
सुर्खेत: चौकुने गाउँपालिका मा बिमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँ कार्यपालिका कार्यालय गुटुमा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर विकको अध्यक्षता रहेको थियो।
गाउँपालिकाको आयोजना तथा नेपाल बिमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय र स्वास्थ्य बिमा बोर्ड सुर्खेतको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, बिमा अभिकर्ता र स्थानीय कार्यालय प्रमुखहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा जीवन, निर्जीवन तथा स्वास्थ्य बिमाबारे विस्तृत जानकारी दिइएको थियो। नील प्रसाद लामिछाने ले बिमाको आवश्यकता, महत्व, जोखिम व्यवस्थापनदेखि लगानी प्रतिफलसम्मका विषयमा स्पष्ट पार्दै बिमा गर्दा अपनाउनुपर्ने प्रक्रिया र सावधानीबारे जानकारी दिनुभयो।
त्यसैगरी स्वास्थ्य बिमा बोर्डका प्रतिनिधिले स्वास्थ्य बिमाको कानुनी व्यवस्था, सेवा उपयोग प्रक्रिया र नाम दर्ता सम्बन्धी जानकारी दिँदै चौकुनेमा यसको अवस्था अझै सन्तोषजनक नभएको औंल्याए। कार्यक्रममार्फत स्वास्थ्य बिमा विस्तारमा कमजोरी देखिएको निष्कर्ष निकालिएको छ।

कार्यक्रमको अन्त्यमा बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन महत्वपूर्ण निर्णयहरू गरिएको छ। बिमाकर्तालाई परिचयपत्र र आवश्यक सामग्री उपलब्ध गराउने, त्रैमासिक समीक्षा गर्ने तथा सहजकर्तालाई यातायात र खाजा खर्च उपलब्ध गराई सक्रिय बनाउने निर्णय गरिएको जनाइएको छ।

जितबहादुर तिरुवा । २३ चैत्र २०८२, सोमबार ११:३९