मानव अधिकारका मापदण्ड कार्यान्वयन गर्नु सबैको भूमिका महत्वपूर्ण : मन्त्री जिसी

सुर्खेत:  कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले मानव अधिकार रक्षाका लागि नेपालले गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरु कार्यान्वयन गर्नु नागरिक, सरकार र नागरिक समाज सबैको महत्वपूर्ण भूमिका रहेको बताए ।
बुधबार इन्सेक कर्णाली प्रदेश कार्यालयले सुर्खेतमा आयोजना गरेको अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी मापदण्ड तथा मानव अधिकारमा आधारित दृष्टिकोणबाट कानुन तर्जुमा कार्यशालाको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले मानव अधिकार मैत्री नीति नियम बनाउन स्थानीय, प्रदेश र संघीय सरकार सबैको समन्वय हुन आवश्यक रहेको बताउँदै प्रदेश सरकारले गर्ने काम कारवाहीमा मानव अधिकारलाई ध्यानमा राखिएको जानकारी दिए ।
इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले मानव अधिकारको रक्षा गर्न सके मात्रै सामाजिक न्याय स्थापित हुने बताए ।
‘सामाजिक न्याय स्थापित गर्नका लागि मानव अधिकारको रक्षा हुन आवश्यक छ । जसको लागि विधिको शासन महत्वपुर्ण हुन्छ, ’डा. अर्यालले भने, ‘अन्तर्राष्ट्रिय कानुन मापदण्ड नेपालले पालना गरेको छ । त्यसको कार्यन्वयन गर्न जनता र जनप्रतिनिधि सचेत हुनपर्दछ ।’
स्थानीय र प्रदेश सरकारलाई कानुन निर्माण र कार्यान्वयनमा यस कार्यशालाले सहयोग पुर्याउने अध्यक्ष अर्यालले अपेक्षा गरे ।
नेपाल सरकारले लिएको मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना सफल बनाउन तीनै तहका सरकारको महत्वपूर्ण भूमिका रहेको उनको भनाई छ ।


त्यस्तै कर्णाली प्रदेश सभाकी सांसद विजया बुढाले कर्णालीमा दिनहुँ मानव अधिकारको हनन् र महिला हिंसाका घटना बढेकोले न्यूनिकरण गर्नका लागि सबैले समन्वय गरेर काम गर्नुपर्ने बताइन् ।
कार्यक्रमका प्रशिक्षक एवं पूर्व सूचना तथा सञ्चार मन्त्री माधव पौडेलले नागरिक अधिकार तथा राजनीतिक अधिकार, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्तीका लागि यस कार्यशालाले महत्वपुर्ण भूमिका खेल्ने बताए ।
इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले दुई दिने कार्यशालाको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेक कर्णाली प्रदेश कार्यालयले गरेका क्रियाकलापहरुको जानकारी गराएका थिए ।
कार्यशालामा मानव अधिकार रक्षकका सुरक्षा र संरक्षणसम्बन्धमा मानव अधिकार रक्षकहरुले तयार गरेको प्रस्तावित विधेयकका विषयमा पूर्व डिन तथा मानव अधिकार रक्षक सञ्जालका संयोजक पीताम्बर ढकालले प्रस्तुत गर्नेछन् ।
कार्यशाला उद्घाटन कार्यक्रमको सञ्चालन इन्सेकको अधिकार–२ परियोजनाका कार्यक्रम संयोजक किरण पौडेलले गरेका थिए ।
बिहिबार सम्पन्न हुने कार्यशालामा दैलेख, सुर्खेतका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रदेश सभाका सांसद, मन्त्रीहरु, विषयगत समितिका पदाधिकारी लगायत ३० जनाको सहभागिता रहेको छ ।