पुराना सहयात्री चुनावी मैदानमा, कसकाे सम्भावना कति ?


सुर्खेत: आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माघ ६ गते उमेदवारी दर्तासँगै राजनीतिक दलहरू चुनावी अभियानलाई तिब्र बनाएर लागेका छन् ।
कर्णाली प्रदेशमा केही राजनीतिक दलले आफ्नो ‘हेभीवेट’ नेताको टिकट बदलेर नयाँ उमेदवारलाई अवसर दिएका छन् । केही ‘हेभीवेट’ नेताहरू टिकटबाट वञ्चित भए । यसरी वञ्चित हुनेमा नेकपा (एमाले)का नेता निरजप्रसाद आचार्य, विष्णु रिजाल र दल रावल छन् ।
नेपाली कांग्रेसका ‘हेभीवेट’ नेताहरू निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र हृदयराम थानीले पार्टीको विशेष महाधिवेशनपश्चात् विभिन्न कारण देखाउँदै आफूहरू चनावी मैदानमा नजाने घोषणा गरे ।
२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनका बेला कांग्रेसको साथ पाएर निर्वाचित पूर्वमाओवादी धारका तीन ‘हेभीवेट’ नेताहरू यसपालि एकल रूपमा चुनावी मैदानमा छन् ।
योपटक चुनावी मैदानमा जाने पूर्वमाओवादी धारका ‘हेभीवेट’ नेताहरूमा रुकुम पश्चिमबाट जनार्दन शर्मा, जाजरकोटबाट शक्तिबहादुर बस्नेत र कालीकोटबाट महेन्द्रबहादुर शाही छन् । यी तीनै नेता माओवादी द्वन्द्वकालमा एउटै मोर्चाका सहयात्री हुन् ।
शाही तत्कालीन अवस्थामा माओवादी लडाकुको डिभिजन कमान्डर थिए । बस्नेत कमिसार र शर्मा डेपुटी कमान्डर थिए ।
जनार्दन शर्मा पटक–पटक रुकुम पश्चिमबाट निर्वाचित भएर संघीय सरकारको गृह, अर्थसहित विभिन्न मन्त्री भइसकेका व्यक्ति हुन् । शक्ति बस्नेत पनि जाजरकोटबाट निरन्तर निर्वाचित हुँदै स्वास्थ्य, वन र गृहमन्त्री भइसकेको व्यक्ति हुन् । महेन्द्रबहादुर शाही भने संघीय सरकारको ऊर्जामन्त्री र कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री भइसकेका व्यक्ति हुन् ।
यी तीनैजना कुनै बेला एउटै संगठनका सहयात्री भए पनि यति बेला शाही र बस्नेत नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता छन् । शर्मा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट छुट्टिएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकका रूपमा छन् ।

जनार्दन शर्मा
०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनार्दन शर्मा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा रुकुम पश्चिमबाट ३९ हजार ५ सय ४९ मत ल्याएर निर्वाचित भएका थिए । यसपालि शर्मा प्रलोपाको संरक्षकका रूपमा चुनावी मैदानमा छन् ।
त्यति बेला रुकुम पश्चिममा शर्मालाई साथ दिएका अधिकांश नेताहरू हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा आबद्ध छन् । नेकपा एमालेले उनलाई समर्थन गर्दै चुनावी मैदानमा हाेमिँदा शर्मालाई प्रत्येक पटक चुनाव जिताउन कमान्डरका रूपमा खटिएका गोपाल शर्मा अहिले उनकै प्रतिस्पर्धी उमेदवार छन् ।

महेन्द्रबहादुर शाही
०७० सालको दोस्रो संविधानसभा निर्वाचन, ०७४ को प्रदेशसभा सदस्य चुनाव र ०७९ को प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित हुँदै आएका नेकपाका प्रभावशाली नेता महेन्द्रबहादुर शाही यसपटक पनि प्रतिस्पर्धामा छन् ।
कालीकोटबाट तीनपटक निर्वाचित शाही संघीय सरकारको ऊर्जामन्त्री र कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री भइसकेका नेता हुन् । ०७० को दोस्रो संविधानसभा निर्वाचनका बेला तत्कालीन नेकपा (माआवादी) विभाजित भयो । उक्त समयमा शाही माओवादी लडाकु डिभिजन कमान्डर थिए ।
पार्टी विभाजन हुँदा माओवादी द्वन्द्वकालका सिनियर खड्गबहादुर विश्वकर्मा, भरत बम, नवीन विश्वकर्मा, धनजित शाही, एटम बिसी, धिरिन्द्रा उपाध्यायलगायत नेताहरू मोहन वैद्यतिर लाग्दा कालीकोटमा माओवादी लगभग शून्य अवस्थामा थियो । उक्त चुनौतीका बाबजुद शाहीले कांग्रेसका उमेदवार भुपेन्द्रजंग शाहीलाई हराउँदै निर्वाचित थिए ।
०७९ को प्रतिनिधिसभा निर्वाचनमा शाहीलाई कांग्रेस र नेकपा (एकीकृत समाजवादी¬)ले समर्थन गरेका थिए । र, उनले २३ हजार ७२६ मत ल्याएर एमालेका नगीन्द्र शाहीलाई पराजित गरेका थिए ।
कालीकोटमा कांग्रेसका उमेदवार हर्षबहादुर बमविरुद्ध पनि बागी उमेदवारी थियाे । कांग्रेसकै भुपेन्द्रजंग शाहीले बागी उमेदवारी फिर्ता लिइसकेका छन् ।

शक्तिबहादुर बस्नेत
नेकपाका शक्तिबहादुर बस्नेतलाई यसपालि निर्वाचन जित्न सजिलो छैन । उनले टिकट पाएसँगै पार्टीका जिल्ला इन्चार्ज गणेशप्रसाद सिंहले नेकपा परित्याग गरिसकेका छन् । जिल्लामा अरू केही नेता–कार्यकर्ता पनि उनको उमेदवारीप्रति रुष्ट छन् ।
०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा बस्नेत ३४ हजार १ सय ५१ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका निरजप्रसाद आचार्यले २५ हजार १ सय २० मत पाएका थिए ।

खड्गबहादुर विश्वकर्मा
०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा कालीकोटबाट २७ हजारभन्दा बढी मत ल्याएर निर्वाचित नेकपा (माओवादी)का स्थायी कमिटी सदस्य खड्गबहादुर विश्वकर्माले पछिल्लो समय संसदीय राजनीतिको विरोध गर्दै आएका थिए । यसपालि भने उनी चुनावी प्रतिस्पर्धामा छन् । उनको पार्टीले विश्वकर्माको नेतृत्वमा निर्वाचनमा भाग लिने निर्णय गरेको थियो ।
०७९ को स्थानीय तह निर्वाचनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी नेकपाले स्वतन्त्र रूपमा उमेदवार उठाएको थियो । त्यति बेला कालीकोटका नौमध्ये आठ स्थानीय तहमा नेकपाले स्वतन्त्र उमेदवारलाई प्रतिस्पर्धा गराएको थियो ।
विश्वकर्माको पार्टीले पहिलो संविधानसभा निर्वाचनभन्दा पछिका सबै चुनाव बहिष्कार गरेको थियो । ०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र रूपमा भाग लिँदा उनको पार्टीले कुल तीन हजार ९ सय २८ मत पाएको थियो । यो संख्या गाउँपालिका अध्यक्ष/उपाध्यक्ष र नगरपालिका प्रमुख/उपप्रमुखको जम्मा मत हो ।