रेक्चामावासीलाई पानी दिन उच्च अदालतद्धारा विपक्षीको नाममा परमादेश


सुर्खेत:  उच्च अदालत सुर्खेतले वर्षौदेखि खानेपानीको अभाव भोग्दै आएका चौकुने गाउँपालिका—५ रेक्चावासीलाई खानेपानीको समस्या समाधान गर्न विपक्षीका नाममा परमादेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका कायम मुकायम मुख्यन्यायाधीश माधवप्रसाद पोखरेल र न्यायाधीश पुनम सिह चन्दको संयुक्त इनलासले बिहिबार परमादेश जारी गरेको उच्च अदालत सुर्खेतका रजिष्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
‘अदालतले चौकुने गाउँपालिकालाई कर्तव्य निर्वहन गर्न दक्तचिक्त भएर लाग्न र अन्य विपक्षी कार्यालयलाई कर्तव्य निर्भाह गर्न परमादेश जारी गरेको छ,’रजिष्ट्रार कोइरालाले भने, ‘परमादेशको पुर्णपाठ केही दिनमा आउनेछ ।’
उनका अनुसार उल्लेखित विषयको वहसमा समस्या रहेको र सम्बन्धीत निकाय पनि प्रयासरत भएको भन्ने कुरामा सहमत भएको हुँदा त्यसको दिर्घकालिन रुपमा समाधान गर्न विपक्षीलाई आदेश गरिएको छ ।
वैशाख २७ गते वर्षौदेखि खानेपानीको अभाव भोग्दै आएका रेक्चाका नागरिकहरुलाई दैनिक पानी पु¥याउने बन्दोबस्तको लागि अन्तरिम आदेश माग गर्दै अधिवक्ता प्रकाशबाबु ऐडी र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतका कार्यक्रम अधिकृत परिस्कृत पौडेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र चौकुने गाउँपालिकाविरुद्ध उत्प्रेषण परमादेश माग गर्दै उच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । निवेदनद्वयले रेक्चाका नागरिकहरु न्यूनतम मानवीय आवश्यकताभित्र पर्ने स्वच्छ खानेपानीका लागि प्रताडित भइरहेको बताउँदै रेक्चाका ९० घरधूरीलाई तत्कालन खानेपानी उपलब्ध गराउन अन्तरिम आदेश माग गर्दै रिट निवेदन दिएका थिए ।
वैशाख २८ गते अदालतले रेक्चावासीका लागि दैनिक न्यूनगत खानेपानी आपूर्ति गर्न के कस्तो प्रबन्ध गर्न सकिन्छ ? सो को विवरण प्राविधिकसमेतको सहयोगमा तयार गरी लिखित जवाफ साथ प्रतिवेदन पठाउन चौकुने गाउँपालिकालाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।
खडेरी लागेसँगै रेक्चाका स्थानीयलाई पानीको समस्या पर्ने गरेको थियो । १२ महिना मध्ये असार, साउन र भदौ गरी यी तीन महिनामा मात्र त्यहाँका नागरिकहरुले पर्याप्त पानी पिउन पाउने गरेका थिए ।
खडेरीमा त गाउँलेहरुले कुवामा चौकीदार राखेरै प्रतिघर दुई गाग्रीका दरले पानी वितरण गर्ने गरेका छन् ।
त्यहाँ मात्रै होइन्, चौकुनेका रेक्चा, पुच्मा, नाउली र धनरास लगायतका पहाडी ठाउँहरूका स्थानीयहरु पनि पानीको अभावमा जिविका चलाइरहेका छन् ।