विद्यार्थीसँग रमाउने ‘हेडसर’

वीरेन्द्रनगर–३ का गणेशकुमार न्यौपाने उमेरले ४२ वर्षका भए । सानै उमेरदेखि निकै संघर्षशिल र मिहिनेती उनी अहिले श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय वीरेन्द्रनगर–६ मा प्रध्यानाध्यापकको रुपमा काम गरिरहेका छन् । उनी पदले प्रध्यानाध्यापक भएपनि विद्यार्थीका हरेक क्रियाकलाप र समस्यामा चासो राखेर विद्यार्थीसँगै रमाउने गर्छन् । उनले अध्यापनकै सिलसिलामा कर्णालीका विभिन्न जिल्लाहरुमा लामो समय बिताएका छन् । उनको घरमा दुइ भाई, बुबाआमा, श्रीमती र दुइ छोरी छन् । उनै विद्यार्थीसँग रमाउने सफल प्रध्यानाध्यापक न्यौपानेसँग सोबिन्द्र परियारले गरेको सफलताको कुराकानी :

तपाईको बाल्यकाल र विद्यार्थी जीवन कसरी ?
मेरो जन्म सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ मा भएको हो । मेरो मेरो बाल्यकाल भन्नुपर्दा मैले सात बर्षको उमेरदेखि नै खाना पकाउन घाँस, दाउरा काट्न सबै सिकिसकेको थिएँ । आमा पाठेघरको बिरामी हुनुहुन्थ्यो । बुबाआमालाई उपचार गराउन हिँडिरहनु हुन्थ्यो । हजुरबुवालाई आगोमा बस्दा बिरामी भइहाल्नुहुन्थ्यो । घरमा म र भाई बाहेक दिदिबहिनी कोही पनि थिएनन् । त्यसै कारण मैले नै सबै घरव्यवहार सिक्नुपर्ने आवश्यक थियो । म दुईभाई मध्येको जेठा सन्तान हुँ । घरको जेठो छोरा भएको कारण बाबाआमा पछिको सबै जिम्मेवारी मेरै काँधमा थियो । त्यसैले पढाईमा पुरै निरन्तर दिन सकिन । मैले कक्षा एकदेखि दश सम्म भैरब माध्यामिक विद्यालय वीरेन्द्रनगर भैरवस्थानमा अध्ययन गरें । एसएलसी पास भैइसकेपछि मैले अंग्रजी विषय लगेर सुर्खेत शिक्षा क्याम्पसबाट आइएडदेखि एमएडसम्म त्यहि अध्ययन गरें ।

तपाईको बाल्यकालको लक्ष्य के थियो ?
मेरो बाल्यकालको लक्ष्य डाक्टर बन्ने र बिरामीको उपचार गर्ने थियो । घरपरिवारको आर्थिक अवस्थाको कारण सुर्खेतमा विज्ञान बिषय पढाई नहुने भएकोले र मैले बाहिर गएर पढ्न सक्ने मेरो आर्थिक अवस्था नभएकाले मैले त्यो सपनालाई पुरा गर्न सकिन । र मैले मेजर अंग्रेजी बिषय लिएर शिक्षक पेसातिर जोडिएँ ।

तपाई यो क्षेत्रमा कसरी जोडिनुभयो ?
म क्याम्पस पढ्दादेखि नै घरमै गएर होम ट्युसन पढाईदिने काम गर्थें । त्यसपछि घरपरिवारको आर्थिक अवस्था कम भएको कारण मैले जागिर नखाई नहुनेभयो । त्यो बेला मैले सुर्खेत भ्याली स्कुलमा दुई बर्ष पढाउने काम गरें । त्यसपछि नेपालभरीका बोर्डिङ स्कुल बन्द भएपछि मैले काम गर्ने स्कुल नि बन्द भयो । म शिक्षकको दरबन्दीमा कालिकोट पढाउन गएँ । मैले करिब १२ बर्षसम्म कालिकोटमै काम गरें ।

तपार्ईको परिवारको आर्थिक अवस्था कस्तो थियो ?
मेरो घरपरिवारको आर्थिक अवस्था एकदम न्यून थियो । बुवाआमाको कमाइहुने माध्यम पनि केही थिएन । कृषि गरेर घर खर्च चलाइरहन भएको थियो । हामी दुइ भाईलाई राम्रै पालनपोषण गर्नुभएको थियो । घरको आर्थिक अवस्था र घरको जिम्मेवारी मेरै काँधमा भएको हुँदा घरपरिवार चलाउनु थियो । आफ्नो पढाईलाई पनि पुरा गर्नु थियो । मैले कलेजसँगै कामलाई पनि निरन्तरता दिएँ ।

