वीरेन्द्रनगर–६ तातापानीका २५ वर्षीय धिरज गिरीको सानै उमेरदेखि भारतीय सेनामा जागिर खाने योजना थियो । एक दिदी र एक दाई मध्येका कान्छो सन्तानका रुपमा रहेका उनलाई घरायसी समस्याका कारण लाहुरे बन्ने सपना त्याग्नपर्यो । उनले एसएलसी दिएपछि तीन महिने बेसिक कम्प्युटर पढे । त्यसपछि आफ्नै भेनाजुको इन्स्च्यिुटमा प्रशिक्षक भएर काम गरेका उनी अहिले डेल्टा कम्प्युटर इन्स्टिच्युटको मालिक भएका छन् । अहिले उनको इन्स्चिच्युटमा करिब ६०० जना विद्यार्थीहरुले अध्यन गरिरहेका छन् । उनै धिरजसँग सोबिन्द्र परियारले गरेको सफलता र संघर्षको कुराकानी :
तपाईको बाल्यकाल जीवन कसरी बित्यो?
मेरो जन्म दैलेख जिल्ला दुल्लु नगरपालिकाको वडा नम्बर ५ मा हो । म एक दिदी, एक दाईपछिको कान्छो सन्तान हूँ । घरको कान्छो सन्तान भएकोले पनि मायामा हुर्कें । सानो उमेरमा दुःख भन्ने खासै थाहा भएन । मैले कक्षा एकदेखि तीनसम्म धर्मभक्त सहिद निम्न माध्यमिक विद्यालयमा पढें । त्यसपछि २०६३ सालमा हामी दैलेखको दुल्लुबाट बसाई सरेर सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ कालागाउँमा आयौं । जुनबेला म सात वर्षको थिएँ ।
मैले सुर्खेतमा पनि पढाइलाई निरन्तरता दिएँ । कक्षा तीनदेखि ६ सम्म उषा बालबाटिका स्कूलमा पढें । वीरेन्द्रनगर–३ देखि फेरि हामी वीरेन्द्रनर नगरपालिका वडा नम्बर ६ तातापानीमा गयौं । पछि कक्षा सातदेखि १० सम्म हार्बेष्ट मुन सेकेण्डरी बोर्डिङ स्कूलमा पढें । एसएलसीको परीक्षा दिएपछि त्यो बेला रिजल्ट आउन तीन महिना लाग्थ्यो । मैले तीन महिनामा बेसिक कम्प्युटर डेल्टा कम्प्युटर इन्स्टिच्युटमा पढें । तीन महिनामा नै मैले बेसिक कुरा राम्ररी सिकें ।
तपाईको स्वभाव कस्तो थियो ?
मेरो बाल्यकालको स्वभाव डर मान्ने, एकदमै लजालु खालको थियो । आफ्नो गाउँ टोलमा पनि कोही मान्छेहरु अगाडि गएर बोल्न नसक्ने, भीडमा बोल्न नसक्ने, बाहिर जाने, घुम्ने इच्छा चाहना हुँदाहुँदै पनि लाजले घरमै बस्ने, बाहिर त्यति नहिड्ने गर्थें ।
आफ्नो चाहाना भएपनि त्यो कुरालाई बाहिर अभिव्यक्त गर्न सक्ने आँट आउँदैनथ्यो म मा । कहिलेकाहीं विद्यालयमा कार्यक्रम हुँदैगर्दा अगाडी बोल्ने वक्ताहरुले हेर्न अनि उनीहरूले बोलेको कुरा सुन्न मनपथ्र्यो ।
तपाईको बाल्यकालको लक्ष्य के थियो ?
मेरो वाल्यकालको लक्ष्य इन्डियन आर्मी बन्ने थियो । घरपरिवार र आफन्तको सहयोग नभएपछि मैले लाहुरे बन्ने सपनालाई त्याग्नुपर्ने बाध्यता भयो ।
मेरो घरको आर्थिक अवस्था एकदम न्यून थियो । बाबाआमाको आर्थिक आउने कुनै माध्यम पनि केही थिएन । घरमै कृषि गर्ने भारी बोक्ने भारत जाने, अर्काको काम गरेर नै घरव्यवहार बुवाले चलाउनुभएको थियो ।
एसएलसी पास भइसकेपछि ११–१२ पढ्न म उषा बालबाटिका सेकेण्डरी स्कूलमा भर्ना भएँ । ११–१२ पढ्न पनि मलाई समस्या थियो । घरको आर्थिक अवस्था न्यूनहुँदै गएको थियो । घरखर्च चलाउन गाह्रो भएको बेला मेरो पढाई खर्चमा पनि समस्या हुन्थ्यो । पछि जहाँ कम्प्युटर सकेको थिएँ त्यो पसल भेनाजुको थियो । त्यहि गएर काम गर्नपनि सुरु गरें । २०७१ सालमा मैले डेल्टा कम्प्युटर इन्स्टिच्युटमा कम्प्युटर प्रशिक्षकको रूपमा काम गरें । अहिले पनि आफ्नै इन्सिच्युट खोलेर निरन्तर यहीक्षेत्रमा संघर्ष गरिरहेको छु ।
यो पेसा नै रोज्नुको कारण के थियो ?
