कांग्रेस कर्णाली प्रदेशकाे निर्णय : आफ्नै नेतृत्त्वमा सरकार र सर्वसम्मत दलकाे नेता चयन

                                                                           सुर्खेत : नेपाली कांग्रेस कर्णाली प्रदेशले अहिलेको गठबन्धनलाई नै निरन्तरता दिई कांग्रेसकै नेतृत्त्वमा सरकार गठन गर्न पहल गर्ने भएको छ।प्रदेश समितिको बिहीबार बसेको कांग्रेस कर्णाली प्रदेश कार्य सम्पादन समितिको बैठकले पहिलो चरणमा आफ्नै नेतृत्त्वमा सरकार गठन गर्ने निर्णय गरेको हो।बैठकले कर्णाली प्रदेश सरकार गठन, वर्तमान गठबन्धनलाई कायम रहने गरि कांग्रेसको नेतृत्त्वमा सरकार गठन गर्न पहल गर्ने र दलको नेता सर्वसम्मत चयन गर्ने निर्णय गरेको कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन शाहीले जानकारी दिए।
४० सदस्यीय प्रदेश सभामा १४ सिट ल्याएर पहिलो दल कांग्रेस बनेकोले पनि आफ्नै नेतृत्त्वमा सरकार गठन गर्नुपर्ने दायित्व रहेको उनले बताए।
निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेशसभा संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक पनि गरिएको छ।
निर्वाचन प्रयोजनका लागि प्रदेश महामन्त्री कृष्ण रोकायको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति समेत तोकिएको छ। समितिको सदस्यमा प्रदेश समिति कोषाध्यक्ष खगिसरा आचार्य र प्रवक्ता दमन बहादुर शाही रहेका छन्।
निर्वाचन समितिले शनिबार संसदीय दलको नेता चयनका लागि मतदान गर्ने निर्णय गरेको छ। यसका लागि शुक्रबार बिहान आठ बजे मतदाता नामावली प्रकाशन गर्ने, १० देखि ११ बजेसम्म मतदाता नामावली उपर दाबी–विरोध पेश गर्ने र १२ बजे अन्तिम नामावली प्रशासन गर्ने उल्लेख छ।
शुक्रबार दिउँसो साढे तीन बजेदेखि साढे चार बजेसम्म उम्मेदवारका लागि दरखास्त आव्हान गर्ने र सात बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
एक भन्दा बढि उम्मेदवारले दरखास्त दिएमा शनिबार बिहान नौ बजेदेखि ११ बजेसम्म कांग्रेस संसदीय दलको कार्यालयमा मतदानको समय मिलाइएको प्रवक्ता शाहीले जानकारी दिए।
बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो विकल्प नभएको दाबी गरिरहँदा राजीवविक्रम शाहले पनि मुख्यमन्त्री बन्नका लागि संसदीय दलको नेतामा दाबी गरेका छन्। शाही र शाह दुवै संस्थापन पक्षका हुन्।
जाजरकोटबाट निर्वाचित कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका शाहले आफू कुनै पनि हालतमा पछि नहट्ने बताउँदै आएका छन्।
कांग्रेसका १४ सांसदमध्ये संस्थापन इतर पक्षका ३ जनामात्र छन्। इतर पक्षबाट दलको नेताका लागि अहिलेसम्म कसैले दाबी गरेको छैन।