कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइन निर्माणको बाटो खुल्यो

सुर्खेत: लामो प्रतिक्षापछि अन्ततः कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रशारण लाइन निर्माणको बाटो खुलेको छ । २०४५ सालमा सुर्खेतमा विस्तार गरिएको ३३ केभी प्रशारण लाइनले हालको माग धान्न नसकेपछि १३२ केभी प्रशारण लाइन निर्माण अघि बढाइएको हो । तर प्रशारण लाइनको विच खण्डमा बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज पर्ने भएकाले हाइटेन्सन लाइन निर्माणका लागि रुख कटान अनुमति नहुँदा प्रभावित बनेको थियो ।
सोमबार संघ सरकारले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजनाको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेपछि निर्माणको बाटो खुलेको हो । मन्त्रीपरिषद्को निर्णयपछि अब नेपाल विद्युत प्राधिकरण र वन विभागसँग रुख कटानका लागि सम्झौता हुनेछ । सम्झौतापछि निकुञ्ज क्षेत्रका रुखहरु निकुञ्ज कार्यालय, राष्ट्रिय वनमा पर्ने रुख सम्वन्धित जिल्ला वन कार्यालय तथा सामुदायिक वनका रुख भने सामुदायिक वनले नै कटान गर्नेछ । तर यो सबै प्रक्रिया सक्न कम्तिमा कार्तिकसम्म लाग्ने कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण आयोजना प्रमुख रवि चौधरी बताउँछन् ।
लाइन विस्तारको क्रममा कति रुख कटान गर्ने भन्ने यसअघि नै विवरण तयार रहेकाले सम्झौता लागत्तै रुख कटानको काम शुरु हुने आयोजना प्रमुख चौधरीले जानकारी दिए । उनकाअनुसार ५२ किलोमिटर प्रशारण लाइनमा पर्ने १३ हजार ५६ रुख काट्नु पर्नेछ । आयोजना क्षेत्रमा पर्ने सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका र लेकबेँसी नगरपालिका, बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्ज, बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका क्षेत्रभित्रका रूख कटान गरिने आयोजना प्रमुख चौधरीले बताए ।
प्रसारण लाइनको ७०.५४५ भाग वनको क्षेत्र, १६.१३५ खेतीयोग्य जमिन, २.२६५ बाजो जमिन, तथा ११.०६५ अन्य भागले ओगटेको छ । विद्युत प्रसारण कार्यान्वयनका लागि विभिन्न जग्गा, जमिन, सामुदायिक वन, तथा सरकारी वन क्षेत्रका गरेर जग्गाको क्षेत्रफल कुल दुई सय २५ वर्ग मिटर हुनेछ ।
आयोजना कार्यान्वयन गर्दा कूल ९८.०५७९ हेक्टर जग्गा टावर निर्माण, सव–स्टेशन निर्माण तथा क्षेत्राधिकारको लागि आवश्यक पर्ने आयोजनाले जनाएको छ । जसमध्ये ३.७२४९ हेक्टर स्थायी रूपमा सव–स्टेशन निर्माणको लागि र ३.३०७५ हेक्टर टावरको जग निर्माणको लागि अधिग्रहण गरिनेछ भने बाँकी ९१.०२५५ हेक्टर जमिन अस्थायी रूपमा प्रयोग गर्न सकिने उल्लेख छ ।
आयोजना बाँकेको कोहलपुर सव–स्टेशनबाट शुरु भएर सुर्खेतको धुलियाविट सव–स्टेशनमा पुगेर टुंगिनेछ । सुर्खेतमा रहेन सव–स्टेशनमा जग्गाको क्षेत्रफल करिव चार हेक्टर छ । डवल सर्किट रहेन आयोजनाका एंगल टावरहरु २६ ओटासहित कुल १४५ टावर रहनेछन् ।
कोहलपुर–सुर्खेत १३२ केभि विद्युत् प्रसारण लाइनको कुल बजेट एक अर्ब ८० करोडमध्य भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ठेक्कामार्फत ७० करोडमा जिम्मा लिएको हो । निर्माण व्यवसायीले सो रकमबाट टावर निर्माण र तार तान्ने कार्यमा मात्रै खर्च गर्नेछ भने मुआव्जाको रकम भने आयोजनाले छुट्टै व्यहोर्नेछ ।