तपाईले यहाँसम्म पुग्न कस्तो संघर्ष गर्नुपर्याे ?
म एउटा न्यून परिवारमा जन्मेको मान्छे । उसैमा घरको जेठो छोरा बुबाआमा पछिको सबै जिम्मेवारी मेरै काँधमा थियो । म स्कुल पढ्ने बेलासम्म मैले कहिले पनि स्कुललाई निरन्तरता दिन सकिन । म स्कुल जानेबेला घरको सबै काम सकेर स्कुल जानुपथ्र्याे । घरपरिवारको अवस्था न्यून हुँदै गएपछि मैले जागिर नगरी नहुने अवस्था आयो । अनि मैले सुर्खेत भ्याली स्कुलमा काम गर्ने अवसर पाएँ । मैले सुर्खेत भ्याली स्कुलमा दुइबर्ष काम गरें । २५ सय रुपैयाँको तलबमा स्थानीय स्रोतमा काम गरी सकेपछि मैले त्यो काम छोड्नुपर्ने अवस्था आयो । त्यसपछि मैले त्यो काम छोडेर २०६० सालमा म कालिकोट जिल्लामा सरुवा भएँ । मैले कालिकोट पञ्चदेव माध्यामिक विद्यालय मान्ममा करिब १२ बर्ष काम गरे । त्यो १२ बर्षको अन्तरालमा मैले बिहान बेलुका ट्युसन र दिउँसो कक्षामा पढाउँदै मैले २०६० सालदेखि २०७१ सालसम्म मैले पञ्चदेव माध्यामिक विद्यालयमा पढाउने काम गरें । २०७१ सालमा सरेर म सरस्वती माध्यामिक विद्यालय बराहतालमा चार महिना काम गरें । २०७१ मै फेरी बसाई सरेर म जनज्ञ्यान माध्यामिक विद्यालय गुर्भाकोट मालारानीमा २०७२ सालदेखि २०७६ सालसम्म काम गरें । २०७६ सालमादेखि म सुर्खेत वीरेन्द्रनगर नगरपालिका नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा प्रधानाध्यापकको रुपमा नियुक्त भई हालसम्म काम गरिरहेको छु । अहिले नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा १६ सय ८२ जनाले अध्ययन गरिरहेका छन् ।

तपाई यो पेसाबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म यो पेसाबाट निकै नै सन्तुष्ट छु । किन भने म एउटा सामान्य परिवारमा जन्मेको मान्छे । दिन काट्न पनि धौ–धौ पर्ने मान्छे अहिले दिनमा करिब १६सय ८२ जनाको लिडर भएर काम गर्न पाउँदा मलाई गर्व लागेर आउँछ । कुनै बेला मैले स्कुलमा परीक्षा शुल्क तिर्न नसक्दा मेरो बुबाले हेडसरको घरमा गएर म आफै तिर्छु सर मेरो छोरालाई परीक्षा केन्द्रमा बस्न दिनुहोला भनेर भन्नु पर्ने अवस्था थियो । अहिले म त्यही हेडसरको दर्जामा काम गरिरहेको छु । अहिले आफ्नो बालबच्चाहरुलाई राम्रोसँग पालन पोषण गर्न सकेको छु ।

तपाईको अबको योजना के छ ?
म बिगत २० बर्षदेखि यो शिक्षक पेसामा काम गर्दै आइरहेको छु । विद्यार्थीसँग रमाउँदै आइरहेको छु । म यो बिगत ५ बर्षदेखि प्रधानाध्यापकको रुपमा काम गर्दै आएको छु । विद्यार्थीसँग रमाएको बानीले यो प्रधानाध्यापकमा मलाई अलि असहज भइरहेको छ । म यो प्रधानाध्यापकको काम धेरै समय गर्न सक्दिन । केहि बर्षमै यो प्रधानाध्यापकको काम अरुलाई जिम्मा दिएर म एउटा शिक्षकको रुपमा काम गर्न चाहान्छु । आफ्नै ट्युसन सेन्टर खोलेर विद्यार्थीसँग बिहान, बेलुका रमाउन चाहान्छु । सामाजिक सेवा गर्न चाहान्छु ।