कर्णालीबाट ‘दलितका लागि दलित अभियान’को सूरु गरिने

सुर्खेत : ‘दलितका लागि दलित अभियान’ मंगललबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट सुरु हुने भएको छ । अभियानका पश्चिम संयोजक खगेन्द्र सुनारका अनुसार २१ मार्चमा मनाइने अन्तर्राष्टिय छुवाछुत तथा विभेद विरुद्धको दिवसका अवसरमा मंगलबार सुर्खेतमा उक्त कार्यक्रम गर्न लागिएको हो ।

‘कर्णालीका दलित समुदाय विगत ४४ वर्षदेखि हेपिदै आएका छन् । राज्य पक्षले समानुपातिक प्रतिनिधित्व गराउन सकेको छैन । हामीले राज्यका हरेक निकायमा सामुहिक प्रतिनिधित्वको व्यवस्था गर्न विगतदेखि नै माग गर्दै आइरहेका छौं,’ उनले भने, ‘अब हामीले ८४ वर्ष पुराना ढड्डा खोल्छौं र राज्यसँग हिसाब माग्छौं । यसको सुरुवात कर्णालीबाट गदैछौं ।’
उनले यो अभियान दलित समूदायको उत्थानका लागि कोसेढुंगा सावित हुने दाबी गर्दै कर्णालीमा दलित भएकै कारण ज्यानको आहुति दिने सबैलाई राज्यले शहिद घोषणा गर्नुपर्ने लगायतका ८४ वटा मागहरु सार्वजनिक गरी राज्यसँग राखिने बताए ।

‘हामीले दलितको एकता भन्नुको अर्थ गैरदलित समूदायसँग लडाई होइन । धार्मिक, सांस्कृतिक, आर्थिक लगायत सबैखाले राज्यको अपहरणबाट मुक्तिका लागि यो अभियान सुरु गर्ने भएका हौं ।’ उनले भने, ‘नेपालमा रहेका साठी लाख दलितको पक्षमा हामी आवाज उठाउँछौं । अब राज्यसँग हामी कटौरा थापेर अधिकार माग्ने पक्षमा छैनौं । राज्यसँग वार या पारको लडाई लडने तयारीमा छौं ।’
उनले आफूहरुको समूदायका हक अधिकार राज्यले फिर्ता दिनुपर्ने माग गर्दै आफूहरु व्यवस्था परिवर्तन गर्ने पक्षमा नभएको बताए । उनका अनुसार देशभरीबाट २५ हजार दलित समुदाय उक्त कार्यक्रममा आउनेछन् ।
जातिय विभेदकै कारण ज्यान गुमाएका र अन्यायमा परेकाहरु र उनका आफन्त, दलित समुदायका राष्टिय कलाकारहरुको समेत उपस्थिति रहने अभियन्ता सुनारले जानकारी दिए । कार्यक्रम बिहान १० बजे घण्टाघर स्थित खुलामञ्चमा हुनेछ ।