चौकुनेको एक वर्ष : वडामै पुगेर सेवा, बेनीघाटसम्म नयाँ सडक !

सुर्खेत: सुर्खेतका स्थानीय तहले नयाँ जनप्रतिनिधि पाएको आज (सोमबार) एक वर्ष पुगेको छ । २०७९ जेठ ८ गते नौ वटै पालिकाका प्रमुखहरुले पद तथा गोपनियताको शपथ लिएका थिए । पालिकाले एक वर्षसम्म के कति काम गरे र अगामी चार वर्षमा के काम गर्ने योजना छन् । यो एक वर्ष कसरी बित्यो? के–कस्ता काम भए भन्ने सेरोफेरोमा रही खुलानजरले चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विक (विवश) सँग कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरेको कुराकानी :

तपाईंको एक वर्ष कसरी बित्यो ?

यो एक वर्षमा विभिन्न कामहरु गरेर बित्यो । विकास निर्माण, नीति नियम बनाउनेदेखि प्रदेश र संघीय सरकारसँग समन्वय गरेर बित्यो । एक वर्षमा विभिन्न कामहरु गरिएका छन् ।

एक वर्षमा पालिकामा के कस्ता कामहरु गर्नुभयो ?

हामी निर्वाचित भएको केही महिनामा नै बाढीपहिरो आयो । जो २०७१ सालपछिको ठुलो धक्का थियो ।
पालिकाका विभिन्न वडाका ३६ जना नागरिक घरबाहिरविहिन भए । सबै संरचना ध्वस्त भए । उनीहरुको राहत, उद्दार र व्यवस्थापन पालिकाले गर्यो । दोस्रो चरणमा खानेपानी, सिंचाई र बाटाघाटा, पुलपुलेसा पुर्ननिर्माणको काममा जुट्यौं । त्यसपछि प्रदेश र संघको चुनावी माहोल आयो । निर्वाचन सकिए लगत्तै आन्तरिक, प्रशासनिक कामहरु गरियो । यो समयमा विभिन्न कार्यविधि, ऐन, नियमावलीहरुका डा«फ्टहरु तयार भए ।
त्यसलगतै सबै प्रत्येक वडामा गएर योजनाका कामहरु अगाडी बढाइयो । वडामा गएर नै सम्झौता गर्ने निर्णय पालिकाले गर्यो । जो चौकुनेका लागि नयाँ अभ्यास थियो । पहिला ५० हजार रुपैयाँको योजनाका लागि पनि एकदिन लगाएर पालिका पुग्नुपथ्र्याे । त्यसरी उपभोक्ताको खर्च समेत बढ्थ्यो । हामीले वडामै गएर योजना सम्झौता गरेपछि नागरिकलाई सहज भयो ।
त्यसपछि पुराना ३२ आयोजनाको काममा जुट्यौं । ती कामहरु पालिकाले नै दायित्व लिएको छ । चार ÷पाँच वर्षदेखि म्याद थपेकाहरुलाई यही असारमा सक्ने र नसक्नेलाई कारबाही गर्नेगरी कार्यपालिकाबाट निर्णय भयो । यतिसम्मकी असारभित्र काम सम्पन्न नगर्नेलाई कालोसुचिमा राख्ने निर्णय गर्यों । जसले गर्दा समयमै काम हुने अपेक्षा हाम्रो छ ।
यो निर्णयले गुटुको आयलसी सिचाईं कुलो लगायतका अन्य योजनाहरुको काम सम्पन्न भइसकेका छन् । केही सम्पन्न हुने प्रक्रियामा छन् ।
हामीले निर्वाचनमै बेनीघाटसम्म सडक पुर्याउने बाचा जनतासँग राखेका थियौं । सोही अनुरुप अछाम, डोडी र कैलली जोड्ने प्रदेशकै ऐतिहासिक धार्मिक स्थल बेनीघाटमा चार किलोमिटर नयाँ ट्रयाक खोलेर पहिलो पटक बाटो पुर्यायौं । जो काम पहिलेदेखि नै अधुरै थियो । हामीले जम्मा विकास बजेटको ७५ प्रतिशत खर्च पुराना आयोजनामा नै लगानी गर्ने गरेका छौं । अन्य २५ प्रतिशत मात्रै आवश्यकता र नयाँ आयोजनामा लगानी गरेका छौं ।

