सुर्खेत :जिल्ला प्रशासन कार्यालय दैलेखले भगवतीमाई गाउँपालिका –३ मेहेतोलीका कविराम कामीलाई नयाँ नागरिकता प्रदान गरेको छ ।
गृहमन्त्रालयले अपमानजनक नाम भएका नागरिकताबारे आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रशासन कार्यालयलाई पुन: नागरिकता दिन निर्देशन दिएपछि ‘कुकुर कामी ’नाम उल्लेख गरिएका कविरामलाई जिल्ला प्रशासनले नयाँ नागरिकता प्रदान गरेको हो ।
२०४६ जेठ १० गतेको गाउँमा नागरिकता टोली गएको बेलामा कविरामको नाम तत्कालीन प्रधानपञ्चको सिफारिसमा ‘कुकुर कामी’ लेखिएको थियो । यो कुरा विभिन्न सञ्चार माध्यममा आएपछि गृह मन्त्रालय र संसदको ध्यानाकर्षण भएको थियो ।
त्यसलगत्तै गृह मन्त्रालयले जिल्ला प्रशासनहरुलाई पत्राचार गर्दै अपमानजनक नाम सच्याउन निर्देशन दिएको थियो । कविरामलाई आइतबार प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले नयाँ नागरिकताको प्रमाणपत्र दिएका हुन् । नागरिकता प्रमाणपत्र लिन उनी वडा कार्यालयको सिफारिससहित प्रशासन कार्यालय पुगेका थिए ।
३३ वर्षपछि नागरिकतामा वास्तविक नाम पाएपछि खुसी लागेकाे कविरामले सुनाए । ‘नयाँ जुनी पाएको महसुस भएको छ ।’ आफ्नै नामबाट नागरिकता पाउला भन्ने सोचेकै थिइनँ, ’उनले भने । कविराको नागरिकतासँगै ‘कुकुर कामीु नाम भएका अन्य प्रमाणपत्रहरु खारेज गरिने प्रजिअ प्याकुरेलले बताए ।
खुलानजर । ५ भाद्र २०७९, आईतवार १६:३६