कालिकोट: चैत १९ – कालिकोटको पचालझरना गाउँपालिकामा संचालित विपद् जोखिम तथा जलवायु परिवर्तन बिरुद्ध अनुकूलन क्षमतामा सशक्तिकरण मार्फत उत्थानशील समाज निर्माण (BREAD) परियोजनाको संयुक्त अनुगमन कार्यक्रम चैत १७ र १८ गते सम्पन्न भएको छ।
पचालझरना गाउँपालिका र साझेदार संस्था आई.एन.एफ नेपाल शाखा कालिकोट द्वारा संचालित उक्त परियोजनाको आर्थिक वर्ष ०८१/०८२ मा सञ्चालित योजनाहरुको अनुगमन गरिएको हो। अनुगमन कार्यक्रममा गाउँपालिका अध्यक्ष देबराज शाही, प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर बम, वडा नं. ८ का अध्यक्ष जयराम टमटा, वडा नं. ९ का अध्यक्ष ललितजंग शाही, वडा नं. ४ का अध्यक्ष अनुरुप रोकाया, आई.एन.एफ नेपाल पचालझरना शाखा प्रमुख शैलेन्द्र बिष्ट लगायत विभिन्न शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो।
गाउँपालिका भित्र भइरहेका विकास योजनाहरुको स्थलगत अनुगमन गर्दै, परियोजनाका उपलब्धिहरूको मूल्यांकन गरिएको थियो। वडा नं. ४, ७, ८, र ९ मा सञ्चालित योजनाहरुको अनुगमन गर्दै सेवाग्राहीहरूसँग सुझाव संकलन गरिएको र समुदायसँग अन्तरक्रिया गरिएको आई.एन.एफ नेपाल पचालझरना शाखा प्रमुख बिष्टले बताए।
अनुगमनका क्रममा कृषि, पशुपालन, सिँचाइ, रोजगारी तथा उद्यमशीलता प्रवर्द्धनका विभिन्न योजनाहरूको प्रभावकारिता मूल्यांकन गरिएको थियो। समुदायका लागि प्रदान गरिएका तरकारी बीउ बिजन, अर्गानिक उत्पादन प्रवर्द्धन तालिम, हाईटेक नर्सरी, पोलिहाउस, समूहमा वितरण गरिएका बाख्रा, सिँचाइ कुलो तथा पोखरी निर्माण योजनाहरुको अवस्थाबारे स्थानीय सरकार र परियोजना टिमले अवलोकन गरे।
यस परियोजनाबाट स्थानीय जनताहरू प्रत्यक्ष रूपमा लाभान्वित भएको तथा उनीहरूको आर्थिक तथा सामाजिक जीवनमा सुधार आएको सेवाग्राहीहरूको प्रतिक्रिया रहेको छ। वडा नं. ८ की अंखु जैसीका अनुसार, आई.एन.एफको सहयोगमा निर्मित पोलिहाउस तथा कृषि उपज उत्पादनले समुदायलाई आत्मनिर्भर बनाएको छ।
गाउँपालिका प्रमुख देबराज शाहीले परियोजनाले स्थानीय सरकारसँग सहकार्य गर्दै अगाडि बढिरहेको र छिट्टै केतुके तथा भाङो/अल्लो प्रशोधन गर्ने मेसिनहरू ल्याइने जानकारी गराए। आई.एन.एफ नेपाल पचालझरना शाखाका BREAD परियोजना प्रमुख शैलेन्द्र बिष्टले कार्यक्रमको उद्देश्य तथा उपलब्धिहरूबारे जानकारी गराउँदै आगामी योजनाबारे जानकारी गराए।
खुलानजर । १७ चैत्र २०८१, सोमबार २०:०५