कर्णालीमा हवाई उडानमा लगाइएको प्रतिबन्ध फुकुवा

सुर्खेत: नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्णाली प्रदेशमा हवाई उडानमा लगाएको प्रतिबन्ध हटाएको छ ।
प्राधिकरण कर्णाली प्रदेशमा दिउँसो १२ बजेपछि हवाई उडानमा रोक लगाउने निर्णयबाट पछि हटेको हो । प्राधिकरणले साउन १२ गते हवाई सुरक्षालाई मध्यनजर गर्दै दिउँसो १२ पछि हिमाली तथा पहाडी क्षेत्रमा व्यावसायिक तथा चार्टर्ड उडानमा रोक लगाएको थियो । प्राधिकरण पछि हटेसँगै अब पहिलेकै नियम लागू हुनेछ । अतिरिक्त समयमा उडान सञ्चालन गर्नुपूर्व गन्तव्य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको भीएमसी (भिजिबिलिटी एन्ड डिस्टेन्स फ्रम क्लाउड मिनिमा) कायम भएको सुनिश्चिततापछि प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणापछि उडान अनुमति दिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले दिउँसोको समयमा हवाई उडानमा रोक लगाउने निर्णय गरेपछि कर्णालीमा चौतर्फी विरोध भएको थियो । प्राधिकरणको नयाँ नियमले दिउँसोको समयमा जहाज तथा हेलिकोप्टर उडानमा रोक लाग्दा हुम्लामा चार बालकले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमा हुम्लाको सिमिकोट गाउँपालिका–६ का ६ महिने बालक इमरान सुनार, सिमिकोट गाउँपालिका–७, का ७ महिने बालक रोहित शाही, खार्पुनाथ गाउँपालिका–१, का साढे १ वर्षका बालक आर्यन परियार र चंखेली गाउँपालिका–४, का ५ महिने बालक सन्देश लुवार रहेका छन् । चारै जना बालकको जहाज नआउँदा उपचार अभावमा मृत्यू भएको हो ।
त्यो सँगै बिरामी, सुत्केरी, खाद्यान्न र निर्माण सामग्री ढुवानीमा असर परेको थियो ।
बुधबार कर्णाली प्रदेशका सांसद तथा सरोकारवालाहरूले पर्यटनमन्त्री सुदन किराँती र महानिर्देशक प्रदीप अधिकारीसँग छलफल गरेपछि प्राधिकरण आफ्नो निर्णयबाट पछि हटेको हो ।
यसअघि उड्डयन प्राधिकरणले कर्णालीमा मनसुन अवधिका लागि प्रतिबन्ध लगाएको हवाई उडान पूर्वाग्रह राखेर नगरेको बताएको थियो । क्यानले दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकोप्टर वा जहाज पहाडमा ठोक्किएर धेरै दुर्घटना भएकाले हवाई सुरक्षा नीतिअनुसार मनसुन अवधिभरका लागि प्रतिबन्ध लगाएको बताएको थियो । १२ बजेपछि जहाज सञ्चालन गर्न नमिल्ने निर्णयले हुम्ला, डोल्पा र मुगुका नागरिकले सास्ती खेपेका थिए । हिमाली जिल्लामा बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि मात्र उडानका लागि अनुमति दिइएको थियो । जबकि बर्खाको समयमा हिमाली जिल्लामा बिहानदेखि मौसम खुल्न गाह्रो हुन्छ । जसका कारण जहाज आउन नसक्दा त्यसको असर दुर्गमका नागरिकमाथि परेको थियो ।
हुम्ला जिल्ला अहिलेसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको जिल्ला हो । एक त सडक सुविधा नै नभएका र भएका ठाउँमा पनि भरपर्दो सुविधा नभएका हिमाली जिल्लाका नागरिकका लागि हवाई नै यातायातको मुख्य स्रोत हो । त्यसमा पनि हिमाली जिल्लाका बिरामीहरुका लागि एम्बुलेन्स भनेकै हवाईजहाज छ ।
यही विषयलाई लिएर कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सदन समेत अवरुद्ध गरेको थियो ।
प्राधिकरणको ज्यानमारा निर्णयबारे सरकारले कुनै ध्यान नदिएको भन्दै एमालेले संसद अवरुद्ध गरेको थियो । संघीय सरकारलाई निर्णय फिर्ता लिने अनुरोध पछि मात्रै एमालेले कर्णाली प्रदेश सभा चल्न दिएको थियो ।
कर्णालीमा अहिले पाँच वटा विमानस्थल सञ्चालनमा छन् । सुर्खेत, जुम्ला, सिमिकोट, रारा र डोल्पा विमानस्थलबाट सुर्खेत, नेपालगञ्ज र काठमाण्डौं उडान हुँदै आएका छन् ।
कर्णालीमा हुने उडानमा हावाको गति बढ्नु, बादल बाक्लिनु, मौसम खराबी, बढी हल्लिनुका कारण उडान जोखिम मानिदै आएको छ ।