मुस्लिम महिलाको पक्षमा आवाज उठाउने खैरुन र खतिजा !


सुर्खेत : वीरेन्द्रनगर–१० बेलघारीकी खैरुन निसा महिला स्वास्थ्य स्वयंसेविका हुन् । स्वास्थ्य स्वयंसेविकासँगै आफ्नो समुदायको विकृति, विसङ्गति विरुद्ध लड्दै सफ अभियन्ताको रुपमा परिचित छन् ।
खैरुनले बुर्का र तिन तलाखभित्र मुस्लिम समुदायका महिलाहरुको पिडा बारे आफुले सोच्न थालेदेखि नै त्यसका विरुद्धमा उनी मैदानमा उत्रिन।
मुस्लिम महिलाहरुको कालो घुम्टो भित्रको पिडा र श्रीमान्ले तिन पटक तलाख तलाख तलाख भनेपछि हुने सम्बन्ध विच्छेदका विरुद्धमा खैरुन निशा विगत तिन दशकदेखि निरन्तर आवाज उठाउँदै आएकी छन् ।

महिलाहरु घुम्टो ओढेर घर भित्रै बस्नु पर्ने, परिवार नियोजन गर्नु पाप ठान्ने, श्रीमान्लाई चित्त नबुझे तिन तलाख दिने जस्ता प्रचलनका विरुद्धमा उनी बोलेदेखीनै मुस्लिम समुदायका महिलाहरु स्वतन्त्र भएका हुन् ।
२०५२ सालदेखि स्वास्थ्य स्वयंसेवीका भएर समाज सेवा गर्दै आएकी खैरुन मुस्लिम समुदायका महिलाको सहारा बनेकी छन् ।
स्वास्थ्य स्वयमसेविका भएपछि उनले स्वास्थ्य क्षेत्रमा अनुभव बटुल्दै गइन् । त्यो सँगै सामाजिक क्षेत्रमा काम गर्न थालिन् । मुस्लिम समुदायमा रहेका कुसंस्कारको अन्त्यका लागि वीरेन्द्रनगर सुर्खेतबाट एकल नेतृत्वकर्ता भएर काम गरिन् ।

बुवा मदार बक्स र आमा जोहोरा विविको कोखबाट कान्छो सन्तानको रूपमा वि. स. २०२८ साल असोज २३ गते निशाको बाल्यकाल निकै दुखद् रूपमा बित्यो । सानै उमेरमा बुवाले अर्को बिहे गरेर अन्तै गएर बस्दा आमा, दाई र उनको जिवनमा धेृरै संघर्ष गर्नपर्यो ।
खैरुन १३ वर्षकी हुँदा उनकी आमाको मृगौला फेलका कारण मृत्यु भयो । उपचार गर्ने रकम अभावकै कारण आमा गुमाएकी उनी जिवन गुजारा गर्नका लागि गाईगोरु गोठाला गर्न थालिन् ।
धेरै पढेर जागिर खाने सपना बोकेकी निशाका लागि त्यो सपना सपनामै सीमित रह्यो । गाईगोठाला गर्दै कक्षा पाँच सम्म मात्र उनले पढ्न पाइन् ।
खैरुन् निशाले २०४१ सालमा मोहमत इसाकदीन सँग विवाह गरिन् । आमा गुमाएपछि एक्लो बनेकी उनको त्यो विवाह रहर नभई बाध्यता थियो । तर विवाहपछि नै उनको जिवनको रङ्ग फेरियो ।
‘यसै त नेपाली समाजमा महिलालाई धेरै गाह्रो छ, त्यसैमा मुस्लिम समुदायमा त महिलालाई खुट्टाको धूलो सरह पनि नठान्ने समाज हो,’उनी भन्छिन्, ‘मेरो जिवनमा त्यस्तो भोग्नु परेन । विवाहपछि मैले घरायसी कामकाजमा आफूलाई व्यस्त राख्थे । तर मुस्लिम सुमदायका महिलाको पीडा बारे आवाज उठाउने सोचका साथ त्यो अभियानमा लागें ।’
धेरै नै घरेलु हिंसा हुने गरेको र मुस्लिम समुदायमा पुरुषहरूले महिलालाई अमानवीय रुपमा कुट्ने पिट्ने गरेको दृश्यले उनको मन पोलिन्थ्यो ।
कानुनी कुराहरुको ज्ञान नभएपनि परिवार र श्रीमान्को साथ पाएपछि उनले मुस्लिम समुदायका नराम्रा कुप्रथाका विरुद्ध आवाज उठाउन थालिन् । निसाको समेत लगातार ५ छोरी जन्मिए, समाजले छोरा चाहिन्छ भने पनि श्रीमान्को साथले उनलाई त्यस्तो दबाव आएन । उनको त्यो आवाज नै अन्य महिलाहरुका लागि परिवर्तनको संवाहक बन्यो ।

उनले आफ्नो वर्ग समुदायको लागि आवाज उठाउँदा उनलाई आफ्नो समुदायको कुरा बाहिर ल्याएको भन्दै मस्जिदमा लगेर घुँडा टेकाएर माफी माग्न लगाइयो । यति गर्दा पनि उनले निडर भएर आफ्नो कामलाई छोडिनन् ।
खैरुन कुप्रथा विरुद्ध मात्रै होइन समुदायमा सचेतना, साक्षरता फैलाउने, अपाङ्ग, गरीब, विपन्न परिवारलाई सहयोग गर्ने समन्वय गर्ने, घरेलु हिंसा, बहुविवाह र बालविवाह गर्नेलाई कानुन अनुसार कारबाही गर्नमा समाजका महिलालाई सहयोग गर्दै आएकी छन् ।

