स्वास्थ्यकर्मीलाई सामाजिक व्यवहार परिवर्तन तालिम

सुर्खेत : वीरेन्द्रनगरपालिकाका स्वास्थ्यकर्मीलाई सामाजिक व्यवहार परिवर्तन, सञ्चार र मानव केन्द्रीत डिजाइन पद्धती सम्बन्धी तालिम दिइएको छ ।
युनिसेफ नेपालको सहयोग र बास नेपालको आयोजनामा वीरेन्द्रनगर नगरपालिका अन्तर्गत रहेर विभिन्न कार्यालय र वडाका स्वास्थ्यकर्मीलाई तीन दिने तालिम सोमबारदेखि सुरु गरिएको हो ।
बास नेपाल कर्णाली प्रदेशका संयोजक धिरेन्द्र शाहीको अध्यक्षतामा भएको तालिमको उद्घाटन सत्रमा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले स्वास्थ्यकर्मीलाई तीन दिने तालिमले व्यक्तिगत व्यवहार, कार्यशैलीमा परिवर्तन आउने र त्यसले समुदायमा सकरात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । उपप्रमुख खनालले सामाजिक व्यवहार परिवर्तन हरेक व्यक्तिका लागि आवश्यक हुने भन्दै तालिम पश्चात कार्यशैलीमा परिवर्तन आउनेगरी तालिम लिन सहभागीहरुलाई सुझाव दिए ।
नगरपालिका अन्तर्गत स्वास्थ्यकर्मीहरुका लागि आयोजना गरिएको क्षमता अभिवृद्धि तालिमको आयोजना गर्ने संस्था युनिसेफ नेपाल र बास नेपाललाई धन्यवाद गर्दै उनले तालिमको सफलताको शुभकामना व्यक्त गरे ।
उद्घाटन सत्रमा बोल्दै युनिसेफ नेपालका प्रकाश आचार्यले स्वास्थ्य अन्तर्गत हुने कार्यमा सहकार्य गर्दै स्वास्थ्यको पहुँचमा रहेका व्यक्तिलाई स्वास्थ्य सेवा पहुँचमा ल्याउन सहयोग गर्ने बताए । उनले स्वास्थ्य सुचकहरु सुधार गर्न पहल तथा पैरवी गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताए ।

बास नेपालका कार्यक्रम प्रबन्धक हेमराज भट्टले स्वागत गरेको उद्घाटन सत्रमा धन्यवाद ज्ञापनसहित उद्घाटन सत्रको समापन बास नेपालका कर्णाली प्रदेश संयोजक धिरेन्द्र बहादुर शाहीले गरेका थिए । उद्घाटन सत्रको कार्यक्रम सञ्चालन बासका अधिकृत रबिन्द्र बोहराले गरेका थिए । उद्घाटन सत्रमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाल, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्रदेव गिरी, बासका उपसंयोजक जगतदल जनाला लगायतको उपस्थिती रहेको थियो । बुधबारसम्म चल्ने तालिमको पहिलो दिन सामाजिक ब्यवहार परिवर्तनका विभिन्न बिषयमा युनिसेफ नेपालका प्रकाश आचार्य र सिनियर जनस्वास्थ्य अधिकृत करुणा भट्राईले सहजिकरण गरेकी छन् । तालिममा वीरेन्द्रनगरका २० जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ ।
बासले युनिसेफ नेपालको सहयोगमा कर्णाली र सुदुरपश्चिम प्रदेशका १२ ओटा पालिकामा सामुदायिक संलग्नता र मानव केन्द्रीत दृष्टिकोण मार्फत सामाजिक व्यवहार परिवर्तन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।