उपचार नपाएर थलिएकी निसा, नागकिरता नहुँदा सेवासुविधाबाट समेत बञ्चित !

सुर्खेत: भेरीगंगा नगरपालिका—१० मदानेचौरकी २४ वर्षीया निसा राय गिरी विगत एक वर्षदेखि मृगौलाको पत्थरीका कारण थला परेकी छन् । सानो तिनो नास्ता पसल खोलेर जिविका चलाएकी उनले आर्थिक अभावकै कारण आफ्नो रोगको उपचार गर्न सकेकी छैनन् ।
मृगौलामा भएको पत्थरीले इन्फेक्सन फैलिएपछि उनको एउटा मृगौलाले काम गर्न छोडेको छ । उपचारका लागि गाउँलेसँग सहयोग उठाएर भारतसम्म पुगेकी उनले आर्थिक नभएकै कारण पुरा उपचार गर्न सकिनन् । प्रदेश अस्पताल सुर्खेतमा उपचार गर्न आएकी उनलाई डाक्टरले काठमाण्डौं जान सुझाव दिएको पनि महिनौं भइसक्यो । तर, पैसाको जोहो नहुँदा उनी काठमाण्डौं जान सकेकी छैनन् ।
अहिले उनको स्याहारसुसारमा श्रीमान् गोविन्द गिरी छन् । घरपरिवार जाजरकोटमा बस्ने गरेपनि मदानेचौरमा उनीहरु दुई जना मात्रै बस्ने गरेका छन् । दुईवर्ष पहिले राय (चौधरी) थरकी छोरी ल्याएको भन्दै गोविन्को परिवारले पनि स्वीकार गरेका छैनन् ।
२०५३ सालतिर निसाका बुवा श्रीलाल राय र आमा सुमिना राय बिराटनगरबाट सुर्खेतको भेरीगंगा आएका थिए । बुवाआमाको हर्नियाँ र आमाको कालो जण्डिसका रोगका कारण उपचार नपाएरै चार वर्ष अगाडी बुवा ४९ वर्ष र आमा ४५ वर्षकै उमेरमा मृत्यू भयो । तीन बहिनी, एक भाइ मध्येकी माइली निसा हुन् । उनकी दिदीको पनि बिहे बिहे भइसक्यो । उनका भाई पनि कक्षा ८ पढ्दापढ्दै आर्थिक अभावकै कारण भारतमा मजदुरी गर्छन् । बहिनी पनि निसाकै सहारामा बस्छिन् । बहिनी अहिले कक्षा ८ पढ्दैछिन् ।
आर्थिक अभावकै कारण १० कक्षासम्म मात्रै पढ्न पाएकी निसाले नास्त पसलबाट आफ्नो जिविका चलाइरहेकी थिइन् । तर, बिरामले च्यापेपछि अहिले उनी मृयुँसँग जुधिरहेकी छन् ।
‘गाउँलेसँग सरसापटी र सहयोग मागेर भारतसम्म उपचार गर्न त गएँ । तर, त्यहाँ पनि दुई लाख बढी भारु पैसा लाग्ने भएपछि फर्किएर आएँ,’निसाले भनिन्, ‘मृगौलामा पत्थरीको समस्या त पहिलेदेखि नै थियो । तर, इन्फेक्सन भएर विगत एक वर्षदेखि म थलिएकी छु । डाक्टरले एउटा मृगौला ड्यामेज भयो भन्नभाछ । काठमाण्डौं जानुपर्छ भनेर डाक्टरले भनेका छन् । आफुसँग एक सुक्को पनि पैसा छैन । श्रीमानको पनि केही कमाइ छैन । परिवारले सहयोग गदैनन् । माइती छैनन् ।’


त्यति मात्रै होइन, निसाको माइतिपट्टीले अहिलेसम्म नागरिकता नै पाउन सकेका छैनन् । बुवाआमाको पनि नागरिकता नपाएर मृत्यू भइसक्यो । बुवाआमाको नागरिकता नहुँदा निसाको नागरिकता पनि बन्न सकेको छैन । जसले गर्दा वडा र नगरपालिकाबाट पाउने सेवामा समेत बञ्चित हुनुपरेको दुखेसो उनले पोखिन् ।
‘हामी नजम्दिै बुवाआमा यहाँ आउनुभएको रे । उहाँहरुसँग पनि नागरिकता थिएन । साँछी राखेर हामीहरुको जन्मदर्ता त बन्यो । तर, बुवाआमाको नागरिकता नहुँदा हाम्रो पनि बन्न सकेको छैन,’निसाले भनिन्, ‘बुवाआमा पनि नागरिकता नपाएरै बितिहाल्नुभयो । यहाँ हाम्रो आफ्नो मान्छे कोही छैन । पुरानो थातथलो कहाँ हो ? भन्ने नि थाहा छैन । बिराटनगर हामी गएका छैनौं ।’
बुवाआमाको नागरिकता नहुँदा उनको नागरिकता बनाउन र स्थानीय तहबाट पाउने सुविधा पनि दिन नसकेको भेरीगंगा वडा नम्बर १० का वडाअध्यक्ष बिरबहादुर बस्नेतले बताए ।
‘बुवाआमाको नागरिकता छैन । यता केटा पक्षका मानिसहरु पनि कोही आउँदैनन् । सानी नानी दुर्गा राय जो कक्षा ८ मा पढ्दैछन् । मेरै संरक्षणमा जन्मदर्ता बनाइदिएको छु,’वडा अध्यक्ष बस्नेतले भने, ‘नागरिकता नभए वडा र नगरबाट केही सहयोग गर्न पनि सकिएको छैन ।’
वडा अध्यक्ष बस्नेतका अनुसार निसाको ऐलानी जग्गामा घरबास मात्रै छ । उनीहरुलाई साँझ बिहानको खाना खान पनि समस्या हुने गरेको छ ।

निसाले आफ्नो उपचारका लागि सहयोगको याचना गरेकी छन् । उनले गरिबलाई उपचार गर्ने पैसा नहुँदा ज्यान फाल्नुपर्ने बाध्यता रहेको भन्दै उपचारमा सहयोग गरिदिन अनुरोध गरेकी छन् ।
‘सहयोगीदाताहरुले सहयोग गरेर उपचार पाए बाँच्थे की । नभए त यही रोगबाट थलिएर मर्छुहोला,’निसाले भनिन्, ‘नेताहरु चुनावका बेला भोट माग्दै दैलोमा आउँछन् । तर, अहिले मेरो उपचारका लागि सहयोग माग्दा रित्तो हात फकाउँछन् ।’
यता सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले तथ्य र प्रमाण भएको आधारमा नागरिकता दिन मिल्ने भएपनि पहिला उनको पारिवारिक पृष्ठभूमि बारे जानकारी लिनुपर्ने बताए ।
‘उहाँसँग तथ्य र प्रमाणहरु के छन् । त्यहि आधारमा निर्णय गरौंला । अहिले यसै भन्न सक्ने अवस्था छैन,’प्रमुख जिल्ला अधिकारी सापकोटाले भने, ‘पहिले त उहाँको पारिवारिक पृष्ठभूमिबारे जानकारी हुनपर्यो । त्यसका लागि उहाँ बिरामी भएपनि कोही आफन्त आएर प्रशासनमा बुझ्न सक्नुहुन्छ ।’