शिक्षा : शैक्षिक गुणस्तर बदल्न पहिलो चरणमा हामीले विद्यालयमा नियमअनुसार प्रध्यानाध्यापक छनोट गयौं । पहिला नियमानुसार थिएनन् । आफ्नो पार्टीका र नजिकका नातेदारलाई प्रध्यानाध्यापक बनाउने प्रचलन थियो । म आइसकेपछि खुला प्रतिस्पर्धाबाट आवश्यक योग्यता पुगेका, स्थायीहरुकैबिचमा परिक्षा लिएर खुला प्रतिस्पर्धाबाटै प्रध्यानाध्यापक छनोट गरियो । अहिले पालिकाका माध्यामिक र निम्नमाध्यामिक विद्यालयहरुमा त्यसरी नै प्रध्यानाध्यापक नियुक्त भएका छन् ।
प्राविमा पनि कतिपय ठाउँमा त त्यसरी नै प्रध्यानाध्यापक चयन गरिएको छ भने कतिपय ठाउँमा स्थायी शिक्षक नहुँदा चयन गर्न सकेका छैनौं । पालिकाभित्रका ४९ वटा सामुदायिक विद्यालयमा खेलकुद र बालमैत्रीका लागि अन्य सामग्रीहरु वितरण गर्ने तयारीमा छौं ।
चौकुनेमा विद्यालयको शैक्षिक गुणस्तर खस्किएको भन्ने नागरिककस्तरबाट गुनासो आएपछि यही वर्ष मात्रै कक्षा आठमा अन्तरविद्यालय परिक्षा प्रणाली अपनाइयो । त्यसबाट विद्यार्थी र शिक्षकको शिक्षाको मापन भयो । यसरी मापन गर्दा अवस्था दयनिय देखियो । धेरै विद्यार्थीहरु अनुत्तिण भए । विगतमा जुन विद्यालयमा पढ्यो त्यही विद्यालयमा परिक्षा केन्द हुँदो रहेछ । उही शिक्षकले कापी जाँच गर्ने, सिकाउने जस्ता क्रियाकलापले परीक्षा प्रणाली फितलो भएर पास हुँदा रहेछन् । यसको अन्त्य गर्न शैक्षिक सुधारका लागि संख्या, भुगोल र आवश्यकता हेरेर विद्यालय मर्ज गर्ने रणनीति अपनाएका छौं । विद्यालय व्यवस्थापन समिति पनि लोकतान्त्रिक प्रणालीबाट चयन हुने नीति ल्याएका छौं ।
भौत्तिक पुर्वाधारसहित सुविधा सम्पन्न आवासीय विद्यालय बनाई राजनीतिक मुक्त क्षेत्रका रुपमा गुणस्तरीय शिक्षालाई ध्यानमा राखि योजनाहरु अगाडी सराएका छौं ।
पालिकाको शिक्षा ऐनमा विद्यालयको गुणस्तर केन्द्रीत कुराहरु समेटेका छौं ।

कृषि : अहिले भइरहेको परम्परागत कृषि प्रणालीलाई व्यवसायीक बनाउने उद्देश्यले किसान पहिचान गर्ने, पहिचान भएकालाई प्रोत्साहन र विकास गर्ने काम अगाडी बढाएका छौं । झोलामा फर्म दर्ता गरेको आधारमा होइन, साँच्चीकै कृषि गरेकालाई प्रोत्सान गर्नुपर्छ भन्ने उद्देश्यले बाख्रा पालक किसान, भैंसी पालक किसान, बंगुर पालक किसान, गाई पालक किसानलाई प्रोत्साहन गर्न गोठालो भत्ताको व्यवस्था गरेका छौं । जसको कार्यविधि तयारी भएर पनि कार्यान्वयनको चरणमा छ ।
१० हजार बिरुवा केरा, पाँच हजार कागती, पाँच हजार सुन्तला, पाँच हजार कफी, दुई हजार अमिलो, दुई हजार चिउरीका बेर्ना सामुदायिक वनसँग सम्झौता गरी लगाउने काम भइरहेको छ । ड्राइगन फ्रुटलाई प्रोत्सान गर्ने, चौकुनेको रेक्चा र हाडाकानामा पाइने जुम्ली भेडाको प्रोत्साहन गर्न पालिकाले बजेट विनियोजन गरेको छ ।

