सुर्खेत: नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता तथा पूर्वमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले १६ कात्तिकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको ४२ वर्षे राजनीतिक सहयात्रा टुंग्याएपछि कर्णालीमै एक्लिँदै गएका छन्। दाहालले माओवादीलाई १० वाम घटकसँगको एकता प्रक्रियामा अघि बढाएपछि जनार्दनले सम्बन्ध विच्छेद गरेर ‘प्रगतिशील अभियान नेपाल’ घोषणा गरेका थिए।
१९ कात्तिकमा १० बाम दल एकीकृत भएर ‘नेपाली कम्युनिस्ट पार्टी’ बने पनि जनार्दन त्यस प्रक्रियाबाट बाहिर रहँदै आए। नयाँ बाम पार्टीको घोषणासभामा न उनी देखिए, न एकतालाई समर्थन नै गरे। कर्णाली प्रदेश माओवादीको ऐतिहासिक गढ मानिन्छ। युद्धकालमा रुकुम–रोल्पा–कालीकोट क्षेत्र जनयुद्धको उर्वर भूमि रहँदा जनार्दन कमान्डरको भूमिकामा थिए। तर, अहिले कर्णालीका अधिकांश माओवादी नेता दाहाल पक्षमै देखिन थालेका छन्। स्वकीय सचिव तथा विश्वासपात्र मानिएका रुकुम पश्चिमका गोपाल शर्मा, कर्णाली प्रदेश अध्यक्ष विमला केसी, रुकुम संयोजक गोविन्द रोका लगायतका नेताले समेत जनार्दनको निर्णयसँग असहमति जनाउँदै दाहाल नेतृत्वको एकतालाई स्वीकार गरेका छन्।
गोपाल शर्माले भने, ‘निर्णय गर्ने स्वतन्त्रता जनार्दनको हो, तर हामी सबै आफ्नै ढंगले सोच्ने स्वतन्त्रता राख्छौं। विभाजनले पार्टी र व्यक्तिलाई कमजोर बनाउँछ।’
यस्तै, प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, उपमहासचिव शक्ति बस्नेतलगायत कर्णालीका अधिकांश शीर्ष नेता दाहालकै पक्षमा खुलेका छन्। कर्णालीमा बस्नेत र शर्मा छुट्टै गुटमा रहे पनि अन्ततः दाहालकै नेतृत्व मजबुत देखिएको छ।
गृह जिल्लामा कालो झन्डा

साबिक माओवादी केन्द्र छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका जनार्दन शर्मा पहिलो पटक गृह जिल्ला रुकुम पश्चिम पुग्दा कालो झन्डा देखाएर विरोध गरिएको छ।
आइतबार मुसिकोट–१ सल्लेमा नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ताले ‘जनार्दन शर्मा मुर्दावाद’, ‘जनतालाई धोका दिने जनार्दन मुर्दावाद’ जस्ता नारासहित उनलाई विरोध जनाए।
गृह जिल्लामा पार्टी कार्यालय उद्घाटन र अन्य कार्यक्रमका लागि पुगेका उनले स्थानीय नाराबाजीबीच यात्रा जारी राखे।
भौतिक संरचनाको भागबन्डा
रुकुम पश्चिममा पूर्व माओवादी केन्द्रले प्रयोग गर्दै आएका भौतिक संरचना औपचारिक रूपमा ‘नेपाली कम्युनिस्ट पार्टी’ (नेकपा) र ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ (प्रलोपा) बीच बाँडफाँड गरिएको छ। मुसिकोट–५ सेरिगाउँस्थित शहीद स्मृति प्रतिष्ठान र ईस्कन्द–नर्मदा फाउण्डेशन परिसरभित्रका भवन नेपाली कम्युनिस्ट पार्टीले प्रयोग गर्नेछन्।
खलङ्गा बजारस्थित ईस्कन्द–नर्मदा स्मृति फाउण्डेशनको भवन भने प्रगतिशील लोकतान्त्रिक पार्टीले उपयोग गर्नेछ।
सहमतिमा नेकपा रुकुम पश्चिमका संयोजक गोविन्द रोका र प्रलोपा संयोजक गोर्खबहादुर केसीले हस्ताक्षर गरेका छन्।
जनार्दनको भविष्य अन्योलमै
२०३४ सालदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय जनार्दन शर्मा युद्धकालमा माओवादी जनमुक्ति सेनाका महत्त्वपूर्ण कमान्डर थिए। उनले गृह, अर्थ, ऊर्जा, शान्ति तथा पुनर्निर्माणलगायत महत्वपूर्ण मन्त्रालय सम्हालेका छन्। तर, दाहालसँगको सम्बन्ध विच्छेदनपछि उनको भावी राजनीतिक यात्राप्रति कर्णालीका धेरै नेताले शंका व्यक्त गरिरहेका छन्।
युद्धकालदेखि दाहालसँगै रहेकाहरू बाबुराम भट्टराई, मोहन वैद्य, रामबहादुर थापा ‘बादल’, नेत्रविक्रम चन्द, सीपी गजुरेललगायत नेताहरू पहिले नै अलग भईसकेका छन्। अब फेरि एक शक्तिशाली नेता जनार्दनको बिदाइपछि दाहालको नयाँ यात्रा कहाँ पुग्ला, र जनार्दनको नयाँ अभियान कहाँ टिक्ला, दुवै प्रश्न अहिले अनुत्तरित छन्।

जगतदल जनाला विक । २३ मंसिर २०८२, सोमबार १०:१६