खडेरीले बाली सुक्न थालेपछि चिन्तामा किसान !


सुर्खेत: पञ्चपुरी नगरपालिका-६ का बिरबहादुर विककाे बारीमा लगाएकाे मकै सुकेकाे छ । खडेरी लागेपछि सिचाइ नहुने र आकासे पानीकै भर पर्दा उनकाे बारीमा मकै सुकेको हाे । यति मात्रै हाेइन उनले असारमा राेपाइ गर्ने भनेर राखेकाे बियाड समेत सुकेको छ।
खडेरीले बाली सुक्न थालेपछि उनलाई चिन्ता थपिएको छ । वर्षभरी खाने खाद्यान्न आफ्नै बारीबाट उत्पादन गर्ने उनी याे वर्ष किनेर खानुपर्ने स्थितिमा पुगेकाे उनले बताए ।
`बारीमा लगाएका मकै सुक्न थाले । राेप्नमा लागि राखिएका बियाड समेत खडेरीले खाइदियाे,`बिरबहादुरले भने, `वर्षभरी खाने खेति नै पानीकै अभावमा बारीमै सुक्याे । याे वर्ष त बेसा (किन्नु) खाेज्नुपर्ला जस्ताे भयाे ।´
पछिल्लो समय खडेरीले गर्दा बिरबहादुर जस्तै धेरै कृषकरु मारमा परेका छन् ।
सिचाइ सुविधा नएका कर्णालीका सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, सल्यानका कृषकहरु आकाशे पानीकै भर पर्नुपर्ने बाध्यता छ ।
प्रदेशकाे कृषि मन्त्रालयको तथ्याङ्क अनुसार कर्णालीमा कुल दुइ लाख ९९ हजार ३३९ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्य छ । यद्यपि दुइ लाख १६ हजार ८८० हेक्टर क्षेत्रफल जमिनमा मात्रै खेती गर्ने गरिएको छ । त्यसमा पनि ४५ हजार ४६८ हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुन्छ । यस अनुसार डोल्पामा २७६, मुगुमा चार हजार ४२०, हुम्ला ६१०, जुम्लामा दुई हजार ९ सय, कालिकोटमा तीन हजार ८१, रुकुम पश्चिममा तीन हजार ४८, सल्यानमा सात हजार ७८, जाजरकोटमा तीन हजार ६३, दैलेखमा आठ हजार ३१३ र सुर्खेतमा १२ हजार ६७९ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ ।
कुल खेतीयोग्य जमिनमध्ये ३८ हजार ३३ हेक्टर क्षेत्रफलमा वर्षभरी सिचाई सुविधा पुग्ने गरेको छ भने ३० हजार ३०२ हेक्टर क्षेत्रफल आंशिक सिँचाई हुने क्षेत्रमा पर्छ । समग्रमा कुल खेतीयोग्य जमिनको ३१.५१ प्रतिशत भूभागमा मात्र सिचाई सुविधा छ । तर, यो पटकको खडेरीका कारण सिचाई सुविधा पुगेको भनिएका क्षेत्रहरु समेत प्रभावित भएका छन् ।
सुर्खेत, वीरेन्द्रनगरको खेतीयोग्य जमिन पुरै आकाशे पानीकै भरमा निर्भर छ । चर्को खडेरीका कारण सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट लगायतका पहाडी जिल्लाका किसान समस्यामा छन् । रुकुम पश्चिममा भने सबैतिर सिचाईको सहज सुविधा भएकाले समस्या छैन ।
रुकुममा धान खेतीका लागि भने बीउ राख्ने क्रम सुरु भएको छ भने जुम्ला र डोल्पामा पनि रोपाइँ सकिने अन्तिम चरणमा छ ।
हिमाली जिल्लामा पहाडी क्षेत्र भन्दा केही पहिला नै रोपाइँ सुरु हुन्छ । त्यहाँ चैत्र अन्तिम सातादेखि नै बीउ राख्ने काम सुरु हुन्छ ।
खडेरीका कारण कर्णालीका किसानले लगाएकाे बर्खे बालीमा प्रत्यक्ष प्रभाव परेकाे कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर राेकायले बताए ।
`यो कर्णाली प्रदेशभरको साझा समस्या भएको छ । खडेरीका कारण बर्खे बालीमा प्रत्यक्ष असर परेको छ,`उनले भने, `कहाँ के कति असर पर्याे भनेर हामीले तथ्यांक ल्याउँदै छाैं । त्यसपछि सरकारले केही प्याकेज ल्याउला ।´