लैङ्गिक उत्तरदायी बजेट सम्बन्धी छलफल

सुर्खेत: कर्णाली प्रदेश सरकाका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले आगामी वर्षको बजेटमा लैङ्गिक समानतामैत्री बजेट ल्याउने प्रतिवद्धता जनाएका छन् । सोमबार एफडब्लुएलडीको आयोजनामा कर्णाली प्रदेशका सांसदहरुसँग लैङ्गिक उत्तरदायी बजेट सम्बन्धी अन्तरक्रियात्मक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री शाहले लैङ्गिक समावेशीकरणमा कर्णाली सरकारको चासो र चिन्ता बढेको बताए । उनले लैङ्गिक समावेशीकरणका क्षेत्रमा बजेट बढ्ने बताए । ‘जातीय, लैङ्गिक र भौगोलिक हिसाबमा पनि कर्णाली प्रदेशमा अन्य प्रदेशको तुलनामा धेरै विभेद छ,’ उनले भने, ‘विभेदलाई कम गर्नका लागि विचार विमर्श गर्न आवश्यक छ । सम्बन्धित विषय जटिल बन्दै गइरहेकोले सरकारको ध्यउानाकर्षण भएको छ ।’
उनले कर्णालीका महिलाको समस्या अन्त्य गर्न छाउपडी प्रथाविरुद्धका अन्य कार्यक्रम अगाडि सारेको बताए । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२-०८३ को बजेटमाथि छलफल सुरु भइसकेको छ । प्रतिपक्ष दल माओवादीका कृष्णबहादुर जिसीले कर्णाली प्रदेशले आफ्नो आन्तरिक राजस्व वृद्धिमा ध्यान नदिई परनिर्भरतातर्फ उन्मुख भएको आरोप लगाए । उनले बजेट विनियोजन प्रक्रिया समावेशी नभएकोे बताए । नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य कल्याणी खड्काले महिला, बालबालिका, दलित, हिंसा पीडितको न्याय, सुशासन र मानव अधिकारको प्रवद्र्धन हुने गरी बजेटलाई अन्तिम रुप दिनुपर्नेमा जोड दिइन् । बजेट विनियोजनमा विभेद, पारदर्शिता र प्रभावकारी कार्यान्वयनका विषयमा सांसदहरुले प्रश्न गरेका छन् । आगामी बजेटमा लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई प्राथमिकता दिनुपर्ने सांसदहरूको माग छ । कार्यक्रममा लैङ्गि उत्तरदायी बजेटको इतिहास र वर्तमान अवस्थाका बारेमा स्रोत व्यक्ति संग्रामसिंह लामाले प्रस्तुतिकरण गरेका थिए । त्यस्तै कार्यक्रको उद्देश्यमाथी प्रकाश एफडब्लुएलडीका सागर कार्कीले गरेका थिए । कार्यक्रमको सञ्चालन अधिवक्ता गिता कोइरालाले गरेकी थिइन् ।