सामुदायिक वन सम्बन्धी विवाद मिलाउन समुदायकै भूमिका महत्वपूर्ण


भिमबहादुर सार्की
बाँके: समुदाय र सामुदायिक वन सम्बन्धी विवाद मिलाउन समुदायकै भूमिका महत्वपूर्ण रहने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । माकुरा समुह डुडुवा बाँकेको आयोजना, प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र बाँकेको सहयोग र डुडुवा गाउँपालिका वडा नम्बर ४ र ५ को समन्वयमा डुडुवाको मिलनचोकमा प्रक्रिया प्रस्ताव पारितका लागि संयुक्त बैठकमा उपस्थित सहभागीहरुले यस्ताे बताएका हुन् ।
डुडुवा गाउँपालिका स्थित वभनपुर्वा सामुदायिक वन उपभोक्ता समिती तथा सो वन सँगै जोडिएका मिलनचोक बस्ती वरपरका केही घरधुरीहरुसँग सिमानाको विषयलाई लिएर केही समयदेखि विवाद हुँदै आइरहेको छ । उक्त विवाद समाधानका लागि प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र बाँकेले डुडुवा गाउँपालिका वडा नम्बर ४ र ५ स्थित वभनपूर्वा सामुदायिक वन अन्तर्गतका स्थानिय उपभोक्ताहरुको पहलमा ११ सदस्यीय माकुरा समुहको गठन गरि सहजीकरण गर्दै आएको छ । माकुरा समुहको अगुवाइमा स्थानिय उपभोक्ता, वन उपभोक्ता समिती तथा सरोकारवालासँग विभिन्न चरणमा छलफल गर्ने क्रममा बिहीबार आठौँ चरणको बैठक आयोजना गरिएको हो । बैठकको उद्देश्यमाथि प्रकाश पार्दै सहजकर्ता रसीद खाँले प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रले सामुदायिक मेलमिलाप तथा रुपान्तरणीय प्रक्रियामार्फत जल, जमिन र जंगल सम्बन्धी बहुसरोकारवाला सवालमा काम गर्दै आएको र डुडुवामा पनि सोही सवालहरुलाई मध्यनजर गरि समदाय र सामुदायिक वन बिचको विवादलाई साम्य पार्न संस्थाले समुह गठन गरि काम गरिरहेको बताए । कार्यक्रम बोल्दै उपभोक्ता बिष्णुमाया न्यौपानेले मिलनचोकमा २०५२ सालदेखि नै बस्ती रहेको र त्यस्को केही समयपछि मात्रै सामुदायिक वनको अवधारणा आएको हुँदा वन र बस्तीको सिमानालाई लिएर वभनपुर्वा वनसमितीले बस्तीका घरधुरीहरुसँग विवाद गर्नुको कुनै तुक नरहेको बताइन् । त्यस्तै, नेपाल हेल्पलाइन फाउण्डेसन बाँके र स्थानिय अगुवा मुस्लिम खाँले आफु २०५० सालदेखि नै मिलनचोकमा बस्दै आएको र बस्ती विस्तार हुने क्रममा कुनैपनि घरधुरीले वनको भूभाग नओगटेको बताए । त्यसैगरि, स्थानिय वन महासंघ डुडुवाका अध्यक्ष बेलबहादुर बोहराले वनजंगल छेउछाउमा रहेका तथा अव्यवस्थित बस्तीलाई व्यवस्थापनका लागि सरकारका सबै तहमा एजेण्डाहरु प्रस्तुत हुनेभएता पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो पोखे । कार्यक्रममा आफ्नो भनाइ राख्द‌ै नेपाल शिक्षक संघ बाँकेका सचिव तथा स्थानीय शिक्षक चन्द्रबहादुर एरीले सबै पिडीत पक्षहरुले आ–आफ्नो सवालहरु छलफलमा राख्नुपर्ने र ति सवालहरुलाई सम्बोधन गर्न एउटा कार्यदल गठन गरि अगाडि बढ्नुपर्ने कुरामा जोड दिए । यस्तै नेपालगंज सव–डिभिजन वन कार्यालय राँझाका प्रमुख नारायण पार्धेले माकुरा समुह तथा सहयोगी संस्थाले मेलमिलापको नितीबाट काम गरिरहेको कुरालाई मुक्तकण्ठले प्रशंसा गरे । `वनजंगल छेउछाउ रहेका बस्ती र सामुदायिक वन सँग सम्बन्धित विवादहरु थुप्रै छन् र यदि समुदायकै प्रयासले यहाँहरुको विवाद समाधान भएको खण्डमा यो एउटा नमूनायोग्य कार्य हुनेछ र हामीलाई पनि अरु समुदायमा यसै प्रक्रिया मार्फत जान हौसला मिल्नेछ,` उनले भने, `बैठकमा डुडुवा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिती संयोजक साहिदा बानो, माकुरा समुहका संयोजक मोती बुढाथोकी, डुडुवा गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष झंक बहादुर थापा र वभनपुर्वा सामुदायिक वनका उपाध्यक्ष इरफान खाँले समेत जल, जमिन र जंगलकाे सवालमा आफ्नो भनाई राखेका थिए । बैठकमा ७० जनाभन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।