सिलाई व्यवसायलाई बालिघरे प्रथाबाट व्यवसायीक बनाएका लोकेन्द्र


बुवा केबल दमाई र आमा बिर्मी दमाईको कोखबाट २०४० सालमा बर्दिया जन्मिएका लोकेन्द्र परियार सल्यानको बागचौर नगरपालिका थारमारेका स्थायी बासिन्दा हुन् । काठमाडौंमा गरेको लामो समयको मेहनतबाट जम्मा गरेको ११ लाख रुपैयाँबाट व्यवसाय सुरुवात गरेका उनी सुर्खेतको वीरेन्द्रनगरमा रहेको ‘भ्याली काठमाडौं टेलर्स’का सञ्चालक हुन् । हाल गार्मेन्टमा ११ जना कर्मचारी छन् । टेलर्समा कोट–पाइन्ट सिलाउने ५ जना दक्ष कालीगड छन् । अहिले उनको करिब १ करोड बराबरको रेडिमेड कपडाको स्टक छ । महिनामा उनले दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । उनै परियारसँग अंगराज परियारले गरेको संघर्ष र सफलताका कुरा :

बाल्यकाल र विद्यार्थी जीवनलाई कसरी सम्झनुहुन्छ ?
मेरो बाल्यकाल निकै दुःखद् थियो । बुबाआमा बालिघरे काम गर्नुहुन्थ्यो । हामी अर्काको काम गरेर बाँच्थ्यौं । गाउँमा जातीय विभेद निकै थियो । स्कुल जाँदा गैरदलित साथीहरूले खानेकुरा छुन दिंदैनथे, सँगै बस्न समेत दिन्थेनन् । कहिलेकाहीँ घर बोलाए पनि खाना खाएपछि थाल आफैंले धुनुपथ्र्यो । विद्यालय पनि टाढा थियो । हिंडेरै जानुपथ्र्यो । बुबाले सिलाई गरेर घर चलाउनुहुन्थ्यो । तर, तलब नगदमा होइन अन्नमा दिने चलन थियो । हाम्रो घरमा जग्गा जमिन थिएन । परिवार ठूलो थियो, त्यसैले बाँच्न निकै संघर्ष गर्नु परेको थियो ।

विद्यार्थी जीवनमा के बन्ने लक्ष्य थियो ?
खासै ठोस लक्ष्य थिएन । तर सधैं लाग्थ्यो कुनै सम्मानित जागिर खानुपर्छ । बुबाआमा सिलाई गर्थे । तर गाउँलेले ‘दमाई’ भनेर हेपिएको देखेपछि सिलाई पेशा नअपनाउने अठोट थियो । शिक्षक बन्ने चाहना थियो । गरिबी र पारिवारिक समस्याले गर्दा एसएलसी पनि पास गर्न सकिनँ । १५ वर्षको उमेरमा नौ महिने प्रौढ शिक्षा पढाएको थिएँ । पछि आएर उही पुरानै व्यवसायमा फर्किएँ ।

