डिपिआर अनुरुप नै मदन भण्डारी राजमार्ग लिनुपर्ने मागसहित ज्ञापनपत्र


सुर्खेत: मदन भण्डारी राजमार्गको २९.२ किलोमिटर पुरानो डिजाइन प्रोजेक्ट रिपोर्ट (डिपिआर) अनुसार नै मार्ग निर्माण गर्नुपर्ने माग गर्दै चौकुने गाउँपालिका–१, तालागाउँ, सुर्खेतका अगुवा स्थानीयबासी र जनप्रतिनिधिहरूको एक टोलीले आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सिंहदरबारमा ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनपत्र मार्फत उनीहरूले मदन भण्डारी राजमार्गलाई पूर्वको झापा शान्तिनगरदेखि सुदूरपश्चिमको डडेलधुराको रुकपालसम्म पुरानो डिपिआरअनुसार बड्डीचौर, गुटु, बेतान, लगाम, धनरास, धामिसेन, तालागाउँ र बेनिघाट हुँदै जोड्नुपर्ने स्पष्ट माग गरेका छन्।
टोलीका अगुवा डिलबहादुर बुढाले भने, `सरकारले वैकल्पिक मार्ग रोजेर हाम्रो बस्तीलाई छेउ लगाएको छ। हामी विकासविरोधी होइनौं, तर यो राजमार्ग हाम्रो मुटु हुँदै जानुपर्छ। हामी बाध्य भएर राजधानीसम्म आएका हौं।´
पूर्वमन्त्री नवराज रावतले भने, `यो केवल सडकको प्रश्न होइन, यो स्थानीय जनताको आत्मसम्मान र हकको सवाल हो। बेनीघाट पर्यटकीय क्षेत्र पनि हाे । सरकारले जनभावनाको कदर गर्नुपर्छ।´ राष्ट्रिय सभा सदस्य नर बहादुर बिष्टले सरकारको ध्यानाकर्षण गराउँदै चेतावनी दिए । `यदि स्थानीयको आवाज बेवास्ता गरियो भने देशव्यापी रूपमा मुद्दा उठाउनेछौं।´ उक्त टोलीमा पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत, राष्ट्रिय सभा सदस्य नर बहादुर बिष्ट, चौकुने गाउँपालिकाका अध्यक्ष खडक बि.क (विवश), डोटीको बोगटान फुसिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिला, अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउँद, डोटीको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव साउँद, लगायतका उच्चस्तरीय जनप्रतिनिधिहरू सहभागी थिए। त्यस्तै टोलीमा चाैकुने गाउँपालिकाका उपाध्यक्ष नर बहादुर बन्तोला, वडा नम्बर ४ का वडा अध्यक्ष टोप बहादुर बुढाक्षेत्री, नेकपा एमाले सुर्खतका उपाध्यक्ष मोहन सिंह बडुवाल, चौकुने गाउँसभा सदस्य अमृता बुढा, स्थानीयवासी दिलबहादुर बुढा, कर्ण बहादुर कठायत, हर्क बहादुर शाही, जिवन तिरुवा, गणेश बहादुर बुढा, दिपेन्द्र जैशी, गगन बहादुर बुढा, पूर्ण बहादुर साउँदकाे सहभागीता रहेकाे थियाे ।