सितोरियो करातेका १०२ जना खेलाडी दिक्षित

सुर्खेत: सितोरियो कराते विधाका १०२ जना खेलाडी शुक्रबार दिक्षित भएका छन्। नेपाल सितोरियो कराते संघको केन्द्रीय कमिटी र कर्णाली प्रदेश कमिटीले ‘बल्याक बेल्ट’ प्राप्त गरेका ती खेलाडीहरुलाई शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरी दिक्षित गरेको हो। दिक्षित हुने सबै खेलाडी हुम्ला र डोल्पा बाहेकका कर्णालीका ८ जिल्लाका रहेको नेपाल सितोरियो कराते संघ कर्णाली प्रदेशले जनाएको छ।
दिक्षान्त समारोहमा बोल्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले अहिलेको परिवेशमा खेलकुदले नै सबैलाई एकआपसमा जोड्न मद्दत गरेको बताए। करातेका खेलाडी तथा प्रशिक्षकहरुलाई राज्यले दिनुपर्ने जति सेवासुविधा दिन नसकिएको बताउँदै उनले खेलकुदमा विनियोजित बजेट कार्यान्वयनलाई मजबुत बनाउन सरकार लागिरहेको बताए।
खेलाडीहरुको निशुल्क बीमा गर्नका लागि सरकारको तर्फबाट आफूले धाराणा राखेको मन्त्री भण्डारीले बताए। खेलकुदमा समस्या भन्दा सम्भावना बढी भएपनि समस्यालाई बढी देखाउने गरिएको उनको भनाइ छ। नेपाल सितोरियो कराते संघ कर्णाली प्रदेश अध्यक्ष हरि विष्टले खेलाडीहरुका लागि भएका समस्या समाधानमा राज्यले सहयोग गर्नुपर्ने बताए। उनले अहिलेको परिस्थितिमा अभिभावक खेलकुदका बारेमा बुझ्ने भएकाले खेलमा लाग्न चाहनेहरुलाई सहज भएको बताए।