सुर्खेत: पछिल्लो समय लोपन्मुख जातिका रूपमा रहेको राउटे समुदायमा मृत्युदर बढ्दै गएको पाइएको छ । गत बिहीबार मात्रै राउटे समुदायमा एक बालिकाको मृत्युु भएको छ । मृत्यु हुनेमा हरिबहादुर शाहीकी १२ वर्षीया छोरी दुर्गा शाही छन् । मृतक बालिका एक महिनाअघिदेखि बिरामी परेकी थिइन् ।
गत २३ जेठ यता यस समुदायमा विभिन्न उमेर समूहका नौ जनाको मृत्यु भएको छ । जेठ २३ गते राउटे समुदायका ज्येष्ठ सदस्य ९१ वर्षीय कणर्बहादुर शाहीको मृत्यु भएको थियो । त्यसयता ६६ वर्षीय महामुखिया महिनबहादुर शाही, तुल्सी शाही, शान्ति शाही, सिमल शाही, भद्रबहादुर शाही, पाँचमहिने बालिका बालकुमारी शाही, एकमहिने बालक भैरव शाहीको मृत्यु भएको छ ।
बालिकाको मृत्यु भएपछि दैलेखको भैरवी गाउँपालिका– ४ मा बसोबास गर्दै आएका राउटेहरू शुक्रबार दैलेखकै चामुण्डाविन्द्रासैनी नगरपालिका– ४ को सइयातडामा बसाइँ सरेका छन् । मान्छेको मृत्यु भएपछि बसाइँ सर्ने परम्परा यो समुदायमा छ । दुई वर्षयता अस्वस्थ खानपिन र जीवनशैलीका कारण राउटेको जनसंख्या घट्दै गएको छ । अब राउटे समुदायको जनसंख्या १३७ छ ।
जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय कर्णाली र सुदुरपश्चिम प्रदेशका आसपासका जंगलमा फिरन्ते जीवन बिताउने लोपउन्मुख जातीमा पर्छन् । उक्त समुदायको आफ्नै मान्यताहरू छन् । समयको घडीसँगै उनीहरूका पनि आनीबानी परिर्वतन हुँदै गएको छ । तर पनि स्वास्थ्यका विषयमा आनीबानी परिर्वतन हुन सकेको छैन ।
पहिले जंगलमा गिठा भ्याकुर, गुना बाँदरको मासु खाने राउटे परिर्वतन हुँदै खसी बाख्रा, कुखुराको मासु खान्छन् । पहिले पहिले पैसा छोए पाप लाग्छ भन्ने यो जाती आफैँ पैसा माग्छन ।
राउटेले जे बोल्यो त्यही लिएरै छाड्छ भन्ने अन्य समुदायका मानिसहरूमा विश्वास थियो । उनीहरूका अधिकांश आनीबानी परिर्वतन भए पनि सरसफाईमा भने परिर्वतन हुन सकेको छैन । जसले गर्दा उनीहरू दिर्घ रोगका सिकार भइरहेका छन् ।
पुर्खौ पुर्खादेखि गर्दै आएको राउटेको सीपसँगै उनीहरूको पेशा पछिल्लो समय संकटमा पर्दै गएको छ । समाज आधुनिकतातर्फ लम्किएसँगै र प्लाष्टिकका भाँडाकुडाको प्रयोग बढ्न थालेपछि उनीहरूको पेशा पनि संकटमा पर्दै गएको छ । आफूले सामान बनाएर गाउँमा गएपनि पहिलेजस्तै सामान नराख्ने गरेको राउटेका मुखिया दिलबहादुर शाही बताउँछन् ।
‘पहिले गाउँमा पुग्ने बित्तिकै राखिहाल्थे अन्न पनि भनेजति दिन्थे’ उनले भने, ‘तर, प्रायले लिनै छोडे, बजारमा प्लाष्टिकको भाडा आएपछि ।’
समाजको मूलप्रवाहीकरणमा ल्याउने प्रयासहरू भइरहेपनि घुमन्ते राउटे समुदाय आधुनिक समाजबाट अझै टाढै छ । तर, गैरसमुदायको जस्तो विभेदको खाडल यहाँ छैन । राउटे मुलुकको कानुन जान्दैनन् । झैँ–झगडा र मुद्दा–मामिला गर्दैनन् । शान्त र अनुशासित देखिने उनीहरूका आफ्नै परम्परा र चालचलन छन । राउटे समुदायको उत्थानका लागि क्रियाशील अभियन्ताहरूका अनुसार, सानो ठूलो, धनी–गरिब र महिला–पुरुषबीच गरिने विभेद यो बस्तीमा भेटिँदैन । एउटा बाँदर गुना मारे पनि मिलेर बाँडेर खान्छन् । राउटे समुदाय आफ्नै भाषा, संस्कृति र जीवनशैलीमा रमाएका छन् ।
पहिला राउटे परिवारमा जन्मेको १२ वर्षसम्म न्वारन गर्ने चलन थिएन । १२ वर्षपछि मात्र नाम राख्ने चलन थियो । तर,् अब जन्मिने बित्तिकै नाम राख्छन् । पहिले पहिले राउटे समुदायका महिलाले बाहिरका अन्य समुदायका पुरुषसँग सिधा नजरले हेरेमा वा बोलेमा उसकै श्रीमती भइन्छ भन्ने विश्वास थियो । उनीहरूको आनीबानी परिर्वतन भएसँगै सबैसँग बोल्ने गर्छन् ।
परापूर्वकालमा राउटे समुदायमा पढाइ के हो ? पढ्ने के हो भन्ने सुइँको समेत थाह थिएन । उल्टै उनीहरू कलम छोए पाप लाग्छ । देउता रिसाउँछन् भन्ने अन्धविश्वासमा थिए । तर, केही समय यता राउटेहरू पढाईसम्बन्धी जानकार भएका छन् । पहिले कलम समात्न नसक्ने राउटे समुदायका बालबालिका नाम लेख्ने भएका छन् । चिसो मौसममा नदी किनारमा बसिरहेका राउटे बस्तीमा प्राय खाद्यन्न र लत्ता कपडाको अभाव भइरहन्छ ।
जगतदल । ८ माघ २०८०, सोमबार ०९:१७