उच्च अदालत सुर्खेतद्वारा एमयूको स्ववियु निर्वाचन स्थगित गर्न आदेश


सुर्खेत: उच्च अदालत सुर्खेतले मध्यपश्चिम विश्वविद्यालयमा चैत ३ मा हुन लागेको  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित गर्न आदेश दिएको छ ।
विश्वविद्यालयअन्तर्गतको स्कुल अफ मेनेजमेन्ट (मुसोम) मा अध्ययनरत विद्यार्थीहरूले मतदान गर्नबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा मंगलबार रिट दायर गरेका थिए ।
बुधबार रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश पुनम सिंह चन्दको एकल आदेश अनुसार हालसम्म भएका सबै गतिविधी स्थगित गरी अर्को आदेश नआउन्जेलसम्मका लागि निर्वाचन स्थगित गर्न आदेश दिएको छ ।

उच्च अदालतले चैत ८ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । स्कुल अफ म्यानेजमेन्ट (मुसोम) मा अध्ययनरत तीन जना विद्यार्थीले मध्यपश्चिम विश्वविद्यालयका पाँचवटा कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।