वीरेन्द्रनगर नगरपालिका–५ की ४५ वर्षीया चन्द्रा कुमारी गाहाका बुवाले दोस्रो बिहे गरेर भारत गएपछी उनकी आमालाई एक्लै घर–व्यबहार चलाउन गाह्रो भयो । उनले पाँच कक्षामै पढाई छोडिन् । चन्द्राको होटेलमा चाउमिन र मम मात्र बन्छ । तर बढीजसो ग्राहकहरू चाउमिन खान आउँछन् । दैनिक एक सय प्लेटभन्दा बढी चाउमिन उनले बिक्री गर्छिन् । सबैले ‘चन्द्राको चाउमिन’ भनेर उनको प्रशंसा गर्छन् । उनले डेढ लाख रुपैयाँको लगानीमा सुरु गरेको चाउमिन पसलबाट हाल मासिक ८० हजार रुपैयाँसम्म आम्दानी गर्छिन् । उनै गाहासँग अंगराज परियाले गरेको संघर्ष र सफलताको कुराकानी :
बाल्यकाल र विद्यार्थी जीवनलाई कसरी सम्झनुहुन्छ ?
मेरो बाल्यकाल एकदमै दुःखद रुपमा बित्यो । टन्न खाउँ भने आफ्नो जग्गा–जमिन नभएपछि मेरा बुबाआमाले ३६ वर्ष अगाडी सुर्खेतको पिपल चौतारीमा चाउमिन पसल सुरु गरे । पसल सुरु गरेको तेस्रो वर्षमा बुबाले दोस्रो बिहे गरेर भारत गएपछि आमालाई एक्लै घरव्यवहार चलाउन निकै गाह्रो भएपछि भाइबहिनी हुर्काउने र पढाउने कामको व्यस्तताले गर्दा मैंले पढ्न पाएँन र पाँच कक्षामै पढाई छोडेकी हुँ ।
विद्यार्थी जीवनमा के बन्ने लक्ष्य थियो ?
मलाई के बन्नुपर्छ भन्ने थाहा त थिएन । पारिवारीक अवस्था अगाडी राम्रो भएपनि पछाडी नाजुक अवस्थामा झर्यो । यदी मेरो इच्छा अनुसार पढ्न पाएको भए नर्स बन्ने इच्छा थियो ।
व्यवसाय नै किन रोज्नुभयो ?
बुवाले अर्की श्रीमती लिएर फरार भएपछि भाइबहिनी हुर्काउन पढाउन आमालाई एक्लै घर–व्यबहार चलाउन गाह्रो भयो, आमालाई काममा सघाउँदा सघाउँदै चाउमिन बनाउन सिक्न पाएँ । पाँच औंला जोड्नका लागि भएपनि व्यवसाय छोड्न सकिएन । ३६ वर्षअघि ६० हजार ऋण लिएर सुरु गरेको व्यवसायले परिवार चलाउनका लागि कसैलाई हात पाउ जोड्न परेन ।
थोरै लगानीबाट सफल व्यवसायी बन्न सम्भव छ ?
धेरै जनालाई लाग्न सक्छ एकदमै थोरै लगानी गरी सफल व्यवसायी बन्ने कुरा सपना जस्तै भइसक्यो । बढ्दो महङगी र अस्वस्थ प्रतिस्पर्धामा टिक्न निकै गाह्रो छ । युरोप जाने सपनामा दलाललाई बुझाएको १३ लाख रुपैयाँ फसेपछि बिदेश जाने योजना त्यागेर फेरि व्यवसाय सुरु गरेकी हुँ । मैंले सुर्खेत बजारको माग बुझेर चाउमिन पसललाई नै बढी जोड दिएर काम गर्दा सुर्खेतीहरुको चाउमिनको पहिलो रोजाई, चन्द्राको चाउमिन भयो । सबैले ‘चन्द्राको चाउमिन’ भनेर चिन्छन् यो नै मेरो खुसीको स्रोत हो, व्यवसायबाट दामभन्दा बढी नाम कमाएको मा गर्व लाग्छ । दैनिक व्यापार कस्तो चलिरहेको छ ?
मेरोे होटेलमा चाउमिन र मम मात्र बन्छ । तर ग्राहकहरू विशेषगरी चाउमिन खान आउँछन् भने दैनिक एक सय प्लेटभन्दा बढी चाउमिन बिक्री हुन्छ । कहिलेकाहीं दैनिक १० किलोग्राम चाउमिन बेच्छु । राम्रो ब्यापार हुँदा मासिक ८० हजार रुपैयाँ बचत हुन्छ । सामानको खपत राम्रो भयो भने बढीमा मासिक ८० हजार बचाउन सकिन्छ । व्यापार कम भएको समयमा पनि खर्च कटाएर ५० हजार बच्छ । दैनिक १०÷११ हजार रूपैयाँको कारोबार भएपनि ६ हजार रूपैयाँ लगानी हुन्छ र दैनिक करिब ५ हजार रूपैयाँ नाफा हुन्छ ।
भावी कार्यायोजना के छन् ?
मैले जानेको सीप अरूले सिक्न चाह्यो भने म त खुसी भएर सिकाउँछु । मसँग चाउमिन बनाउने सीप सिकेकाहरूले अहिले व्यवसाय थालेका छन् । भावी दिनमा मसंग जान्ने चाहाना गरेका सबैलाई तालिम दिने योजना बनाएको छु । अध्ययन गरेको कुरालाई बजारको मागबारे बुझाउनका लागि केही जाने बुझेका सिप सिकाउने योजना छ ।
खुलानजर । ७ फाल्गुन २०८१, बुधबार ०८:१२