बढी कबोल गरेको कम्पनीले धरौटी रकम जम्मा नगर्दा कम कबोललाई परेको संघको दावी

सुर्खेत: सुर्खेत उद्योग वाणिज्य संघले यहि माघ २६ गतेदेखि फागुन ०५ गतेसम्म वीरेन्द्रनगरमा सञ्चालन गर्न लागेको तेस्रो ‘कर्णाली एक्पो २०८०’ मा माग गरिएको आशयपत्र अनुसार धरौटी रकम जम्मा नगरेका कारण कम कबोल भएको कम्पनीलाई दिइएको संघले दावी गरेको छ ।
ईमेल र प्रत्यक्ष गरी ६ वटा आशयपत्र संघलाई प्राप्त भएका थिए ।

जसमध्ये सबैभन्दा कम रकम कबोल गरिएको आशय पत्र ५० लाख थियो भने बढी कबोल गरिएको ८१ लाख ५० हजार ५५५ रुपैयाँको थियो । तर, बढी कबोल गरेको कम्पनीले आवश्यक धरौटी र प्रक्रिया पुरा नगरेका कारण पर्न नसकेको संघका अध्यक्ष लक्ष्मण कँडेलले बताए ।

‘हामीले प्रतिस्पर्धीलाई बेवास्ता गरेका होइनौं । आशयपत्रका मापदण्ड हेर्दा अहिले छनोट भएको कम्पनीले पाएको हो,’अध्यक्ष कँडेलले भने, ‘संघको पदाधिकारीबाट तोकेका सबै मापदण्ड पुरा गर्ने कम्पनीलाई छनोट गरेको हो ।’

संघले ६१ लाख रुपैयाँ कबोल गरेको ओम शक्ति मारुती ईभेन्ट एण्ड म्यानेजमेन्टलाई स्वीकृति दिएको छ । उक्त कम्पनीले धरौटी, विद्युत, पानी र दुई किस्ताको लागि ३२ लाख ५० हजार रुपैयाँ उद्योग वाणिज्य संघलाई बुझाइसकेको छ ।

बढी कबोल गर्ने एजी सर्भिस प्रालिले ८१ लाख ५० हजार ५५५ रुपैयाँ कबोल गरेपनि धरौटी रकम, विद्युत पानी लगायतको जम्मा नगरेको र इमेल मार्फत आशयपत्र पेश गरेको लगायतका प्रक्रिया पुरा नगरेको अध्यक्ष कँडेलको भनाई छ ।

नगरपालिकाको मेला महोत्सव व्यवस्थापन समितिले सुर्खेत उद्योग वाणिज्य संघलाई मुल आयोजकका रुपमा महोत्सव सञ्चालन गर्न अनुमति दिएको छ । त्यस्तै आफुले महोत्सव लगाउन पाउनुपर्ने दावी गरेको उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशले समेत सहमति जनाईसकेको छ ।