महिलालाई साझा अभियानको रुपमा अगाडि बढाउन आवश्यक छ : प्रदेश प्रमुख परीयार

 

सुर्खेत : कर्णाली प्रदेश प्रमुख तिलक परीयारले राष्ट्रिय समृद्ध हासिल गर्न महिलालाई सुरक्षा, सम्मान र रोजगारीलाई साझा अभियानको रुपमा सबैले अगाडि बढाउन आवश्यक रहेको बताएका छन् । प्रमुख परीयारले ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उक्त कुुरा बताएका हुन् । विगतका तुलनामा महिलालाई हेर्ने दृष्टिकोण, सामाजिक सोच तथा प्रथामा क्रमिक रुपमा सकारात्मक परिवर्तन भइरहे पनि अझै पनि कहीँ–कतै पितृसत्तात्मक सोच कायम रहनाले महिला विकासका विभिन्न चरणमा अपेक्षाकृत उपलिब्ध हासिल गर्न चुनौतीहरु खडा भएको शुभकामना सन्देशमा उल्लेख छ । सन्देशमा उनले महिला र पुरुषका बिच लैङ्गिक समानताका लागि सम्बन्धित पक्षमा जागरण आउनुपर्नेमा जोड दिँदै भनेका छन् ,‘महिला र पुरुषबीच विभिन्न बाहनामा हुने विभेद तथा हिंसा न्यूनिकरणका लागि समाजका सबैक्षेत्रमा जागरण आवश्यक पर्दछ ।

लैंगिक समानताका लागि समाजका सबै खाले वर्गको सोच र व्यवहारमा पनि समानताको खाँचो देखिएकाले महिला र पुरुषबीच समानता कायम गर्न आवश्यक कार्यमा सम्बन्धित पक्षको ध्यान जानु आवश्यक छ ।’ उनले महिला विरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृती प्रथा र परम्परालाई निर्मुल गर्दै समानता र न्याय सुनिश्चित गर्न अन्तराष्ट्रिय नारी दिवसले लैंगिक समानताका विषयलाई आत्मसाथ गर्न र लैंगिक समानताकालागि क्रियाशिल अधिकारकर्मी तथा अभियन्ताहरु लगायत सम्बद्ध सबैलाई उत्साहका साथ काम गर्ने प्रेरणा प्राप्त हो भन्ने कामना गर्दछु भनी शुभकामना सन्देशमा उल्लेख गरेका छन् । महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्न सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुने विश्वाससहित शुभकामना सन्देशमा परीयारले महिला सशक्तीकरण, प्रतिनिधित्व र सहभागितालाई लैङ्गिक समानता हासिल गर्ने प्रमुख माध्यमका रूपमा लिनुपर्नेमा जोड दिए ।