सुर्खेतमा लागुऔषधसहित एक महिला पक्राउ, अफिम र चरेशको ठूलो परिमाण बरामद

सुर्खेत: वीरेन्द्रनगरमा लागुऔषधसहित एक महिला पक्राउ परेकी छन् । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले सोमबार राति वीरेन्द्रनगर–१२ नारायण टोलस्थित एक कोठामा छापा मार्दै उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्ने महिला जाजरकोटको जुनिचाँदे गाउँपालिका–१ स्थायी घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी २८ वर्षीया शर्मिला कुमारी बस्नेत रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बस्नेत बस्दै आएको कोठा तथा शौचालय क्षेत्रसमेत खानतलासी गर्दा चरेशजस्तो देखिने कालो डल्लो पदार्थ १७ ग्राम ३६० मिलिग्राम, अफिमजस्तो देखिने भिजेको गिलो पदार्थ ५ ग्राम ७२० मिलिग्राम र अफिमको बीउजस्तो देखिने सेतो दाना ५ किलोग्राम ३७० ग्राम बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार लागुऔषधको स्रोत, संजाल र सम्भावित संलग्नता सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ । “उनीविरुद्ध लागुऔषध (नियन्त्रण) ऐनअनुसार मुद्दा दर्ता गरी म्याद थप गरिएको छ,” बुढथापाले बताए ।

अहिले पक्राउ परेकी बस्नेत लागुऔषधको ओसारपसार तथा बिक्री वितरणमा संलग्न भएको आशंकामा अनुसन्धान थालिएको र यससँग जोडिएका अन्य व्यक्तिहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।