हत्याको अभियोगपत्र दर्ता, परिवार अझै असन्तुष्ट!


सुर्खेतः बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिसा विकको घटनामा सरकारी वकिलको कार्यालयले अदालतमा अभियोगपत्र दर्ता गराएको छ । आइतबार सरकारी वकिलको कार्यालयले जिल्ला अदालत सुर्खेतमा अभियोग पत्र दर्ता गराएको हो ।
‎‎गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी १६ वर्षकी इनिसा हाल वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारका साथ बस्दै आएकी थिइन् ।
फागुन २३ गते शनिवार बिहान ६ बजे नै प्रयोगात्मक कक्षामा जाने भन्दै घरबाट निस्किएकी उनी बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् । ‎‎प्रहरीले उनलाई प्रदेश अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन प्रहरीले घटनास्थलबाट नै एक १६ वर्षे बालकलाई घटनास्थलबाटैनियन्त्रणमा लिएको थियो, जसले इनिसाको प्रेमी भएको बयान दिएका छन् ।
यसअघि चैत ११ गते सुर्खेत प्रहरीले सो घटनाको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो । प्रहरीले भने सामूहिक नभएर एकल करणी भएको निष्कर्ष निकालेको थियो । यद्यपि, सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालतमा दायर गरिएको अभियोग पत्रमा भने सामूहिक बलात्कार भएको दाबी गरिएको छ ।

२३ दिनसम्म उठेन शव, न्याय माग्दै धर्ना
इनिशा विकको शव २३ दिनसम्म पनि उठ्न सकेको छैन । मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै आफन्त र अधिकारकर्मीहरुले आइतबार जिल्ला अदालत अगाडि धर्ना दिएका छन्। धर्नामा सहभागीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। उनीहरूले अनुसन्धानप्रति अविश्वास जनाउँदै निष्पक्ष र पारदर्शी प्रक्रिया अघि बढाउन दबाब दिएका छन्।
इनिशाको मृत्यु हुनुमा परिवारले सुरुदेखिनै शंका व्यक्त गर्दै आएको छ। पोस्टमार्टम रिपोर्टप्रति समेत असन्तुष्टि जनाउँदै घरपरिवारले पुनः अनुसन्धानको माग गरिरहेका छन्। इनिशाको शव अझै प्रदेश अस्पतालको शवगृहमा राखिएको छ।
पीडित परिवारले पोस्टमार्टम रिपोर्टप्रति नै असन्तुष्टि जनाएको छ । ‘मलाई सुरुबाटै शंका लागेको छ, छोरीलाई त्यस्तो अवस्थामा फेला पारेकी मलाई पोस्टमार्टम रिपोर्टप्रति शंका छ,’ इनिशाकी आमा तिलाले भनिन्, ‘यो रिपोर्ट मात्र होइन, अरू रिपोर्ट पनि यस्तै आयो भने हामी आन्दोलनमा उत्रिन्छौं ।’
छोरीको मृत्युको खबरपछि नेपाल आएका बुबा ईन्द्रबहादुरले कम्पनीबाट पाएको बिदा सकिन थालेको बताए । ‘छोरीको मृत्यु भएको आज २३ दिन भइसक्यो,’ उनले भने, ‘छोरीले न्याय पाउनेमा शंका हुन थालेको छ ।’
प्रहरीले अहिलेसम्म घटनाका बारेमा खुलेर जानकारी नगराएको परिवारको भनाइ छ । ‘घटना झनै रहस्यमय बन्दै जाने हो कि जस्तो लागेको छ,’ ईन्द्रबहादुरले भने, ‘रिपोर्ट पनि सामान्य देखाएका छन्, के–के विषयमा अनुसन्धान गरिएको हो, अत्तोपत्तो छैन । छोरीले न्याय पाउँदिन कि भन्ने लाग्न थालेको छ ।’ घटनाबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)सहित नेपाल प्रहरीका चार टोलीले अनुसन्धान गरिसकेको छ ।