नेकपा एमालेसहितको अन्य दलहरुको सहयोगमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाएपछि कर्णालीमा पनि एमाले–माओवादीसहितको सरकार बन्ने सम्भावना बढेको छ ।
अहिलेको सत्तागठबन्धनमा फेरबदल भएपछि कांग्रेस भने प्रतिपक्ष बस्ने पक्का देखिएको छ । ४० सदस्यीय प्रदेश सभामा १४ सिट ल्याएर पहिलो दल बनेको कांग्रेसलाई ‘आउट’ बनाउँदा एमाले र माओवादीले नै मिलिजुली सरकार चलाउने छन् । यद्यपी पहिलो चरणमा कसले सरकारको नेतृत्व गर्ने भन्ने विषयमा भने केन्द्रले टुङ्गो लगाउने छ ।
एमालेबाट यामलाल कँडेल र माओवादीबाट रुकुमपश्चिमका राजकुमार शर्मा, सुर्खेतका बिन्दमान विष्ट मुख्यमन्त्रीका लागि सम्भावित व्यक्ति हुन् । यी दुबै दलले अहिलेसम्म संसदीय दलको नेता भने चुनिसकेका छैनन् । दलको नेताका लागि माओवादीमा शर्मा र विष्ट दुबैको दावेदारी छ । यस्तै एमालेमा पनि कँडेलसँगै दैलेखका विनोद शाहले पनि दावी गरिरहेका छन् । दलको नेता चयनका लागि दुबै दल केन्द्रको आदेशको प्रखाइमा छन् ।
केन्द्रमा सरकारको नेतृत्व माओवादीले पाएसँगै कर्णालीमा एमालेले नेतृत्व पाउन सक्ने आकलन गरिएको छ । एमाले विभाजनको केन्द्रबिन्दु बनेको कर्णाली प्रदेश सभामा माओवादीको १३ र एमालेको १० गरी २३ सिट हुन्छ । एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रबाट एक–एक जना सांसद छन् । राप्रपा पनि सरकारमा गए एमाले र माओवादीसँग २४ सिट हुन्छ । कर्णालीमा सरकार बनाउन २१ जना सांसद आवश्यक पर्छ । कर्णालीम मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयसहित कर्णालीमा आठ वटा मन्त्रालय छन् ।
एमाले–माओवादीबीच समीकरण बनेपछि कांग्रेसका जीवनबहादुर शाहीको मुख्यमन्त्रीमा निरन्तर हुने सपना भने रोकिएको छ । शाही शनिबार निर्विरोध दलको नेतामा चयन भइसकेका छन् ।
तर, माओवादीले अन्य प्रदेश छाडेर कर्णालीमा माओवादीकै नेतृत्वमा सरकार बन्ने सम्भावना पनि उत्तिकै छ । कांग्रेस र समाजवादीसँग गठबन्धन हुँदा पनि माओवादीले कर्णाली सरकारको नेतृत्व आफुहरुले लिनुपर्ने सुझाव केन्द्रलाई पठाइसकेका थिए ।
अन्य प्रदेश भन्दा कर्णालीमा माओवादीको सिट संख्या धेरै भएर पनि यहाँ आफुहरुको दावी रहेको माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले बताइन् ।
कर्णाली प्रदेश सरकारको नेतृत्व एमाले र माओवादीले आलोपालो गर्ने अध्यक्ष केसीले बताइन् । तर केन्द्रमा भागबण्डा नभएकाले पहिला कस्ले नेतृत्व गर्ने भन्ने बारे पछि टुंगो लाग्ने उनको भनाइ छ ।
‘केन्द्रमा फेरिएको सत्तासमीकरण अनुसार कर्णालीमा पनि माओवादी र एमालेको सरकार बन्छ । राप्रपाको पनि साथ रहन्छ’, अध्यक्ष केसीले भनिन्, ‘यहाँ सरकारको नेतृत्व हामीले गर्नुपर्छ भनेर पहिलादेखि नै ‘लविङ’ गरिरहेका छौं ।’
यदी कांग्रेसले स्वतन्त्र सांसद, राप्रपा र एकीकृत समाजवादीलाई समावेश गरेपनि बहुमत पुग्दैन । यी सबैको संख्या जोड्दा १७ मात्रै हुन्छ ।