दैनिक पाँच हजार बढी बटुवाको तिर्खा मेटाउँछन् नवराज !

सुर्खेत: वीरेन्द्रनगर–६ का युवा अभियन्ता नवराज बोहरा (भेडा) जेठको यो प्रचण्ड गर्मीमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म वीरेन्द्रनगर–६ स्थित मंगलगढी चोकको पिपल चौतारमा बाटो हिँड्ने बटुवालाई पानी दिनमै व्यस्त देखिन्छन् । विगतमा सडकमा बेवारिसे पशु चौपायालाई पानी र उपचारको प्रबन्ध मिलाउने नवराज केही दिनदेखि मानिसहरुको प्यास मेटाउने काममा लागेका छन् ।
उनी आफुलाई सडक अभियन्ता भन्न रुचाउँछन् । सडकमा बेवारिसे रहेका पशु चौपायाको उपचार र खाद्यान्न सँगै गर्मीमा तिर्खाएका बटुवालाई पानी दिने अभियानलाई समेत उनले निरन्तरता दिएका छन् । यति मात्रै होइन्, मंगलगढी स्थित उक्त पिपल चौतारालाई अभियन्ता बोहराले श्रमदानमै चौतारी निर्माण अभियान चलाएर दुई महिनाको समय लगाएर निर्माण समेत गरेका छन् । जसमा स्थानीय, उद्योगी, जनप्रतिनिधि, मन्त्री, कर्मचारीले समेत श्रमदान गरेका थिए । अहिले उनी त्यही चौतारीमा एक हजार लिटर पानीलाई जारहरुमा राखेर पाँच हजार बढी बटुवाहरुकोे तिर्खा मेटाएका छन् ।

यो चौतारी बसपार्कको आडैमा भएर पनि मानिसहरुको आवतजावत बढी नै हुन्छ । सडकमै निशुल्क खानेपानी सेवाको नाममा विभिन्न निकायका व्यक्तिहरुको सहयोगमा पानी संकलन गरिन्छ । जुन पानी बाटो हिँड्ने बटुवा, सडक सफाई कर्मचारी, सुरक्षा निकायका व्यक्ति, सवारी साधनमा यात्रा गर्ने यात्रुहरुले पानी पिउने गरेका छन् ।
आर्थिक अभावले कतिपय यात्रु बजारमा पानी पिउन नपाएको देखेपछि यो अभियान सुरु गरेको नवराज बताउँछन् ।
‘गर्मी एकदमै बढेको छ । यो प्रदेशको राजधानी भएकोले मान्छेको चाप पनि त्यति नै बढी हुन्छ । आर्थिक अभावमा कतिपय मानिसहरु पानी पिउन नपाएर भौंतारिएको देखेपछि यो अभियान चलाएको हुँ,’नवराज भन्छन्, ‘बाहिरबाट आएकालाई पानी खुवाएर सुर्खेतको संस्कारलाई जगेर्ना गर्नुपर्छ भनेर सडकमै पानी खुवाईरहेको छु । बजारमा पनि निशुल्क पानी पिउन पाइँदोरहेछ भनेर मानिसहरु दंग छन् ।’
यो गर्मीम सडकमा रहेका पशुचौपायालाई समेत उनले निरन्तर सेवा गरिरहेका छन् । यसरी पशुचौपायाको सेवामा रमाउने भएकोले उनी आफुलाई नामको पछाडी भेडा भनेर परिचय दिन्छन् ।


सडकबाट अभियान चलाएर समाजलाई परिवर्तन गर्छु भन्ने अठोटका साथ २०६४ सालदेखि नै सक्रिय बोहराकै पहलमा वीरेन्द्रनगरमा छाडा छोडिएका पशुचौपायाको उपचार गरियो भने नगरपालिकाले गौशाला नै स्थापना गरेको छ ।
बोहरा तीन भाइ, एक बहिनी मध्येका जेठो सन्तान हुन् । उनको पारिवारिक ब्याकराउण्ड भनेको व्यापारिक हो । उनकी १२ वर्षकी एक छोरी र श्रीमती छन् । श्रमतीले खुद्रा व्यापार गर्छिन् । नवराजका आमाबुवाले उनलाई पढेर डाक्टर, इन्जिनियर र बौद्धिक व्यक्ति बन्ने अपेक्षा गरेपनि उनी भने सडक अभियानमा रमाएका छन् ।
कुनै ठाउँमा बिरामी, अशक्त, दुर्घटनामा परेका पशु, चौपाया र पंक्षी भेटिए सबैभन्दा पहिला उनलाई नै सम्पर्क गरिन्छ ।
त्यहीं पुगेर उपचार र आवश्यक व्यवस्थापनमा उनले विभिन्न व्यक्ति र निकायसँग सहयोग र समन्वय गरेर काम गर्ने गरेका छन् ।
उनले यसअघि पानी खान नपाएर छट्पटाइरहेका र प्लाष्टिक खाएर बिरामी पशुचौपायाहरूको खाना र पानीको व्यवस्थापनका लागि हरेक सार्वजनिक स्थानमा प्लाष्टिकका ठूला भाँडामा ‘पानीदान, महादान’ अभियान समेत चलाएका थिए ।