अधिवक्ता कोइरालालाई नवज्योतिले गर्यो सम्मान

सुर्खेत: अधिवक्त गिता कोइरालालाई नेपाल नाजरेत सोसाइटीद्धारा सञ्चालित नवज्योति केन्द्र सुर्खेतले सम्मान गरेको छ । आइतबार महिला, बालबालिका तथा युवा सशक्तिकरण परियोजनाको वार्षिक समिक्षा, सामाजिक लेखा परिक्षण र ६ महिने सिप तथा सशक्तिकरण तालिमको समापन समारोहमा उनलाई सम्मान गरिएको हो ।
विगत ६ वर्षदेखि नवज्योतिको कानुनी सल्लाहकार पदमा रही महिला तथा बालबालिकाको अधिकारका क्षेत्रमा निश्वार्थ काम गरेको भन्दै संस्थाले सम्मान गरेको नवज्योतिकी कार्यक्रम सुपरभाईजर जरमाया बाठाले जानकारी दिइन् ।
नवज्योतिको यो सम्मानले आफुलाई महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्न थप हौसला भएको अधिवक्ता कोइरालाले बताइन् ।
‘लामो समयदेखि म महिला बालबालिकाको अधिकार रक्षाको लागि काम गरिरहेकी छु । घरपरिवार र श्रीमानबाटै हिंसामा परेका महिलाहरुलाई त मैले दैनिक सहयोग गर्दै आएकी छु,’उनले भनिन्, ‘यो सम्मानले मलाई काम गर्न थप उत्प्रेरणा जगाएको छ ।’
२०५७ सालदेखि सुर्खेतमा महिला तथा बालबालिकाको सामाजिक, आर्थिक र सिप विकासका क्षेत्रमा काम गरेको नवज्योति केन्द्रीकी निर्देशक सिस्टर रोसिटाले बताइन् । हिंसामा परेका महिला, बालबालिकाको अधिकार र जिवनयापनमा संस्थाले महत्वपुर्ण काम गर्दै आएको उनले बताइन् । नवज्योति केन्द्रले हिंसा प्रभावित महिलाहरुलाई तालिमसँगै सामग्री र आर्थिक सहयोग समेत गरेको छ । चार जना हिंसा पीडित महिलालाई २०-२० हजार रुपैयाँ पर्ने कपडा सिलाउने मेसिन, दुई जनालाई कुखुरापालन र तरकारी खेतिको लागि २५-२५ हजार रुपैयाँ नगद सहयोग गरेको छ । सहयोग हस्तान्तरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनारले पीडितको घाउमा नवज्योतिले मलहम लगाएकोप्रति खुसी व्यक्त गरे । हिंसा प्रभावित महिला र बालबालिकाको जिउँदो भगवानको रुपमा संस्थालाई चिनिने गरेको बताए । कर्णाली प्रदेश सरकारका निवर्तमान मुख्यन्यायधिवक्ता धुर्वकुमार श्रेष्ठले पाएको सहयोगलाई सही सदुपयोग गर्न सुझाव दिए । वीरेन्द्रनगर–९ का वडाअध्यक्ष ऋषि गिरीले हिंसा प्रभावितहरुका लागि वडाले पनि विभिन्न कार्यक्रम समन्वय गरिने बताए ।


इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले पीडितको न्यायनिरुपणका क्षेत्रमा नवज्यातिले महत्वपुर्ण काम गरेको बताए । मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पिताम्बर ढकालले हिंसापीडितको अधिकारका लागि सबैले सहकार्य गर्नुपर्ने बताए ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका शिक्षा शाखा प्रमुख बलविर सुनार, वीरेन्द्रनगरकी महिला तथा बालबालिका शाखा प्रमुख सरला रेग्मी, गैरसरकारी महासंघ कर्णाली प्रदेशका अध्यक्ष घनश्याम केसी लगातयतले मन्तब्य राखेका थिए ।