श्रीमान् गुमाएकी सुत्केरी आमालाई राज्यको साथ : छोरी १८ वर्ष नपुग्दासम्म मासिक १७ हजार ५०० रुपैयाँ सहयोग

सुर्खेत: भोटेकोशीमा आएको बाढीका कारण श्रीमान् गुमाएकी रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, गोल्जुङबेसीकी एक सुत्केरी आमालाई नेपाल सरकारले दीर्घकालीन आर्थिक तथा संरक्षण सहायता उपलब्ध गराउन सुरु गरेको छ।

श्रीमान् गुमाएपछि नवजात छोरीको पालनपोषण र भविष्यको चिन्तामा रहेकी २९ वर्षीया पेमा लामा (परिवर्तित नाम) का लागि सरकारले छोरी १८ वर्ष उमेर नपुग्दासम्म मासिक १७ हजार ५०० रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको हो।

२०८३ मङ्सिर १० गते महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिता वादी स्वयं गोल्जुङबेसी पुगेर उक्त सहायता कार्यक्रमको सुरुवात गरेकी हुन्। सो अवसरमा सुत्केरी आमाको नाममा रहेको कुमारी बैंक खातामा पहिलो महिनाको १७ हजार ५०० रुपैयाँ जम्मा गरिएको छ।

नेपाल सरकारको ‘विपद् प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना’ अन्तर्गत उक्त सहायता उपलब्ध गराइएको हो। यस योजनाको मुख्य उद्देश्य विपद्का कारण अभिभावक गुमाएका तथा जोखिममा रहेका बालबालिकालाई बालगृहमा नभई आफ्नै परिवारको संरक्षणमा हुर्कने वातावरण सुनिश्चित गर्नु रहेको छ।

मन्त्री वादीले बालबालिकालाई परिवारबाट अलग नगरी आफ्नै आमाबुवा, आफन्त तथा परिवारको संरक्षणमा हुर्काउने सरकारको नीति रहेको बताइन्। विपद्का कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण र भविष्यको जिम्मेवारी राज्यले लिने उनको भनाइ थियो।

सरकारले विपद् प्रभावित बालबालिकाको अवस्था पहिचान गरी उनीहरूका लागि आवश्यक सहयोग निर्धारण गर्न घरदैलोमै पुगेर अध्ययन तथा लेखाजोखाको कामसमेत अघि बढाएको छ। राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य–सचिव शान्तकुमारी भण्डारीको नेतृत्वमा पाँचवटा टोली प्रभावित क्षेत्रमा खटिएका छन्। टोलीले रसुवा, नुवाकोट र काठमाडौं उपत्यकाका प्रभावित बालबालिकाको अवस्था अध्ययन गरिरहेको छ।

योजनाअन्तर्गत उच्च जोखिममा रहेका बालबालिकाका लागि राष्ट्रिय बाल अधिकार परिषद् र शेष घलेद्वारा सञ्चालित MITGF संस्थाबीच सहकार्य भइरहेको छ। त्यस्तै, SOS Children तथा अन्य साझेदार संस्थामार्फत पनि विभिन्न जोखिम समूहका बालबालिकालाई दीर्घकालीन संरक्षण तथा स्याहार योजनामा समेट्ने तयारी गरिएको छ।

मन्त्री वादीका अनुसार हालसम्म MITGF मार्फत १५० जना, SOS मार्फत ६५० जना र प्रविना फाउन्डेसनमार्फत १० जना गरी कुल ८१० जना बालबालिकाको दीर्घकालीन स्याहार योजनामा सहयोग गर्ने प्याकेज उपलब्ध छ।

यसैगरी, मन्त्रालयको बालकोषमा ७ करोड रुपैयाँ रहेको र भोटेकोशी बाढी प्रभावित बालबालिकाको संरक्षणका लागि MITGF र नेपाल सरकारबीच ५८ करोड रुपैयाँ बराबरको सम्झौता सम्पन्न भइसकेको उनले जानकारी दिइन्।

बालबालिकालाई अनावश्यक रूपमा बालगृहमा राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै पारिवारिक पुनर्मिलनलाई प्राथमिकता दिइएको पनि मन्त्री वादीले बताइन्। कानुनविपरीत बालगृहमा पुर्‍याइएका बालबालिकालाई परिवारमा फर्काउने अभियानअन्तर्गत हालसम्म २७ जना बालबालिकाको पारिवारिक पुनर्मिलन गराइएको छ।

विपद्पछि सरकारले ललितपुरको ठेचोमा अस्थायी संरक्षण केन्द्र सञ्चालनमा ल्याएको छ। उक्त केन्द्रबाट आवास, खानपान, स्वास्थ्य उपचार, परामर्श तथा मनोसामाजिक सेवा उपलब्ध गराइँदै आएको छ। हालसम्म ४९ जना बालबालिका उक्त केन्द्रबाट लाभान्वित भएका छन्।

गोल्जुङबेसीबाट सुरु गरिएको यो कार्यक्रमले विपद्का कारण अभिभावक गुमाएका बालबालिकाको भविष्य सुरक्षित गर्न राज्यको दीर्घकालीन जिम्मेवारीलाई थप स्पष्ट पारेको छ। आर्थिक सहायता मात्र नभई आमाको काखमै रहेर सुरक्षित रूपमा हुर्कन पाउने वातावरण निर्माण गर्नु यस योजनाको महत्वपूर्ण पक्ष बनेको छ।

विपद्ले अभिभावक खोसे पनि बालबालिकाको भविष्य अनिश्चित हुन नदिने राज्यको यो पहलले प्रभावित परिवारमा नयाँ आशा जगाएको छ।