सडक : ‘छातिको भरमा हात्ति हान्ने, आफ्नो काम आफै गर्ने’ नाराका साथ पालिकाले जनस्तरमा समेत विभिन्न कामहरु गरिरहेको छ । यस्तै ‘भुटेका मकै सुकेका रोटी, सुर्खेतदेखि पश्चिम डोटी’ भन्ने नारालाई साकार पार्न चार किलोमिटर बाटोको नयाँ ट्रयाक खोली बेनीसम्म बाटो पुर्याइएको छ । वर्षायाममा पालिकाभित्र बिग्रेका सडक मर्मत गरी यातायातका साधान आवतजावतमा सजिकरण पनि प्रत्येक वर्ष गरेका छौं ।
केन्द्र सरकारसँग समन्वय गरी यो क्षेत्रमा पर्ने मदन भण्डारी राजमार्गको टेण्डर प्रक्रिया अगाडी बढाइ अहिले धमाधम बिनाविवाद यो क्षेत्रमा काम भइरहेको छ ।
उद्योग : सुर्यतार सिमेण्ट कारखाना स्थापना र सञ्चालनका लागि सहजिकरण तथा व्यवस्थापनको काम पालिकाले गरेको छ । चौकुने सिमेन्ट खानीलाई तत्काल काम गर्न ताकेता र नगरे ठेक्का रद्द गर्ने कार्यपालिकाले निर्णयसहित पहल गरेको छ । पालिकाको पहलमा बेतन कर्णाली हाइड्रोपावरसम्म सडक पहुँच विस्तार भएको छ । चौकुने औद्योगिक ग्राम निर्माण पनि सम्पन्न भएको छ ।
खानेपानी : पुरानै ठेक्काहरुको काम भइरहेका छन् । असारसम्म केही आयोजनाहरु पुरा हुन्छन् । बाँकी रहने आयोजनाका ठेकेदारहरु कालो सुचिमा जानेछन् । यो बाहेक खानेपानीमा अरु उल्लेख्य काम भएक छैनन् ।
विद्युतिकरण ःबाबियाचौरबाट आउने ३३ केभीए प्रशारण लाइनमा हामीले सहजिकरण र समन्वय गरेका छौं । त्यो बाहेक स्थानीय पिको आयोजनाहरुलाई पनि व्यवस्थापन गर्ने योजना लिएका छौं ।

पर्यटन : पर्यटन प्रवद्र्धनका लागि चौकुनेमा सम्भाव्यता र अध्यन गरेका छौं । गुटुुको जम्ल्याहमुललाई संरक्षण र सम्वद्र्धन गर्न प्रदेश सरकारसँग पहल गरिएको छ । यस्तै भेरी कर्णाली शिवालयको लागि पहल गरिएको छ । बेनीघाटमा सडक पुगेपनि थप कामका लागि आवश्यक पहल भइरहेको छ ।
स्वास्थ्य : विपन्न नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रम अगाडी बढाएका छौं । केही समयमा यसले पुर्णता पाउँछ । आङ खस्ने महिलाहरुको लागि शिविर, पाठेघरको मुखको क्यान्सरको पहिचानको शिविर पनि सञ्चालन गरेका छौं । विपन्न अपांग बालबालिकालाई निशुल्क उपचारका लागि काठमाण्डौंको बनेपा बाल अस्पतालसँग सह–लगानी गरेर सम्झौता गरेका छौं ।
अन्य: सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वडामै पुगेर वितरण गरेका छौं । लक्षित समुदाय महिला, दलित, बालबालिकाको लागि सिप विकास र नेतृत्व विकास सम्बन्धी तालिमहरु समेत सञ्चालन गरेका छौं ।

पालिकामा काम गर्दा के कस्ता समस्या हुँदा रहेछन् ?

कानुन नबनाए केही गर्न नमिल्ने, बनाउन हिउँदे अधिवेशन कुर्नेपर्ने । त्यतिबेलासम्म समय बितिसक्ने हुदो रहेछ । धेरै कामहरु ढिलोगरी कार्यान्वयनमा छन् । यो समस्या ठुलो हो । कानुन, कार्यविधि र ऐनको समस्या छ । त्यस्तै विज्ञ कर्मचारीको समस्या, प्राकृतिक विपत्ति जस्ता चिजले पनि काम गर्न असहज हुँदो रहेछ ।
यो वर्ष प्रशासकीय प्रमुख नहुँदा अपेक्षा अनुसार काम गर्न सकिएन ।
पुरानो कार्यकालको २० करोड ९३ लाख २१ हजार बेरुजुको पनि मारमा छौं । त्यो सँगै ३२ वटा आयोजानको दायित्व छ ।

पालिकामा आर्थिक पार्दशिता कस्तो छ ?
आर्थिक पर्दाशिताको सुरुवात मैले आफैबाट सुरु गरेको छु । पालिकाको गाडी चढ्दिन । तीन वर्ष अगाडी म आफैले दुई लाख ७३ हजार मूल्यमा खरिद गरिएको होन्डाको आफ्नै पुरानो बाइक चढेर पालिकाका कामहरु गरिरहेको छु ।
२०७४ मा निर्वाचित नेतृत्वले करिब ७५ लाख रुपैयाँमा खरिद गरेको गाडी पालिकामा छ । तर, म सदरमुकाम वीरेन्द्रनगर र गाउँठाउमा हुने सार्वजनिक कार्यक्रममा समेत मोटरसाइकलमै चढ्छु ।


