बैंकको कर्मचारी ठानेर खाता नम्बर दिंदा ‘ह्याकर’ को फन्दामा परे हुसेन !


सुर्खेत : देशका विभिन्न ठाउँमा अनलाइन ठगीका घटना बढी रहेका बेला सुर्खेतमा पनि यस्तै गिरोह र ‘ह्याकर’ सक्रिय रहेको पाइएको छ।
यस्तै अनलाइन ठगी गर्ने ‘ह्याकर’ को निसानामा परे सुर्खेतका अहमद हुसेन।
हुसेनलाई यही चैत ५ गते अपरिचित नम्बरबाट फोन आयो। आफू वाणिज्य बैंकको ‘हेडक्वार्टर’ काठमाण्डौंबाट कर्मचारी बोलेको र खाता नवीकरण गर्नुपर्ने भन्दै खाता नम्बरसँगै यसपछि आउने कोड पनि मागियो।
हुसेनले मागे अनुसारको सबै विवरण दिए। ‘ह्याकर’ ले हुसेन वाणिज्य बैंक सुर्खेत शाखाका नियमित बचतकर्ता हुन भन्ने जानकारी अनुसार उनलाई निसाना बनाएका थिए।
‘चैत ५ गते नयाँ नम्बरबाट मलाई फोन आयो, आफू वाणिज्य बैंक हेडक्वार्टर काठमाण्डौंबाट बोलेको र खाता नवीकरण गर्नुपर्ने भनेपछि सबै विवरण मैले दिएँ,’ हुसेनले भने, ‘भोलिपल्ट दिउँसो डेढ लाख रूपैयाँको चेक साट्न पुग्दा त खातामा पैसा छैन भनेर कर्मचारीले फर्काइदिए। म दंग परें, त्यत्रो पैसा कहाँ गयो भन्दै मनमा चिन्ता खेल्न थाल्यो।’
हुसेनको खातमा ५ लाख ४७ हजार ९७ रूपैयाँ ९९ पैसा बचत थियो। ‘ह्याकर’ले त्यो सबै पैसा ट्रान्सफर गरेको हुनसक्ने आशंका लागेपछि हुसेनले बैंकसँग स्टेटमेन्ट मागे।
स्टेटमेन्टमा हुसेनको खाताबाट केही रकम एनआईसी एसिया बैंक र केही रकम एनएमबी बैंकको खातामा ट्रान्सफर भएको देखियो।
ट्रान्सफर भएका दुवै बैंकमा पुगेर आफ्नो खाताबाट आएको रकम रोकिदिन हुसेनले आग्रह गरे पनि अर्काको बैंक खाता रोक्का गर्न नमिल्ने र यदि प्रशासनको चिठी आए मात्रै सम्भव भएको सल्लाह बैंकले दिए।
जब प्रशासनको चिठी ल्याएर  हुसेन बैंक पुगे त्यतिबेला सम्म ‘ह्याकर’ ले उनको सबै पैसा तानिसकेको रहेछ। अहिले उनी आफ्नो पैसा फिर्ता लिनको लागि कानुनी प्रक्रियामा अगाडि बढेका छन्।
अनलाइनमार्फत रकम लुट्ने ‘ह्याकर’ले विशेष गरी बैंकका कम शिक्षित र प्रविधिबारे जानकारी नभएकाहरुलाई निसाना बनाएर लुट्ने गरेको राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखाका प्रबन्धक लीलाराम ढुंगानाले बताए ।
‘बैंकमा कम शिक्षित, प्रविधिबारे जानकारी नभएकालाई अहिले ‘ह्याकर’ ले निसाना बनाएका छन्,’ उनले भने, ‘मोबाइल बैंकिङ, बैंकिङ अलर्ट जस्ता सुविधा लिएका तर, त्यसको खासै जानकारी र प्रयोग नगर्ने खातावालहरूबाट यसरी पैसा लुट्ने गरेको घटना बढ्दै गएको छ।’
ढुंगानाका अनुसार सुर्खेतका बैँकहरूमा खाता खोलेका सुरक्षा निकायका तल्लो तहका कर्मचारी र केही व्यवसायी डेढ महिना यता ‘ह्याकर’ को फन्दामा परेका छन्।
यस्ता गिरोहहरू नेपाल-भारत सीमाक्षेत्रमा नेपालको टेलिफोनले काम गर्ने ठाउँमा बसेर काम गर्ने र पक्राउ पर्ने थाहा पाएपछि भारततिरै भाग्ने गरेको ढुंगानाको भनाइ छ।
विभिन्न प्रलोभनमा परेर बैंकबाट पैसा निकालिएको सम्बन्धी १५ वटा उजुरी आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डीएसपी) लक्ष्मण शाहीले जानकारी दिए।
यस्ता बैंकिङ कारोबार सम्बन्धी आएका उजुरीहरू साइबर ब्यूरोमा पठाउने गरिएको उनले बताए।

यस्तो छ ठग्ने तरिका
अनलाइनबाटै ठगी गर्ने गिरोहले खातावालाको मोबाइल नम्बर पत्ता लगाई फोन गरेर आफू बैंकको कर्मचारी भएको र खाता नवीकरण गर्नुपर्ने भन्दै खाता नम्बर माग्ने गर्छन्।
उनीहरुले खाता नम्बर पाएपछि मोबाइल बैंकिङ वा एसएमएस अलर्ट सिस्टमको पासवर्ड परिवर्तनको प्रयास गर्छन्। पासवर्ड गलत हुँदा सिस्टमले नै नयाँ पासवर्ड राख्ने निर्देशन दिएपछि खातावालाको मोबाइल नम्बर र इमेलमा भेरिफिकेसन वा ओटीपी कोड दुईवटा मध्ये एउटा आउँछ।
फेरि त्यो कोड खातावालासँग मागेर बैंक ट्रान्सफर गरी ‘ह्याकर’ ले आफ्नो खातामा पैसा पठाउने गरेको पाइएको छ।