कांग्रेस सुर्खेतमा संस्थापन पक्षले एकलौटी गर्न खोजेको भन्दै रिसायो इतर समूह

सुर्खेत : नेपाली काँग्रेस सुर्खेतको संस्थापन इतरपक्ष शेखर कोइराला समूहले मनोनयन दर्ताकै दिन छुटै भेलाको आयोजना गरेको छ। काँग्रेस सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीको नेतृत्वमा भएको भेलाले संस्थापन पक्षले एकलौटी गर्न खोजेको भन्दै त्यसको खबरदारी गर्ने निष्कर्ष निकालेको छ।

संस्थापन इतर पक्षलाई पेलेर जाने, बेवास्ता गर्ने प्रवृत्ति बढेको भन्दै यसले पार्टी भित्रका इमान्दार नेता, कार्यकर्ता मर्कामा परेको समूहले निष्कर्ष निकालेको हो। भेलाले पाटी नेतृत्वले एकलौटी ढंगले एउटा समूहलाई निषेध गरेर अगाडी बढ्नु कसैको लागि पनि फाइदा नहुने ठहर गरेको छ।

भेलाले वीरेन्द्रनगर नगर कार्यसमितिको निर्णय विपरीत नगर सभापति उपेन्द्र खड्काले एकलौटी रूपमा नाम सिफारिस गर्नु असक्षम र अपरिपक्क नेतृत्व सावित भएको निष्कर्ष निकालेको हो। जीवन नै पार्टीमा लगायकालाई पाखा लगाएर गुट, नातावाद, कृपावाद र आफन्तलाई पार्टीले अगाडी बढाएको प्रति भेलाले आपत्ति जनाएको छ। काँग्रेस सुर्खेतका निवर्तमान सभापति रेग्मीले निर्वाचनमा काँग्रेसलाई विजयी गराउन लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै सबैलाई सम्मान व्यवहार गर्न पार्टी नेतृत्वलाई अपिल गरेका छन्।

उनले आफ्नो नेतृत्वमा ९ पालिका रहेको सुर्खेतमा ६ पालिका जिताउन सफल भएको भन्दै आगामी निर्वाचनमा त्यो भन्दा बढी जिताउन पाटी नेतृत्वलाई आग्रह समेत गरे। सभापति रेग्मीले आफूहरू पाटीलाई जित हासिल गराउन तयार रहेको भन्दै नेतृत्वबाट अहिलेसम्म पनि आफूहरूसँग कुनै पनि वार्ता संवाद नभएको स्पष्ट पारे। उनले भने, ‘जुँगाका रेखा नबस्दै राजनीतिमा होमिएकालाई उपेक्षा गरेर पाटीमा कुनै पनि योगदान नभएकाहरुलाई जिम्मेवारी दिनु दुःखद भएको हो।’

यस्तै, जिल्लामा रहेका वडा तहदेखि पालिकासम्म आफूहरूलाई सम्मानजनक ४० प्रतिशत उम्मेदवारी नहुँदासम्म आफूहरूलाई कुनै पनि पद नलिने समूहले निष्कर्ष निकालेको छ। यसअघि वीरेन्द्रनगर नगरपालिकामा मेयरमा सिफारिस भएका नेताहरू नारायण कोइराला र भुपेन्द्र केसीले उम्मेदवारी फिर्ता लिएका थिए। दुवैले हरेक क्षेत्रमा सम्मानजनक आफूहरूको उपस्थित नभए कुनै ठाउँको पनि उम्मेदवार नबन्ने बताएका छन्।

दुवै जनाले यसअघि नै काँग्रेस क्षेत्रीय कार्यसमिति सुर्खेत क्षेत्र नं २ लाई निवेदन दिएर उम्मेदवारी फिर्ता लिएका हुन्। सुर्खेतका निवर्तमान सचिव भुपेन्द्र केसीले पार्टी नेतृत्वले संस्थापन इतर पक्षलाई पनि समेट्नुपर्नेमा त्यो गर्न नसकेको आरोप लगाएका छन्। पार्टीभित्र इतर पक्षलाई मिलाउनुको सट्टा सिद्धान्त नमिल्नेलाई साथमा लिन खोज्ने प्रवृत्तिले काँग्रेस कमजोर बनेको उनको भनाइ रहेको थियो।

यस्तै, नेपाली काँग्रेसका युवा नेता नारायण कोइरालाले पार्टीमा योगदान दिएका र योग्य नेता कार्यकर्तालाई उपेक्षा गर्दै एकपक्षलाई वाईपास गरेर दिएको एकल उम्मेदवारीको कुनै अर्थ नहुने ठोकुवा गरे।

३ जिल्ला मिलाउन सकस
गठबन्धन दलहरुबिच कर्णाली प्रदेशका सातवटा जिल्लामा सहमति भए पनि रुकुमपश्चिम, सुर्खेत र कालिकोटमा भने अझै भागवण्डा मिल्न सकेको छैन। कर्णाली प्रदेशमा सत्ता गठन्धनभित्र भागवण्डाको लागि कसिएको गाँठो फुक्न लागेको छ। सात जिल्लाको भागवण्डा बाँडफाँड गरिसकेको छ।

हुम्ला, दैलेख, जाजरकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा जिल्लाको पालिकाको बाँडफाँट भईसकेपनि त्यसको विवरण बाहिर सार्वजनिक गरिएको छैन। बाँकी रहेका तीन जिल्लाको भागबन्डा मिलाउन पनि शनिबार रातिदेखि गठबन्धनको बैठक जारी नै छ।