मैले जब लाहुरे बन्ने सपना गुमाएँ । त्यसपछि मलाई अरु काम गर्ने कुनै इच्छा लागेन । भिनाजुको इन्स्टिच्युट भएको कारण तीन–चार महिना समय बिताउनको लागि काम गरें । तीन– चार महिना प्रशिक्षकको रूपमा काम गरे पश्चात लाग्यो कम्प्युटर नयाँ पुस्ताको लागि एकदम राम्रो काम हो । अहिलेको युगमा कम्प्युटर आवश्यक छ । यदि मैले आफूले सिकेको ज्ञान अरुलाई पनि दिन सके मलाई आर्थिक हुन्छ अरुलाई सिप हुन्छ भन्ने लाग्यो । त्यसपछि एक वर्ष प्रशिक्षकको रूपमा काम गरें ।त्यसपछि मैले डेल्टा कम्प्युटर इन्स्टिच्युटको प्रबन्ध निर्देशक हुने मौका पाएँ । अनि नयाँ पुस्ताको लागि नयाँ कुराहरू सिक्नको लागि आवस्यक छ भनेर डेल्टा कम्प्युटर इन्स्टिच्युटले राइजीस्टेप एकेडेमी कपिलवस्तुसँग सम्झौता गरेर एक वर्षीय पिडिआइसिए कोर्ष प्रत्येक विद्यार्थीहरुलाई ५०प्रतिशत छुटमा पढाउने व्यवस्था गयौं । २०७२ सालमा नै १५० जना विद्यार्थीहरुलाई ५०प्रतिशत छुटमा अध्ययन गरायौं । दोस्रो वर्ष २०७३ सालमा पनि १५० जनालाई ५० प्रतिशत छुटमा अध्ययन गरायौं । यसैगरी प्रत्येक वर्ष १५० जनालाई आधा छुटमा अध्ययन गरायौं । दुई– चारवर्ष हामीले पिडिआइसिए कोर्ष नै अध्ययन गरायांैं । २०७८ सालमा हामीले पिडिआइसिएसँगै अर्को कोर्ष एडिआइसिए पनि थपेर विद्यार्थीलाई सुविधा दियौं । अहिले हामीले एकदिनमा ६०० जनालाई अध्ययन गराउँदै आएका छौं ।
यो पेसाबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म यो पेसाबाट निकै नै सन्तुष्ट छु । किन भने म एउटा गरिब परिवार र बिकट गाउँमा हुर्केको मान्छे । यही कम्प्युटर पढ्न पनि धेरै टाढा पुगेर पढ्नुपर्ने ठाउँको मान्छे । अहिले यो आफ्नै कम्प्युटर इन्स्टिच्युट भएको हुँदा मलाई गर्व लाग्छ । अरुकेमा काम गर्ने मान्छे आफै मालिक भएपछि खुसी पनि लाग्छ । तर कहिलेकाहीं दुःख पनि लाग्छ, दुःख किन लाग्छ भने भोक निन्द्रा भन्न पाको छैन, रमाइलो अनि साथीभाईलाई समय दिन पाएको छैन यही कुरामा दुख लागेपनि अन्य कुरामा मलाई धेरै खुसी नै लाग्छ ।
धेरै विद्यार्थीहरुलाई पढाउन पाएको छु । आफूले सिकेको, जानेको ज्ञानहरू अरूलाई दिन पाउँदा मलाई गर्व लागेर आउँछ ।
अबको योजना के छ ?
मेरो अबको योजना भनेको प्रत्येक गाउँ–गाउँ र टोलटोलमा कम्प्युटर
शिक्षा दिएर सबै सक्षम बन्नुपर्छ भन्ने हो । यो अभियानलाई प्रत्येक व्यक्ति–व्यक्ति र समाजमा पुर्याएर स्वरोजगार बनाउने मेरो लक्ष्य हो ।
खुलानजर । २० पुष २०७९, बुधबार १९:३४