आर्मी बन्ने इच्छा त्यागेर चिकित्सक बनेका डा. खड्का

 स्वर्गीय बुुवा जयबहादुर खड्का र आमा विष्णुकुमारी खड्काको कोखबाट २०४८ सालको साउन २१ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका गण्डकी लाईनमा जन्मिएका डा.टेकबहादुर खड्का सर्जरी चिकित्सक हुन् ।
उनले एचए स्कुल अफ हेल्थ साइन्स भरतपुर चितवनमा पढाई सकेपछि सुर्खेत आएर देउती अस्पतालमा काम गरे । केहि समयपछि चितवन मेडिकल कलेजबाट एमबिबिएस पास गरेपछी उनले भैरहवा मेडिकल कलेजबाट सर्जिकलमा एमएस पनि पास गरे ।
हाल उनी कर्णाली केयर अस्पतालमा जनरल सर्जनको रूपमा कार्यरत छन् । उनै डा.खड्कासँग अंगराज परियारले गरेका संघर्ष र सफलताका कुरा :
बाल्यकाल र विद्यार्थी जीवनलाई कसरी सम्झनुहुन्छ ?
साँच्चीकै भन्नुपर्दा, मेरो बाल्यकाल सुरुदेखि नै संघर्षले भरिएको छ । म जम्मा चार महिनाको थिएँ, जब मेरा बुबा बित्नुभयो । उहाँ कस्तो हुनुहुन्थ्यो, मलाई थाहा छैन । फोटोमा हेरेको छु, त्यति मात्र सम्झना छ । कहिलेकाहीँ अरूले ‘बुवा’ भन्दा मन थिचिन्छ । तर मेरी आमा, विष्णुकुमारी खड्का, अनि मेरा दाजुले मलाई बिनाबुवा हुर्किएको महसुस गराउनु भएन । आमाले कहिल्यै अभाव झल्कन दिनुभएन । जति सकिन्थ्यो, त्यति गरिरहनु भयो । ती दिन सम्झँदा अहिले पनि मन भरिन्छ । पढाइको कुरा गर्ने हो भने बोर्डिङ स्कुलमा पढेँ । पछि माओवादी द्वन्द्वको असरले स्कुल बन्द भयो । त्यसपछि सुर्खेतको नेपाल प्राथमिक विद्यालयमा ६ कक्षामा भर्ना भएँ । दुई बिषय लागेर फेल भएँ । त्यो क्षण मेरो लागि ठूलो धक्का भयो । मिहिनेत गरेर फेरि पढेँ । त्यही स्कुलबाट कक्षा १० सम्म पढेँ र एसएलसीमा स्कुल टप गरेँ ।

त्यो बेला के बन्ने लक्ष्य थियो ?
सुरुमा मलाई के बन्ने ? भन्ने लक्ष्य नै थिएन । मेरो दाजु पनि भारतीय सेनाको लागि तयारीमा हुनुहुन्थ्यो । उहाँले आर्मी बन्नुपर्छ भन्नुहुन्थ्यो । मलाई पनि लाग्थ्यो आठ कक्षासम्म राम्रोसँग पढेपछि आर्मी बन्न पाइन्छ होला भनेर मैंले मिहिनेत गरिराखेँ । पछि एसएलसीमा राम्रो नतिजा आएपछि, शिक्षकहरूले राम्रो विषय पढ्न सुझाव दिनुभयो । त्यसपछि चितवनमा एचए पढ्न गएँ । त्यही बेला मेडिकल लाइनप्रति रुचि बढ्दै गयो ।

चिकित्सक बन्ने निर्णय कसरी गर्नुभयो ?
एचए स्कुल अफ हेल्थ साइन्स भरतपुर चितवनमा पढाई सकेपछि म सुर्खेत अस्पतालमा काम गर्न थालेँ । दिनरातको सिफ्ट हुन्थ्यो । ठूला डाक्टरहरूको काम देख्दा लाग्थ्यो, म पनि यही हैसियतमा पुग्नुपर्छ । त्यसपछि परिवारलाई भनें म डाक्टर बन्ने निर्णयमा छु । सबैले साथ दिनुभयो । चितवन मेडिकल कलेजबाट एमबिबिएस पास गरेँ । त्यसपछि भैरहवा मेडिकल कलेजबाट सर्जिकलमा एमएस पास पनि गरेँ । अहिले म कर्णाली केयर अस्पतालमा जनरल सर्जनको रूपमा काम गरिरहेको छु ।

