कर्णाली र सुदूरपश्चिम पुलले जोडिएपछि सहज

सुर्खेत : सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ११ कुइने र कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ बडीगाउँ जोड्न कर्णाली नदीमा पक्की पुल निर्माण भएसँगै कर्णाली प्रदेशबाट सुदूरपश्चिमको यात्रामा सहज भएको छ । पुल बनेपछि कर्णाली र सुदुरपश्चिम जोडिएका छन् । सुर्खेतको कुइने–चिसापानी बाटोमा कर्णालीवारि र पारि सडक सञ्चालनमा छ । सुर्खेतको पश्चिमी र कैलालीको महोन्याल क्षेत्रका स्थानीयका लागि लुम्बिनी र सुदुरपश्चिमको छोटो सडकखण्ड बनेको छ ।

तीन सय मिटर दूरीको पुल ३२ करोड रुपैयाँको लगानीमा निर्माण भएको छ । पुल बनेपछि स्थानीयको वर्षौंदेखिको पैदल यात्राको सिमा घटेको छ । यसअघि सुदूरपश्चिमसँग जोडिएको सुर्खेतका पञ्चपुरी नगरपालिका, बराहताल र चौकुने गाउँपालिकाका बासिन्दालाई कैलाली हुँदै भारतबाट आउने व्यापारिक सामग्री ढुवानी गर्न असहज थियो । ‘अब पुल बन्यो, भारतबाट दैनिक उपभोग्य सामग्री वीरेन्द्रनगरभन्दा सस्तो र छिटो यहाँ आउन थालेका छन्,’ पञ्चपुरी नगरपालिका नगरप्रमुख लालवीर भण्डारीले भने, ‘यसअघि सामानकै लागि झोलुंगे पुल, डुंगा र फेरि तर्दै कर्णाली चिसापानी हुँदै कटासे, गौरीफन्टा र कैलालीका विभिन्न बजारमा पुग्नुपर्ने बाध्यता थियो ।’

सुर्खेतको घाटगाउँ, तातापानी, गुठु बाबियाचौर गाउँसहित छिमेकी दैलेख, अछाम, कालीकोट, हुम्ला र जुम्लावासीलाई सुदूरपश्चिम जान सजिलो भएको नगर प्रमुख भण्डारीले बताए ।

‘पहिला डुंगाबाट नदी तर्नुपर्थ्यो, त्यसमा पनि पैदल यात्रा गर्नुपर्ने बाध्यता,’ उनले भने, ‘अहिले त वारिपारि सडक पनि भयो यात्रा छोटियो, सास्ती पनि हट्यो ।’ पुल बनेपछि सहज भएको पञ्चपुरी–६ का प्रेम सुनार बताउँछन् ।

‘पुल बनेपछि अहिले धेरै सहज भएको छ,’ उनले भने, ‘यो बाटो र पुलले अछाम, दैलेख, कालीकोट, हुम्ला र जुम्लालाई पनि तराईसँग जोडेका छन् ।’

विगतमा यी बाटा भएर हाटबजार जान पनि निकै कष्टकर यात्रा गर्नुपरेको सुनार सम्झिन्छन् । ‘पारि गएको डुंगा यता नल्याइँदासम्म डुंगा चढ्न पनि पालो कुर्नुपर्ने,’ उनले भने, ‘पुल बनेपछि स्थानीयले विकासको अनुभूति गर्न पाएका छन् ।’ अब चिसापानी र कुइने क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आवश्यक रहेको उनको भनाइ छ ।

दुई प्रदेश जोड्न मोटरेबल पुल निर्माण भएपछि १४ किलोमिटर दूरीमा महेन्द्र राजमार्गको चिसापानी पुग्न सकिने भएकाले व्यापारमा सजिलो भएको चौकुने गाउँपालिका वडा नम्बर १० का ब्यापारी भक्त जैसी बताउँछन् ।

‘यहाँबाट कर्णालीको राजधानी वीरेन्द्रनगर पुग्न मात्रै करिब ६५ किलोमिटर यात्रा गर्नुपर्छ । त्यहाँबाट नेपालगञ्ज र कैलाली आउन फेरि सयौं किलोमिटर जानुपर्छ,’उनले भने, ‘पुल बनेपछि महेन्द्र राजमार्गको दुरी १४ किलोमिटरमा छोटिएको छ । यसले हामीलाई सुदुरपश्चिम र लुम्बिनी जान सहज भएको छ ।’

 दुई दशक अघिसम्म यही बाटो भएर कर्णालीका हिमाली जिल्लाका बासिन्दा खाद्यान्न, लत्ताकपडा जोहो गर्न कर्णालीको चिसापानी जाने गरेका थिए