सुर्खेत: नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आफ्नो १५ औँ कर्णाली प्रदेश अधिवेशन मङ्सिर १३ र १४ गते गर्दैछ । त्यसका लागि सम्पूर्ण तयारी भइसकेको प्रदेश संयोजक रंगमती शाहीले बताइन् ।
बिहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै शाहीले अधिवेशनको सम्पूर्ण तयारी भइसकेको र दुई हजारदेखि २ हजार ५०० जना नेता, कार्यकर्ता सहभागी हुने दाबी गरिन् । उनका अनुसार, १ हजार २०० जना प्रतिनिधि नै रहेका छन् ।दुई दिन सञ्चालन हुने अधिवेशनको उद्घाटन सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने छन् । अधिवेशनमा शशांक कोइराला, प्रकाशमान सिंह लगायतका नेताहरू पनि सहभागी हुने शाहीले जानकारी दिइन् ।
वीरेन्द्रनगरको सिटी हलमा हुने अधिवेशनमा सहभागी हुन देउवा १२ गते नै सुर्खेत आउने पनि उनले बताइन् । देउवा कांग्रेसको कर्णालीमा ८ वटा जिल्ला अधिवेशन सकिए । सुर्खेत र डोल्पामा बाँकी छ । संयोजक शाहीका अनुसार, सुर्खेत र कर्णालीको अधिवेशन सँगसँगै गर्ने भनेर राखिएको हो ।

खुलानजर । ११ मंसिर २०८३, बिहीबार ११:०१