चिकित्सा पढाईको यात्रा कस्तो रह्यो ?
सजिलो त बिल्कुल थिएन । गाउँबाट आएका कारण प्रारम्भिक बेस अलि कमजोर नै थियो । कलेजमा त नेपाल टपरहरू हुन्थे । मसँग तुलना गर्दा म आफूलाई कमजोर ठानिनँ, तर थाहा थियो मैले बढी मेहनत नगरी हुँदैन । उनीहरू एकचोटी पढ्थे, मैले पाँचचोटी पढ्नुपथ्र्यो ।
अध्ययनको सुरुवाती दिनहरू निकै कठिन थिए । किनभने म यता विद्यालय प्रथम भएर पढ्न गएको थिएँ । तर त्यता नेपाल भरका कोही जिल्ला टपर कोही नेपाल टपर आउने रहेछन् । म यिनीहरुको हिसाबमा कमजोर भएपनी मैंले कहिल्यै कमजोर फिल गरिँन । साथीहरुले एकैछिन पढ्दा बित्तिकै याद गर्थे । तर मलाई तिनीहरुको लेबलमा जानको लागि एउटा कुरा याद गर्न चार पाँच पटक पढ्नपथ्र्यो । पढाईमा निरन्तर चासो राखेँ । जीवविज्ञानका गह्रुँगा सिद्धान्तहरू बुझ्नुपथ्र्यो, लामो समय अध्ययन गर्नुपथ्र्यो, अनि थुप्रै प्रयोगात्मक अभ्यासहरू गर्नुपर्ने हुन्थ्यो । तर समयसँगै मैले सिक्ने तरिका सुधारेँ, अनुभव बढाएँ, अनि मेरा गुरुहरू र सहपाठीहरूको सहयोगले अघि बढेँ । क्लिनिकल प्राक्टिसको समय झन् रोमाञ्चक रह्यो । जब वास्तविक बिरामीहरूसँग संवाद गर्ने अवसर पाइयो । तब मैंले किताबहरूमा मात्र पढेको ज्ञानलाई व्यवहारमा उतार्न सक्ने भएँ ।
कर्णालीमै सेवा गरिरहनु भएको छ किन ?
कर्णाली मेरो जन्मथलो हो । यहीँको माटोमा खेलेर, आमाको दुख देखेर हुर्किएको हुँ । अहिले सर्जनको रूपमा यहाँ सेवा दिन पाउँदा गर्व लाग्छ । मेरो प्रयास यहाँका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिने हो । गाउँगाउँमा अझै पनि स्वास्थ्य पहुँच छैन, त्यसतर्फ म लागिरहेको छु ।धेरैले कर्णालीमा किन भविष्य देख्दैनन् ?
यो प्रश्नमा मेरो आफ्नै उत्तर छ । तपाईंको जन्म कहाँ भयो ? भन्ने होइन, तपाईंको हिम्मत कस्तो छ भन्ने कुराले भविष्य निर्धारण गर्छ । जुन ठाउँमा बस्ने हो, त्यही ठाउँमा भविष्य बनाउने हो भन्ने सोच धेरै डाक्टरको हुने भएकाले डाक्टरहरू कर्णालीमा आउन नसकेको मेरो बुझाई छ । अरू जिल्लाको डाक्टर कर्णालीमै बस्न चाहाँदैनन् ।
सल्यक्रिया गर्दा कस्तो अनुभूति हुन्छ ?
म बिरामीको सल्यक्रिया गर्दाखेरीको समय निकै जिम्मेवारीपूर्ण हुन्छ । कसैको जीवनको डोर मेरो हातमा छ । ध्यान, अनुशासन र धैर्यले भरिएको त्यो क्षणमा म आफूलाई पूर्ण रूपमा बिरामीप्रति समर्पित महसुस गर्छु ।
तर सल्यक्रिया सफल भएपछि, बिरामीको अनुहारमा फर्किने आत्मविश्वासको चमक, उनीहरूको आँखामा आउने कृतज्ञता र मुस्कान त्यो चाहिँ शब्दमा भन्न नसकिने अनुभूति हुन्छ ।

भावी कार्ययोजना के छ ?
म एउटा कुरा स्पष्ट रुपमा भन्न चाहन्छु—म सधैं यो माटोबाट पाएको छु, अब फर्काउने समय आएको छ । कर्णालीका विकट गाउँहरूमा अझै पनि धेरै बिरामीहरू उपचारको अभावमा अकालमै ज्यान गुमाइरहेका छन् । खासगरी गरिब, अशक्त र दूरदराजका बासिन्दाहरू उपचारको पहुँच बाहिर छन् । त्यसैले मेरो भावी योजना भनेको कर्णालीका तमाम दुर्गम जिल्लाहरूमा पुगेर सम्भव भएसम्म निःशुल्क उपचार सेवा दिनु हो ।