
सुर्खेत: पञ्चपुरी नगरपालिका–९ विद्यापुरस्थित विद्यापुर जनता बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रका लागि भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गर्दै स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। क्याम्पसले आयोजना गरेको उक्त कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा लक्ष्मी बयकको उपस्थिति रहेको थियो भने सभापतित्व क्याम्पसका सभापति चेतन नेपालीले गरेका थिए । यसैगरी, अतिथिहरूमा सीता वन लगायत अन्य शिक्षक तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लक्ष्मी बयकले विद्यार्थीहरूलाई अनुशासन, निरन्तर मेहनत र स्पष्ट लक्ष्यका साथ अध्ययनमा लाग्न आग्रह गरे। उनले शिक्षा नै व्यक्तिको भविष्य निर्माण गर्ने मुख्य आधार भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए।
त्यसैगरी, सभापति चेतन नेपालीले क्याम्पसले गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा विशेष ध्यान दिइरहेको जानकारी दिए। उनले नवआगन्तुक विद्यार्थीहरूलाई क्याम्पस परिवारमा स्वागत गर्दै सफल र उज्ज्वल शैक्षिक यात्राको कामना गरे।
कार्यक्रममा शिक्षकहरू मिना वन र डिल्ली भण्डारीले पनि विद्यार्थीहरूलाई अध्ययन जीवन सफल बनाउन निरन्तर प्रयास गर्न प्रेरित गर्दै शुभकामना व्यक्त गरेका थिए।
नयाँ विद्यार्थीहरूलाई प्रोत्साहन र प्रेरणा दिने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको क्याम्पसले जनाएको छ।

खुलानजर । १९ चैत्र २०८२, बिहीबार ०८:५४