सुर्खेतः ‘लैङ्गिक हिंसा अन्त्यका लागि एक्यबद्धताः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने नारासहित कर्णाली प्रदेशमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरिएको छ ।
अभियानको सुरुवातमा बुधबार वीरेन्द्रनगर सुर्खेतमा प्रभातफेरी तथा सचेतनामूलक र्याली निकालिएको छ । इन्सेक, मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय र विभिन्न संघ संस्थाहरुको आयोजनामा निकालिएको र्यालीले लैङ्गिक हिंसाविरुद्ध सामूहिक प्रतिबद्धता व्यक्त गर्दै पीडितको संरक्षण, हिंसामा संलग्नलाई कानुनी कारबाही र पीडितलाई न्यायको सुनिश्चितता गर्नुपर्नेमा जोड दिएको छ ।
र्लीमा कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्ल, मानव अधिकार रक्षक सञ्जालका संयोजक पीताम्बर ढकाल, इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदी लगायत मानव अधिकारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
अभियानले लैङ्गिक हिंसालाई व्यक्तिगत वा पारिवारिक समस्याका रूपमा मात्रै नहेरी सामाजिक विकृति र मानव अधिकार उल्लङ्घनको गम्भीर विषयका रूपमा लिनुपर्ने सन्देश दिएको सामाजिक विकासमन्त्री जितबहादुर मल्लले बताए । त्यस्तै हिंसापीडितले सहज रूपमा न्याय पाउने वातावरण निर्माण गर्न राज्यका निकाय, नागरिक समाज र समुदायबीच सहकार्य आवश्यक रहेको इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले बताए । मंगलगढी चोकबाट सुरु गरिएको र्याली सामाजिक विकास मन्त्रालयमा पुगेर मन्त्री मल्लले सम्बोधन गरेपछि समापन गरिएको थियो ।

खुलानजर । १० मंसिर २०८३, बुधबार १२:०३