सुर्खेत: जातीय विभेद घटनाका आरोपित दैलेख जिल्ला आठबिस नगरपालिका-६ घरभइ हाल वीरेन्द्रनगर नगरपालिका-७ बस्दै आएका ३९ वर्षीय शेरबहादुर थापालाई साेमबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेकाे छ । आरोपित थापा विरुद्ध राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल कर्णाली प्रदेश समितिले विरुद्ध ०८२ वैशाख ११ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दर्ता गरेको थियाे ।
०८२ वैशाख १० गते बेलुका बलबहादुर थापा नामक फेसबुक अकाउन्टमा ‘पिठिउ पछि कुरा काट्ने काट्दै गर तर आफै गाउँमा बसेर समाजको काम गर मन्दिरको भगवान हैन तिमिहरूलाई पुज्छु’ भन्ने स्टाटसमा आरोपित थापाले दलित समुदायमाथि जातीय विभेदजन्य शब्द ‘डुमलाई नपाल्नु’ भन्ने कमेन्ट गरेका थिए । साेही कमेन्टलाई लिएर राष्ट्रिय दलित पत्रकार सङ्घले आरोपित विरुद्ध जातीय विभेदको उजुरी दिएकाे थियाे । जातीय विभेद विरुद्धकाे उजुरी परे लगत्तै आरोपित थापा फरार रहेका थिए । आरोपित थापा लाेकान्तर डटकम नामक अनलाइनमा कर्णाली प्रदेश प्रतिनिधिका रुपमा कार्यरत थिए ।
आरोपितलाई गिरफ्तार गरेर अदालतबाट म्याद थप गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी माेहनजंग बुढथापाले जानकारी दिए ।
खुलानजर । १३ जेष्ठ २०८२, सोमबार १९:०७