फेरि यही पेशामा किन फर्किनुभयो ?
यो पनि रोचक मोड बन्यो मेरो लागि । २०५७ सालमा मेरो विवाह भयो । ससुराली परिवारले २०४५ सालदेखि काठमाडौंमा टेलर्स चलाउँदै आउनुभएको थियो । एकपटक उहाँहरूसँग काठमाडौं घुम्न जाँदा देखेँ गाउँमा जस्तो हेप्ने व्यवहार त्यहाँ थिएन । बरु सम्मान पाइन्थ्यो, राम्रो आम्दानी पनि हुन्थ्यो । त्यसपछि लाग्यो यो व्यवसायलाई आधुनिक ढंगले अगाडि बढाउन सके विभेदबाट मुक्त भइन्छ भन्ने मनमा लाग्यो अनि यहि पेसामा रमाएँ ।
सुर्खेतमा व्यवसाय कसरी सुरु गर्नुभयो ?
मेरो भाई रुकुममा सिलाई व्यवसाय गर्थे । भाईकै सल्लाहमा २०७४ सालतिर हामी दुबै जना सुर्खेत आयौँ । सुरुमा यहाँको बजार, सेवा र प्रतिस्पर्धाको अवस्था बुझ्न खोज्यौँ । सुर्खेतको माहोल बुझ्दा त्यति धेरै गुणस्तर सेवा पाइएको थिएन । मैले दावाका साथ भन्न चाहन्छु अहिले पनि सुर्खेतमा पूर्ण रूपमा गुणस्तरीय सिलाई सेवा दिने अवस्था छैन । यहाँ दक्ष जनशक्तिको समेत अभाव थियो । यही सम्भावना र सुधारको अवसर देखेर मैले भ्याली काठमाडौं टेलर्स नाममा व्यवसाय सुरु गरेँ । काठमाडौंमा गरेको लामो समयको मेहनतबाट जम्मा गरेको ११ लाख रुपैयाँ नै लगानी गरेर व्यवसाय सुरुवात गरेँ । कोरोना महामारीले व्यवसायमा ठूलो धक्का पु¥यायो । पसल बन्द भयो । आम्दानी रोकियो, चलाउन निकै गाह्रो भयो । तर त्यो कठिन समय पार गरेर अहिले स्थिति निकै सुधारिएको छ । हाल गार्मेन्ट विभागमा ११ जना कर्मचारी छन् भने टेलर्समा कोट–पाइन्ट सिलाउने ५ जना दक्ष कालीगड छन् । अहिले करिब एब करोड बराबरको रेडिमेड कपडा स्टक छ ।

व्यवसाय गर्दा के–के चुनौतीहरू छन् ?
चुनौती त धेरै छन् । सुरुमा जातीय दृष्टिकोणको कारणले विश्वास गर्न नचाहने धेरै भेटिए । दमाईले के व्यवसाय चलाउँछ ? भन्ने मानसिकता अझै कतैकतै बाँकी छ । त्यसैले सुरुवातमै आफूलाई प्रमाणित गर्न धेरै मेहनत गर्नुप¥यो ।
त्यसपछि अर्को चुनौती हो, गुणस्तरीय सेवा छ । ग्राहकलाई सन्तुष्ट पार्ने खालको डिजाइन, कपडाको क्वालिटी, मूल्यको सन्तुलन र समयमै डेलिभरी यी सबैमा निरन्तर मेहनत गर्नुपर्छ । कर्मचारी व्यवस्थापन गर्न पनि सजिलो छैन । दक्ष जनशक्तिको अभाव छ । तालिम दिनुपर्छ, तलब र कामको सन्तुलन मिलाउनुपर्छ । समय व्यवस्थापन, ग्राहकको माग बुझेर काम गर्नु सबै चुनौतीपूर्ण हुन्छ । त्यसमा पनि कोरोना महामारी आयो । त्यो समय व्यवसायिक जीवनकै सबैभन्दा कठिन क्षण थियो । पसल बन्द भयो, आम्दानी शून्य भयो। कामदारलाई सम्झाएर राख्न, भाडा तिर्न, परिवार पाल्न निकै कठिन भयो ।
अबको योजना के छ?
मेरो मुख्य लक्ष्य छ सिलाई व्यवसायलाई आधुनिक गार्मेन्ट उद्योगको रूपमा विकास गर्ने । सुर्खेतमा उत्पादन, रोजगारी र सम्मानको एक केन्द्र बनाउने चाहना छ । गाउँमा जसरी दमाई भनेर हेपिन्थ्यो । अब त्यो सोचलाई मेटाउनुपर्छ । सीपमा जात हुँदैन, मेहनतमा पहिचान हुन्छ भन्ने सन्देश दिन चाहन्छु । ग्राहकले पनि गुणस्तरको सेवा पाउन । भविष्यमा आफ्नै ब्रान्ड तयार गर्ने योजना पनि छ ।