वीरेन्द्रनगरको मेयरकाे यस्ताे छ जाेड -घटाउ !


सुर्खेत: सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयर पदका लागि १७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
प्रदेशको राजधानी समेत भएकोले यहाँको नेतृत्वमा कसले बाजी मार्ला ? भन्ने कौतुहल्ता आम नागरिकमा छ ।
सत्तारुढ गठबन्धनबीच तालमेल गरेर निर्वाचनमा जाने सहमति भए पनि भागबण्डा नमिलेपछि अन्तिममा दलहरु एक्लाएक्लै उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा उत्रिएका छन् ।
वीरेन्द्रनगर नगरपालिकाको मेयरमा नेकपा एमालेबाट मोहनमाया ढकाल, काँग्रेसबाट उपेन्द्र खड्का, माओवादी केन्द्रबाट राजेन्द्र गिरी, नेकपा एकीकृत समाजवादीबाट धना शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मुकुन्दश्याम गिरीले उम्मेदवारी दिएका छन् । ढकाल वीरेन्द्रनगरकी निवर्तमान उपप्रमुख हुन् भने खड्का नेपाली कांग्रेस वीरेन्द्रनगरका सभापति हुन् । गिरी पार्टीको जिल्ला स्थित नेतृत्वमा छन् । भने शाही समाजवादीको कर्णाली प्रदेश सदस्य हुन् । यस्तै गिरी राप्रापाका केन्द्रीय उपाध्यक्ष र तत्कालीन वीरेन्द्रनगरको प्रधानपञ्च र मेयर भइसकेका व्यक्ति हुन् ।
यस्तै जनता समाजवादी पार्टीबाट गगन ब. सारु, राष्ट्रिय जनमोर्चाबाट विष्णुप्रसाद शर्मा, नेमकिपाबाट गोविन्दनाथ योगी, राष्ट्रिय नागरिक पार्टीबाट टीकाराम रेग्मी, नेपाल दलित पार्टीबाट निलकन्ठ भुसालले मेयरमा उम्मेदवारी दिएका छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट टंकप्रसाद रेग्मी, नेपाल परिवार दलबाट दिनेश प्रसाद काफ्ले, स्वतन्त्रबाट फस्ट बहादुर हमाल, चिन्तामणि शर्मा, भिमप्रसाद शर्मा, सिद्धबहादुर खड्का र उमा नन्द पङ्गालीले मेयरमा उम्मेदवारी दिएका छन् ।
यस्तो छ जोड घटाउ
२०७४ को स्थानीय तह निर्वाचनमा वीरेन्द्रनगरको मेयरमा नेपाली काँग्रेसका देवकुमार सुवेदी र उपमेयरमा एमालेकी ढकालले जितेका थिए ।
२०७४ को निर्वाचनमा नेपाली काँग्रेसका देवकुमार सुवेदीले १४ हजार ४०५ मत ल्याएर विजयी बन्दा उनका प्रतिद्धन्द्धी एमालेका बालाराम शर्माले १३ हजार ८९९ मत प्राप्त गरेका थिए । सुवेदीले शर्मालाई ५०६ मतान्तरले पराजित गरेका थिए । यस्तै उपप्रमुखमा नेकपा एमालेकी मोहनमाया ढकाल १३ हजार ८९९ मत ल्याएर उपमेयर बनिन् ।
अहिले नेकपा एमाले विभाजन भएका कारण पनि काँग्रेसले यो पालिकामा आफ्नो जित सहज हुने आकलन गर्दै सत्तारुढ गठबन्धनबीच भागबण्डाका लागि चासो देखाएको छैन । अहिलेसम्म पनि सत्तागठबन्धनबिच सहकार्यको सहमति सुर्खेतमा हुन सकेको छैन ।
२०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा थियो । माओवादीका रत्नबहादुर गाहा मगरले मेयरमा ५ हजार २३७ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार गेहेन्द्रप्रसाद दहालले १ हजार ८९४, राष्ट्रिय प्रजातन्त्र पार्टीका ईश्वरकुमार श्रेष्ठले ५५७, नेपाल मजदुर किसान पार्टीका शेरबहादुर शाहीले १६६, राष्ट्रिय जनमोर्चाका गोविन्दप्रसाद सुवेदीले १८८ मत प्राप्त गरेका थिए ।
१६ वटा वडा भएको वीरेन्द्रनगरमा ६ वटा वडा कांग्रेसले जितेको थियो भने ९ वटा वडा एमाले र एउटा वडा माओवादीले जितेको थियो । त्यो समयमा वीरेन्द्रनगर नगरपालिकामा ५० हजार ६३७ मतदाता थिए । अहिले ३१ हजार ६७९ पुरुष र ३५ हजार ३७७ महिला गरी जम्मा ६७ हजार ५६ मतदाता छन् । यस्तै २७ मतदानस्थल र ७५ वटा मतदान केन्द्र रहेका छन् ।
२०७४ मा नेपाली काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा भएको वीरेन्द्रनगरमा यो पटक पनि काँग्रेस–एमालेबीच नै प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।
कांग्रेसलाई इतर, एमालेलाई समाजवादीको डर
२०७४ सालको निर्वाचन परिणामको तुलनामा अहिले एमाले विभाजन भइसकेको र नेपाली काँग्रेसभित्र समेत गुटबन्दी चर्किएको हुँदा पनि निर्वाचनमा दलहरुको मतमा अस्वाभाविक फेरबदल हुन सक्ने राजनीतिक वृतमा चर्चा चलेको छ ।
वीरेन्द्रनगरको मेयरमा काँग्रेसले संस्थापन पक्षका उपेन्द्र खड्कालाई उम्मेदवार बनाएकोमा इत्तर पक्ष असन्तुष्ट देखिएको छ ।
जिल्लामा काँग्रेसका केन्द्रीय उपसभापति पुर्णबहादुर खड्का र निवर्तमान केन्द्रीय सदस्य हृदयरामी थानी गरी दुई पक्षमा काँग्रेस विभाजित छ । यसअघि नै थानी पक्षले उम्मेदवारीमा ४० प्रतिशत हिस्सा माग गरेको थियो । सोही हिस्सा नमिल्ने भएपछि आफ्नो समुहबाट मेयरमा सिरफारिस भएका नारायण कोइराला र भुपेन्द्र खत्रीलाई इतर पक्षले सिफारिस फिर्ता लिन पठाएको थियो ।
अहिले वीरेन्द्रनगरमा इतर समुहको प्रतिनिधत्व शुन्यजस्तै बनेको छ । इतर समुहले अब चुनावमा फरक किसिमको माहोल बनाएर असहयोग गर्न सक्ने संस्थापन पक्षले संका मानेको छ ।
यस्तै एमालेभित्र पनि पार्टीकै कार्यकर्ता एवं सुर्खेतका व्यवसायी चिन्तामणि शर्माले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारीका कारण एमालेको केही भोट काटिने आकलन गरिएको छ । एमालेबाटै विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले पनि मतहरु काट्ने छ ।