सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले सार्वजनिक सेवाको गुणस्तरीय अभिवृद्धि गर्न नगरस्तरीय सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ। सुशासन प्रवर्द्धनका लागि युवा संस्थाको सहजिकरणमा आयोजित कार्यक्रममा नगर प्रमुख मोहनमाया ढकाल, उपप्रमुख नीलकण्ठ खनाल, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटा, नगरपालिकाका १६ वटै वडाका अध्यक्षहरू तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा नगरवासीहरूले सार्वजनिक सेवाका विभिन्न पक्षमा आएका समस्या, सुधारका उपाय तथा जनअपेक्षाका विषयमा आफ्ना धारणा राखेका थिए। नगर प्रमुख ढकालले नगरपालिकाले जनअपेक्षाअनुसार सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन प्रतिवद्ध रहेको बताइन्। उपप्रमुख खनालले सार्वजनिक सेवा पारदर्शी र सहज बनाउन स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको भन्दै नागरिकको सहकार्य आवश्यक रहेको उल्लेख गरे। प्रमुख प्रशासकीय अधिकृत बाँस्काेटाले नगरबाट यहप आर्थिक वर्षमा भएका कामहरुकाे संक्षिप्त जानकारी दिएका थिए ।
कार्यक्रममा सुशासन प्रवर्द्धनका लागि युवा संस्थाले नगरका एक सय जना सेवाग्राहीसँग नगरले दिएका सेवाका विषयमा गरिएको स्थलगत अध्ययन समेत प्रस्तुतिकरण गरिएको थियाे। कार्यक्रमकाे सञ्चालन संस्थाका निर्देशक घनश्याम केसीले गरेका थिए। सहभागीहरूले स्वास्थ्य, शिक्षा, सरसफाइ, खानेपानी, सडक लगायतका विषयमा आफ्ना समस्या तथा सुझाव प्रस्तुत गरेका थिए। नगरपालिकाले यस्ता सुनुवाइलाई निरन्तरता दिँदै आएकाे बताउँदै उठेका विषयहरूको समाधानका लागि सम्बद्ध निकायसँग समन्वय गर्ने प्रतिवद्दता जनाएको छ।
खुलानजर । १८ माघ २०८१, शुक्रबार १९:५२