सुर्खेतको पश्चिम लगामसम्म गाडी पुगेपछि स्थानीय हर्षित !

सुर्खेत: प्रदेश राजधानी वीरेन्द्रनगरदेखि करिब ९० किलोमिटर पश्चिम लगाममा तीन महिनापछि गाडी पुग्दा स्थानीय हर्षित भएका छन् । केही महिनादेखि चौकुने गाउँपालिकाको कुनै पनि वडामा यातायात व्यवसायीले यातायातका साधन लिएका थिएनन् । गत शनिबार पालिकाको दुईवटा टिपरमा अध्यक्ष खड्क विकले गुटुबाट ६० जना यात्रुलाई वीरेन्द्रनगर पुर्याएका थिए । आइतबार सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको अध्यक्षतामा भएको त्रिपक्षीय बैठकमा पश्चिम सुर्खेतमा यातायातका साधन लिने सहमति भएपछि व्यवसायीले सुर्खेत पश्चिमको अन्तिम गाउँ लगामसम्म गाडी लिएका हुन् । बुधबार न्यू सुर्खेत कांक्रेबिहार यातायातको कर्णाली प्रदेश ग १ ख ७१२५ नम्बरको बस लगाम पुगेको हो । विगत तीन महिनादेखि यातायातको साधनबाट बञ्चित भई सास्ती भोग्दै आएका लगामबासीमा खुसीयाली छाएको चौकुने—१ धनरासका जीवन तिरुवाले बताए । ‘पालिकाको केन्द्र गुटुमा त ४२ दिनसम्म गाडी आएन, लगाममा त तीन महिनापछि मात्रै गाडी आयो । बिरामी भएपनि डोकोमा बोकेर लिनुपर्ने बाध्यता थियो,’तिरुवाले भने, ‘बुधबारदेखि गाडी आएको छ । जसले लगामबासीलाई सहज भएको छ ।’


यसभन्दा अगाडी ९७५ रुपैयाँ भाडा तिरेर वीरेन्द्रनगर आउने गरेका यहाँका स्थानीय बिहिबारदेखि ८४५ रुपैयाँमा वीरेन्द्रनगर यात्रा गर्न पाउने संयुक्त यातायात लगाम काउन्टरका कर्मचारी राजेन्द्र बान्तोलाले बताए ।
उनका अनुसार यसअघि वीरेन्द्रनगर आउन यहाँका नागरिकहरु बेतान, बिजौरा, गुटु हुँदै पञ्चपुरी नगरपालिकाको विद्यापुरसम्म पैदल हिँडेरसम्म आउने गरेका थिए । चौकुने वडा नम्बर १, २ र ३ का नागरिकहरुले हरेक वर्ष यातायातको सास्ती भोग्दै आएका छन् ।
अहिले पश्चिममा नियमित यातायातका साधन आएको र वर्षाका कारण जहाँ बाटो बिग्रियो त्यहाँ पालिकाले बाटो बनाइरहेको अध्यक्ष खड्क विकले बताए ।
‘सोमबारदेखि यहाँ निरन्तर गाडी आइरहेका छन् । बुधबार त पालिकाको एकदमै पश्चिममा पर्ने लगामसम्म गाडी पुगेको छ,’अध्यक्ष विकले भने, ‘यातायातका साधन आएपछि यहाँका नागरिकलाई सहज भएको छ । बाटो तर्फ हाम्रो ध्यान सदैव रहने छ ।
यसअघि सडकको समस्या देखाएर पञ्चपुरी नगरापकिा–९ विद्यापुरबाट अगाडि गाडी पठाउन यातायात व्यवसायीले मानेका थिएनन् ।
आइतबार त्रिपक्षीय बैठकले वीरेन्द्रनगरदेखि पश्चिम लगामसम्म सोमबार अनुगमन गरी सम्बन्धित कार्यक्षेत्र रहेका कार्यालयलाई सात दिनभित्र मर्मत गर्न जिल्ला प्रशासनले निर्देशन दिएको थियो ।
कर्णाली राजमार्गको बाङ्गेसिमलदेखि बड्डीचौरसम्म र खम्बागाडे–बाबियाचौर–विद्यापुरसम्म सडक डिभिजन, सुर्खेतको कार्यक्षेत्रमा पर्ने भएकोले ७ दिन भित्र उक्त क्षेत्रमा सवारी चल्ने गरी सडक मर्मत तथा व्यवस्थापन गर्नुपर्ने, बड्डीचौरदेखि खम्बागाडेसम्म १३ किमि सडक पूर्वाधार निर्देशनालयको कार्यक्षेत्रभित्र पर्ने भएकाले ७ दिनभित्र उक्त सडक मर्मत तथा व्यवस्थापन गरी सवारी साधन चल्ने बनाउन पूर्वाधार विकास निर्देशनालयलाई निर्देशन दिने, विद्यापुर गुटु–मायाताल–बिजौरा बल्दे (२२ किमि) सड़क मदन भण्डारी राजमार्गको कार्यक्षेत्रभित्र पर्ने भएकोले ७ दिनभित्र मर्मत तथा व्यवस्थापन गरी सवारी साधन चल्ने बनाउन मदन भण्डारी राजमार्ग कार्यालयलाई निर्देशन दिने निर्णय प्रशासनले गरेको थियो ।
त्यस्तै पश्चिममा बाटोको सुधारको अवस्था हेरी अनुगमन गरी रोड पर्मिटको व्यवस्था मिलाउन यातायात व्यवस्था कार्यालयलाई निर्देशन दिने,
वीरेन्द्रनगर बजारदेखि गुटुसम्म सवारीसाधन नियमित रूपमा र तोकिएको सुपथ मूल्यमा यातायात सेवा सञ्चालन गरी आम नागरिकलाई सेवा सुविधा उपलब्ध गराउन जिल्लास्थित संयुक्त यातायात व्यवस्था समिति प्रालिलगायत सम्पूर्ण यातायात व्यवसायिलाई अनुरोध गर्ने, गुटुसम्म यस पूर्वअस्थायी रुट पर्मिट प्राप्त भइसकेकोमा गुटुदेखि लगाम बेतानसम्म र बाबियाचौरदेखि कुइने एवं गुटुदेखी कर्णाली चिसापानी पूर्वपश्चिम राजमार्ग सम्मको सडक जोड़ने गुटु–चिसापानी सडकमा सवारी साधन चल्ने इजाजतका लागि सम्बन्धित समितिमा पठाउने निर्णय प्रशासनले गरेको थियो ।