समानता, समावेशी र मानवअधिकारका लागि आशनमा महिला शासनमा महिला, लैंगिक विभेद बुझिदेऊ हिंसा हैन खुशी देऊ , हरेक घर हरेक पालिकामा हुनुपर्छ साहसी बालिका भन्ने मूल नाराका साथ २०७८ माघ २७, २८ र २९ गते आयोजना गरिएको ऐतिहासिक चौथो राष्ट्रिय बेटी सम्मेलन (गण्डकी प्रदेश पोखरा ) चेलीबेटी सशक्तिकरण सम्मान २०७८ मूलधार महिला सेवा केन्द्रबाट उनी सम्मानित भएकी छन् ।
स्वास्थका क्षेत्रमा धेरै योगदान पुर्याएको भन्दै वीरेन्द्रनगर नगरपालिकाले पूर्ण खोप सुनिश्चितता नगर घोषणा सभा एवं स्थानिय स्वास्थ्य संस्था हस्तान्तरण कार्यक्रमको अवसरमा सम्मान गरेको छ । यस्तै मुस्लिम महिला अधिकारकर्मी भएको हुँदा निशा धेरै ठाउँबाट सम्मानित भएकी छन् । विभिन्न संघ संस्थाहरुले समेत उनलाई सम्मान गरिरहन्छन् ।

मुस्लिम समुदायका लागि कुनै नयाँ कार्यक्रम र योजना निर्माण गर्नुपरे खैरुनको नाम पहिले आउँछ ।
‘म यो सेवाबाट धेरै नै सन्तुष्ट छु । मेरो परिवारबाट ठुलो सहयोग पाएकी छु ।, उनी भन्छिन् ‘मेरो श्रीमानले धेरै नै सहगोग गर्नुभयो जसका कारण म आज एक अभियन्ताको रुपमा परिचित छु। ऋाज मलाई धेरैले चिन्नुहुन्छ ।’ समाजसेवा निरन्तर गरिरहने र मुस्लिम महिलाहरुको अधिकारका लागि निरन्तर लागिपर्ने निशाको योजना छ ।

मदरसामा मातृभाषा पढाउने खतिजा
वीरेन्द्रनगर–१० कै खतिजा बिबि मदरसा मदिना विद्यालयमा मातृभाषा पढाउने शिक्षक हुन् । उनले पनि मुस्लिम समुदायमा निकै संघर्ष गर्नपर्यो । उनी पढ्ने बेला मुस्लिम समुदायका छोरी, बुहारी घरबाट बाहिर निस्कन नपाउने, निस्किएपनि बुर्खाले नचिनिने गरी बेरिएर जानुपर्ने अवस्था थियो । त्यो बेला मुस्लिम समुदायका बालिकाहरु समेत विद्यालयमा जान पाउँथेनन् । तर, खतिजाले बुर्खा विरुद्ध संघर्ष गरेर आफ्नो पढाइलाई निरन्तरात दिइन् ।
उनका बुवाले पनि दुःख गरि कमाएर उनलाई विद्यालयमा पठाएपनि मुस्लिम समाजले भने उनीहरुलाई सकरात्मक रुपमा हेरेन । छोरीलाई पढाएर के मिल्छ भन्ने कुराहरुले खतिजाको मनमा निकै चोट पुग्थ्यो । अहिले उनी समुदायका किशोरीहरुलाई विद्यालयमा जान प्रोत्साहन गर्छिन् ।
एसएलसी पास गरेपछि पढ्दै पढाउँदै गरेकी उनी २०६६ सालदेखि मदरसा विद्यालयमा त्यही मुस्लिम समुदायको मातृभाषा पढाएर समुदायका बालबालिकालाई शिक्षाको ज्योति बालिरहेकी छन् । पहिला समाजमा छोरीलाई पढाउनुहुन्न भन्नेहरु नै अहिले उनलाई नमस्कार भनेर सम्मान गर्छन् । ३२ वर्षीय खतिजाको एक छोरा र एक छोरी छन् ।

‘यही समुदाय हो जसले पहिला छोरीलाई पढाउनुहुन्न, बाहिर निस्कुदिनुहुन्न, आज पढेर यही समुदायको विद्यालयमा मातृभाषालाई सिकाउँदै आउँदा मलाई खुसी लागेको छ,’उनी भन्छिन्, ‘साँच्चिकै हाम्रो समुदायमा महिलालाई अप्ठारो थियो । तर, बर्काको विरुद्धमा उभिएर मैले अध्ययन गरें । अहिले समाजमा अन्य महिला र किशोरीहरु स्वतन्त्ररुपमा बस्न पाएका छन् ।’

अझै पनि अन्य समुदायको भन्दा मुस्लिम समुदायमा छोरीहरु कमै मात्रामा विद्यालय आउने गरेको उनी बताउँछिन् । उनीहरुलाई विद्यालय तहमा ल्याएर ज्ञान सँगै सिप विकासमा ल्याउनेगरी अभियान सञ्चालन गर्ने उनको योजना छ ।
खैरुन र खतिजा अहिले मुस्लिम समुदायका महिलाहरुको हकअधिकारका लागि निरन्तर लागि रहेकी छन् ।