काठमाण्डौं जाँदा पनि हतारमा बाहेक अरुबेला सार्वजनिक यातायातमै जान्छु ।
मैले सेतो गाडी नचढ्ने भनेर प्रतिबद्धता गरेको छु र चढ्दिनँ पनि । त्यो गाडी चौकुनेवासीको सेवा र हितमा प्रयोग गर्ने उद्देश्य छ । जसबाट अनावश्यक खर्चको बचत हुन्छ ।
मेरो इच्छा पैसा कमाउने, आफ्नो सान देखाउने र पद प्रतिष्ठा भजाउनका लागि राजनीतिमा आएको होइन । त्यसैले पाँच वर्ष यसै मोटरसाइकल मार्फत सेवा गर्छु । अर्को कुरा नीतिविपरित कहिँ पनि कसैले एक रुपैयाँ खर्च गर्नेछैन । अनुगमन नगएका ठाउँको बिल मिलाएर भत्ता खाने, योजनामा कमिसन माग्ने र यातायातमा मनलाग्दी खर्च गर्ने जस्ता कुराहरुमा कडाइ गरेका छौं । आवश्यकताका आधारमा मात्र खर्चको व्यवस्थापन गछौं । हरेक खर्चको विवरण सबै नागरिकका लागि खुला गरिएको छ ।

चार वर्षसम्म चौकुनेलाई कस्तो बनाउनुहुन्छ ?

आगामी चार वर्षमा चौकुनेलाई पहिलो कुरा शिक्षामा आमुल परिवर्तन गर्नेछौं । अभिभावकले शिक्षकलाई, शिक्षकले अभिभावकलाई दोषारोपण गर्ने कुराको अन्त्य गरी गुणस्तरीय शिक्षामा अब्बल बनाइनेछ । हरेक टोलमा व्यवसायीक किसान उत्पादन गरिनेछ । उत्पादन भएका कृषि उपजलाई पालिकाले बजारिकण गर्नेछ ।
सबै टोलमा सडक पहुँच निर्माण गर्ने र पहँच पुगेका ठाउँमा स्तोरउन्नती गरिनेछ ।
साल्म हुँदै लगाम धनराससम्मको डाँडाँँका बस्तीहरुमा खानेपानीको व्यवस्था मिलाइने छ । स्रोतहरु भएका बस्तीहरुमा प्रदेश तथा संघ सरकारसंग समन्वय गरी छिटोभन्दा छिटो काम गरिनेछ ।
यो क्षेत्रमा पर्ने निर्माणधिन मदन भण्डारी रावजमार्गको बाँकी सडकलाई आगामी चार वर्षमा कालोपत्रेका लागि समन्वय सहकार्य गरिनेछ ।
गुटुमा रहेको जम्ल्याहामुललाई संरक्षण तथा ड्याम निर्माण गरी सिंगो गुटुलाई सिचाईं पहुँच पुर्याइने छ । विशालबजारदेखि पुर्व दक्षिण भागलाई बिन्द्रावन बिहार संरक्षित वन पर्यटकीय क्षेत्र निर्माण गरिनेछ ।
शिवालयलाई धार्मिक पर्यटन क्षेत्रको लागि आवश्यक भौतिक पुर्वाधार बनाइनेछ । बिजौरामा बहुउद्देश्यीय सहिद पार्क निर्माण गरिनेछ ।
कर्णाली नदीलाई पर्यटकीय गन्तव्य बनाई नेपालकै माछा संरक्षितका रुपमा विकास गरिनेछ ।
चार वर्षभित्र चौकुनेका ७५ प्रतिशतबढी नागरिकको घरमा विद्युत पहुँच पुर्याइनेछ ।
वनमा खेर जाँदै आएका रुख र हाँगाहरु सामुदायिक वन, डिभिजन वनसँग समन्वय गरी आगलागी हुनु अगाडी नै संकलन गरेर बेरोजगारलाई मौसमीरुपमा रोजगारी दिइनेछ ।
पालिकाभित्र चार वर्षमा शुसासनको प्रत्याभस्ति दिइ भ्रष्टाचारको अन्त्य गरिनेछ । सानातिना मझौला उद्योग र व्यवसायीलाई प्रोत्सान गरिनेछ । आयात घटाउने र निर्यात बढाउने कार्यलाई प्राथमिकता दिई काम अगाडी बढाइनेछ । हाम्रो कार्यकालमा नमुना चौकुने बनाउने गरी कामहरु अगाडी बढाएका छौं ।