सुर्खेत उद्योग वाणिज्य संघले बुझायो गभर्नरलाई विरोध पत्र

सुर्खेत: सुर्खेत उद्योग वाणिज्य संघले नेपाल राष्ट्र बैंकले जारी गरेको चालू पूँजी मार्गदर्शन २०७९ परिमार्जन गर्न माग गरेको छ ।
नेपाल राष्ट्र बैंकको सुर्खेत कार्यालयमार्फत गभर्नरलाई बुधबार विरोधपत्र बुझाउँदै संघले भदौ ७ गते जारी भएको चालू पूँजी मार्गदर्शनले उद्यम व्यवसायमा प्रतिकूल असरपर्ने भन्दै यस्तो माग गरेको हो ।

चरम् आर्थिक संकटका बेला निजी क्षेत्रलाई अनुदानका साथै प्रोत्साहन गर्ने नीति अवलम्वन गर्नुपर्नेमा झनै कमजोर र धराशायी बनाउने गरी कर्जा प्रवाहमा संकुचन गरी उत्पादनमूलक उद्योग र व्यवसायको लागि चालु पुँजी कर्जाको सीमा निर्धारणमा फरक गर्नेगरी राखिएका विभेदकारी प्रावधानमा राखिएको भन्दै असन्तुष्टि जनाएको छ ।

महाभूकम्पदेखि कोभिडकाल हुँदै पछिल्लो समय रुस युक्रेन युद्धका कारण खल्बलिएको अर्थतन्त्रलाई सम्हाल्नका लागि निजी क्षेत्रलाई थप सबल बनाउन उद्योगको प्रकृतिअनुसार फरक चालु पुँजी रकम आवश्यक पर्ने हुँदा २ करोड भन्दा बढी चालू पूँजी कर्जाको सीमा निर्धारण गर्दा २५ प्रतिशत मात्र गरिनु व्यवहारिक नहुने संघले जनाएको छ ।
पछिल्लो आर्थिक संकटका कारण टाट पल्टिने अवस्थामा पुग्न लागेको अवस्थामा २५ प्रतिशत कर्जा सीमाले व्यवसाय सञ्चालनमा मात्र नभई उद्योगको क्षमतामासमेत गम्भीर असर पार्नेे चिन्ताको विषय भएको भन्दै परिमार्जन गर्न आग्रह गरिएको छ ।
यसैगरी अधिविकर्ष (ओभरड्राफ्ट) कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जालगायत जुनसुकै शीर्षकका व्यक्तिगत प्रयोजनका कर्जाहरू प्रति व्यक्ति ५० लाख रुपैयाँसम्म मात्र प्रवाह गर्न सकिने र घरजग्गा धितो राखी कर्जा प्रवाह गर्दा ४० प्रतिशत मूल्यसम्म हुने गरि मात्र कर्जा दिने प्रावधानले जिल्लागत व्यवसाय निरुत्साहित मात्र नभई बन्द गर्नुपर्ने अवस्था निम्तिने संघको चेतावनी छ ।
अध्यक्ष लक्ष्मण कंडेलको नेतृत्वमा निवर्तमान अध्यक्ष धनबहादुर रावत, महासचिव भद्र भण्डारीसहितको टोलीले विरोधपत्र बुझाएको बताइएको छ ।