सल्यान — सल्यानमा जंगली च्याउ खाँदा बिरामी परेका एकै घरका ४ मध्ये १ बालिकाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका ४ साइलाकम्तकी ४ वर्षीया जोशना बस्नेतको मृत्यु भएको हो । बिहीबार जंगली च्याउ खाँदा शारदा नगरपालिका ४ साइलाकम्तमा केशर ओलीको श्रीमती ४० वर्षीया मीना बस्नेत, छोरी २५ वर्षीया पबित्रा बस्नेत, ९ वर्षीय छोरा जोन बस्नेत र छोरी ४ वर्षीया जोशना बस्नेत बिरामी परेका थिए । बालिकाको जिल्ला अस्पताल सल्यानमा सामान्य उपचारपछि थप उपचारको लागि शनिबार विहान प्रदेश अस्पताल सुर्खेत ल्याईएको थियो ।
बालिकाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी गराए । उनका अनुसार जिल्ला अस्पतालबाट रिफर गरिएका बन्गाड कुपिण्डे नगरपालिका ९ जयतपानीका एकै घरका ४८ वर्षीय भूपबहादुर ओली, उनको ४५ वर्षीया श्रीमती मनकली, २३ वर्षीय छोरा प्रकाश, बुहारी २१ वर्षीय सुशीला ओली र शारदा नगरपालिका ४ साइलाकम्तका ४ गरी ८ जना थिए । जसमध्ये ७ जनाको अवस्था सामान्य रहेको उनको भनाइ छ ।
जिल्ला अस्पताल सल्यानका ईन्चार्ज तथा एमडीजीपी डा। अभिषेक सिंहले जंगली च्याउ खाएर बिरामी परेकामध्ये २ जनाको अवस्था गम्भीर भएको र तिनीहरुको डाइलसिस गर्नुपर्ने तथा आइसीयूमा भर्ना गर्नुपर्ने हुँदा जिल्ला अस्पतालमा सुविधा नभएकाले आफन्तको सल्लाहअनुसार सबैलाई रिफर गरिएको बताए ।
खुलानजर । २१ श्रावण २०७९, शनिबार १८:५२