सुर्खेत: सुर्खेतको सिम्ता गाउँपालिका–३ का वडाअध्यक्ष लोकबहादुर शाहीले आफ्नै भाइ बुहारी पर्नेसँग गरिएको अश्लिल कुराकानी बाहिरिएपछि स्थानीयले उनको राजीनामा माग गर्दै वडा कार्यालयमा ताला लगाएका छन् ।
एमालेबाट निर्वाचित वडाध्यक्ष शाहीले भाई बुहारी नाता पर्ने एक महिलासँग गरिएको अश्लिल कुराकानी एकाएक सामाजिक सञ्जालमा भाइरल बनेपछि स्थानीय र नागरिक समाज संस्थाका अगुवाहरुले वडाअध्यक्षको राजीनामा माग्दै वडा कार्यालयमा ताला लगाएका हुन् ।
‘वडाअध्यक्ष जस्तो जननिर्वाचित व्यक्तिले आफ्नै १३ दिने भाई बुहारीसँग गरिएको अश्लिल कुराकानीले समाजमा गलत हर्कत गरेकोले नैतिकताको आधारमा उहाँले राजीनामा दिनुपर्छ,’स्थानीय श्याम शाहीले भने, ‘उहाँले राजीनामा नदिँदासम्म वडा कार्यालयको ताला खुल्दैन ।’
यस विषयमा वडाअध्यक्ष शाहीसँग कुराकानी मोबाइल अफ थियो । स्थानीयका अनुसार यो अडियो कुराकानी बाहिरिएपछि वडाध्यक्ष शाही सम्पर्कविहिन भएका हुन् ।
यसअघि पनि वडाअध्यक्ष शाहीले गाउँकै वादी समुदायकी एक युवतीमाथि जबरजस्ती करणी गरेको आरोप थियो । यद्यपी यो घटना गाउँघरमै मिलापत्रमा टुङ्ग्याइएको थियो । वडाअध्यक्ष भएको केही महिनाभित्रै उनका दुईवटा काण्ड बाहिरिएका हुन् ।
वडाध्यक्ष शाहीले नैतिकताका आधारमा राजीनामा नदिए सामूहिक रूपमा मुद्दा प्रक्रियामा अगाडी बढ्ने स्थानीयले चेतावनी दिएका छन् ।
स्थानीयले विज्ञप्ति नै निकालेर अध्यक्षले राजीनामा दिनुपर्ने र प्रशासनले उनीमाथि छानबिन गर्नुपर्ने माग गरेका छन् । यद्यपी यस विषयमा प्रशासनले भने कुनै प्रक्रिया अगाडी नबढाएको स्थानीयले गुनासो गरेका छन् ।
वडा कार्यालयमा ताला लाग्दा वडामा दैनिक हुने कामकाजहरु ठप्प भएका छन् । जसबाट सेवाग्राहीलाई प्रत्यक्ष असर परेको छ ।
खुलानजर । २२ भाद्र २०७९, बुधबार १७:२०